
काभ्रे । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पुलबजार डुबान क्षेत्रको आज अवलोकन गर्नुभएको छ ।
उहाँले स्तरोन्नतिसहित निर्माणाधीन अरनिको राजमार्ग निरीक्षणका क्रममा डुबान क्षेत्रको अवलोकनगरी समस्याबारे स्थानीयसँग जानकारी लिनुभएको हो । मन्त्री दाहाललाई बनेपा नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जित, सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना कार्यालयका प्रतिनिधि लगायत स्थानीयले वर्षाको समयमा पुण्यमाता खोलाको बाढीका कारण पुग्ने क्षतिबारे जानकारी गराएका थिए ।
गत मङ्गलबार रातिको वर्षाले पुलबजार क्षेत्रका करिब ४० घर डुबानमा परेका थिए । बस्ती बढ्दा खोला साँधुरिएपछि केही वर्षदेखि त्यो खोलामा आउने बाढीले अरनिको राजमार्ग समेत अवरुद्ध हुँदै आएको छ ।
डुबान क्षेत्र अनुगमनका क्रममा मन्त्री दाहालले सडक डिभिजन कार्यालय भक्तपुरसँग समन्वयगरी डुबानमुक्त हुने तवरले निर्माणमा ध्यान दिइने बताउनुभयो । उहाँले भन्नुभयो– ‘यस क्षेत्रलाई डुबानमुक्त बनाउन के गर्न सकिन्छ, सरोकारवाला निकाय र प्राविधिक छलफलगरी अघि बढ्नेछौँ ।’ उहाँले यहाँको समस्याबारे स्थानीय तहका जनप्रतिनिधिसँग थप छलफलगरी निकास खोजिने बताउनुभयो ।
मन्त्री दाहालले निर्माणाधीन अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म दुई चरणमा निर्माण थालिएको उक्त सडक अवलोकन गर्नुभएको छ । मन्त्री दाहालले उक्त सडक विस्तारका क्रममा भएका प्रगति, समस्या तथा आगामी योजनामा सरकारकोतर्फबाट गर्नुपर्ने कार्य विवरणबारे पनि जानकारी लिनुभएको छ ।
उहाँलाई सम्बन्धित निकायका प्रतिनिधिले साँगा क्षेत्रको निर्माण र त्यसले पारिरहेको प्रभाव, साँगादेखि बनेपा खण्ड निर्माण र स्थानीयले गरेको अवरोध, मुआब्जा वितरण लगायत सडकका अन्य समस्याका बारेमा जानकारी गराएका थिए ।
अनुगमनका क्रममा मन्त्री दाहालले चालु आवका लागि पुल निर्माण तथा मुआब्जा लगायत विषयलाई प्राथमिकतामा राख्दै नागरिकले उठाएका सवाललाई सम्बोधन गरी सडक निर्माण समयमा सम्पन्न गर्न सडक विभाग र आयोजनालाई निर्देशन दिनुभयो ।
आयोजनाले पूर्वाधार निर्माणमा ८८ प्रतिशत प्रगति भएको जनाएको छ । आयोजनाका प्रमुख इञ्जिनियर राजेन्द्रप्रसाद दासले स्थानीय तहको समन्वयमा ढल तथा खानेपानीका लाइनको मर्मतसम्भार तथा विस्तार, बिजुलीका खम्बाको विस्तार लगायतका काम भइरहेको जानकारी गराउनुभयो ।
मन्त्री दाहालले सडक डिभिजन कार्यालय भक्तपुरका प्रतिनिधिसहित स्थानीय जनप्रतिनिधिसँग स्तरोन्नति भइरहेको धुलिखेल–खावा सडकको अवलोकन गर्नुभएको छ । निर्माणाधीन उक्त धुलिखेल–खावा सडकखण्डको समयसीमा गत चैत १९ गते सकिएको थियो । केही महिना समय थपेर पुनःनिर्माण थालिएपछि वर्षाको समयमा हिलोका कारण सवारी साधन आवतजावतमा कठिनाइ हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै