
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकार हल्ला अथवा प्रचारबाजी गर्नका लागि नभएर काम गर्नका लागि आएको बताउनुभएको छ ।
राहादानी र कन्सुलर सेवा विभागमा सेवा प्रवाहको अवस्थाको निरीक्षण भ्रमणपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो– ‘वर्तमान सरकारले आफ्नो प्रचारबाजी गर्दैन, काम गर्छ । यो सरकार कुनै सस्तो लोकप्रियताका लागि र हल्ला गर्नका लागि नभएर काम गर्न आएको हो ।’
नेपाली कांग्रेस र नेकपा एमाले यो देशमा ठूलो राजनीतिक परिवर्तनका साक्षी र सहयात्री रहेका तथा दुवै दलका नेताहरुले धेरै कुरा बुझेर र देशको आवश्यकता हेरेर नै सहकार्य गरेकाले यो सरकारको स्थायित्वका बारेमा प्रश्न नगर्न मन्त्री डा राणाको आग्रह थियो । उहाँले भन्नुभयो– ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीले धेरै कुरा विचार गरेर मुलुकलाई निकास दिने उद्देश्यका साथ यो सरकार निर्माणका लागि लाग्नुभएको हो, त्यसैले यो सरकारले देशका लागि केही गरेर देखाउनेछ ।’
एक प्रश्नको जवाफमा मन्त्री डा राणाले नयाँ बनेको सत्तासमीकरण कुनै एक व्यक्तिका कारणले नभएर मुलुकका दुई ठूला दलले आवश्यकताको बोध गरेर निर्माण भएको स्पष्ट गर्नुभयो । हिजो मात्र प्रधानमन्त्री केपी ओलीले यस विषयमा स्पष्ट गरेको स्मरण गर्दै उहाँले सरकार ढल्छ भन्ने या अरु कुनै पनि कारणले काममा ढिलासुस्ती गर्ने तथा नागरिकलाई डेलिभरी दिने काममा ढिला गर्ने छुट सरकार र कर्मचारी कसैलाई नभएको स्पष्ट गर्नुभयो ।
मन्त्री डा राणाले कहीँ कतै प्रमाण या उजुरी नहुँदा नहुँदै पनि आफ्नो नाममा विभिन्न काण्ड खडा गरेर जोड्ने गरिएकामा आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, ‘कतै तथ्य छैन, कुनै गल्ती गरेको अवस्था छैन । तर पनि कतिले सोसियल मिडिया त कतिले मिडियाबाट नै मेरो नाम मुछ्ने गरेका छन् ।’ उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा जसले आफ्ना विरुद्ध बयान दियो भनेर दुष्प्रचार गरियो उसैले पछि मलाई चिन्दिन भनेको प्रसंग उल्लेख गर्दै अनावश्यक रुपले आफ्नो नाम जोड्न लगाइएको र एक किसीमले भन्दा मिडिया ट्रायल नै गरिएको आफ्नो अनुभव रहेको बताउनुभयो ।
टीकापुर जग्गा प्रकरणमा आफ्नो नाम जोडिएको विषयमा मन्त्री डा राणाले भन्नुभयो– ‘म यहाँहरुलाई अनुरोध गर्छु कि यो सूचनाको हक भएको देश हो, यहाँहरु फिल्डमै जानुस् र के हो भन्ने तथ्य आफैँ थाहा पाउनुहोस्, कहीँ कतै मेरो गल्ती देख्नुभएछ भने म यहाँहरुसँग त्यतिबेलै कुरा गरौँला ।’ उहाँले भन्नुभयो – ‘कस्तो दुष्प्रचार होला हेर्नु त ? प्रहरीको बयानमा मेरो नाम लियो रे भनेर पहिला प्रचार गरियो, तर पछि त्यही व्यक्तिले उहाँलाई मैले चिन्दिन, नाम नै सुनेको छैन भन्यो । यसलाई कहाँसम्मको दुष्प्रचार भन्ने ?’
मन्त्री डा राणाले राहदानी र कन्सुलर सेवा प्रवाहको अध्ययन गरी यी दुवै सेवा नेपाली नागरिकका लागि अति आवश्यक र परराष्ट्रले दिनुपर्ने सबैभन्दा महत्वपूर्ण र संवेदनशील सेवा रहेकाले नेपाली नागरिकलाई केन्द्रमा राखेर काम गर्न सबै कर्मचारीलाई निर्देशन दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै