
बागलुङ । पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन् ।
पहाडी हावापानीमा आलुखेतीका लागि उपयुक्त हुने हुँदा नयाँ प्रविधि अवलम्बन गरी आलुखेती गर्न थालेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । वर्षौँदेखि परम्परागत रूपमा आलुखेती गर्दै आएका किसानले अहिले नयाँ प्रविधिको प्रयोगबाट उत्पादन गर्न थालेका छन् । ज्ञान केन्द्रले किसानलाई आयआर्जनसँग जोड्न आलुखेतीतर्फ आकिर्षत गर्न थालेको हो ।
आर्थिक वर्ष २०८०/८१ मा मात्रै एक सय ३६ हेक्टर नयाँ क्षेत्रमा आलुखेती विस्तार गरेको छ । ज्ञान केन्द्रले एक सय ५० हेक्टर क्षेत्र विस्तार गर्ने लक्ष्य लिएको थियो । बर्खे र हिउँदे गरी दुई याममा आलु उत्पादन हुने जिल्लामा बर्सेनि करोडौँ भित्रिने गरेको छ । ज्ञान केन्द्रले नयाँ क्षेत्र विस्तारका लागि रु दुई करोड ६० लाख लगानी गरेको छ । गण्डकी प्रदेश सरकारले खायन आलुखेतीका लागि रु तीन करोड ६० लाख विनियोजन गरेको थियो । कृषि ज्ञान केन्द्रले ६८ कृषि समूह तथा कृषि सहकारीमार्फत एक सय ५० हेक्टर नयाँ क्षेत्रमा आलुखेती विस्तार गरेको हो ।
जिल्लाको निसीखोला, ढोरपाटन, तमानखाला, ताराखोला, काठेखोलालगायत क्षेत्रमा बढी आलु उत्पादन हुने गरेकामा पछिल्लो समय तल्लो क्षेत्रका किसानले पनि आलुखेतीतर्फ चासो दिन थालेका छन् । आलुखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादन पनि बढेको हो । अघिल्लो वर्ष १ अर्ब ३४ करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष ३ हजार ६ सय ५५ हेक्टर क्षेत्रमा आलुखेती भएकामा यस वर्ष बढेर ३ हजार ७ सय ८० हेक्टर पुगेको छ ।
जिल्लामा प्रतिहेक्टर १६ दशमलव पाँच टन आलु उत्पादन हुने उहाँले बताउनुभयो । गत वर्ष ५९ हजार ६ सय ५० टन उत्पादन भएको थियो । उहाँका अनुसार हिउँदे आलु प्रतिकिलो ४० रुपैयाँ र बर्खे आलु प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुने गरेको छ । यस वर्ष बर्खे आलु खन्ने याममा शुरु हुन थालेको प्रमुख सिलवालले बताउनुभयो । आलु फाइदाजनक बाली भएको हुँदा यसबाट किसानले राम्रो आम्दानी गर्न सक्ने भएपछि धेरैको आकर्षण बढेको उहाँ बताउनुहुन्छ ।
‘आलुबाट राम्रो आम्दानी हुन्छ, पहिले परम्परागत रूपमा आलुखेती गर्दै आउनुभएका किसान अहिले प्रविधिसँग जोडिन थाल्नुभएको छ, उन्नत जातका आलु लगाउन थाल्नुभएको छ, आलुको बजार समस्या छैन, बागलुङमा उत्पादन हुने आलु, पोखरा, बुटवल लगायत ठाउँमा पुग्ने गरेका छन्’ प्रमुख सिलवालले भन्नुभयो– ‘यहाँको भूगोल बर्खे आलु उत्पादन हुने ठाउँ हो, हिउँदे आलु पनि राम्रो उत्पादन हुने गरेको छ, यस वर्ष पनि उत्पादन बढ्ने देखिन्छ ।’
काठेखोला गाउँपालिका–३ का किसान ज्ञानबहादुरर छन्त्यालले वर्षौँदेखि परम्परागत आलुखेती गर्दै आएकामा अहिले नयाँ तरिकाबाट खेती गर्न थालेको बताउनुभयो । कृषि ज्ञान केन्द्र बागलुङले आलुखेतीका लागि उन्नत जातको बीउसमेत अनुदानमा दिएको जनाउँदै गाउँमा आलुखेती राम्रो भएको उहाँले बताउनुभयो । अघिल्ला वर्षमा भन्दा यस वर्ष धेरै किसान आलुखेती गर्नतर्फ लागेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै