
कैलाली । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी ललिता चौधरीले लामो समयदेखि व्यावसायिक रुपमा बेतबाँस हस्तकला उद्यम सञ्चालन गर्दै आउनुभएको छ । बेतबाँसबाट विभिन्न सामग्री उत्पादन गर्दै आउनुभएकी उहाँलाई श्रीमान् र परिवारको साथ सहयोग छ ।
बेतका सामग्री बनाउने उहाँले अहिलेसम्म कुनै पनि तालिम लिनुभएको छैन । सुरुमा दिदीको काममा सहयोग गर्दै आएकी उहाँले काम सिकेपछि उद्यम सुरु गर्नुभएको हो । विसं २०७५ मङ्सिरमा घरेलु कार्यालय धनगढीमा फार्म दर्ता गरी उहाँले उद्यम सुरु गर्नुभएको हो र उहाँको घरपरिवारको सम्पूर्ण खर्च धान्ने स्रोत यही बेतबाँस उद्योग बनेको छ । दुई छोरी, एक छोरा, श्रीमान् र आफू समेत गरी पाँच जनाको उहाँको परिवार छ ।
“व्यवसाय सुरु गर्दा आर्थिकस्थिति एकदमै कमजोर थियो । फर्म दर्ता गर्न मसँग पैसा थिएन । व्यवसाय गर्नका लागि भतिजासँग २ हजार ५ सय सापटी मगेकी थिए, सोही रकमबाट टीकापुरको सतिबाट बेतबाँस खरिद गरी व्यवसाय शुरु गरेकी हुँ’ उहाँले भन्नुभयो– ‘तर अहिले सोही व्यवसायबाट अर्थोपार्जन गरी आत्मनिर्भर बनेको छु, कसैसँग हात फैलाउनु परेको छैन, घरपरिवारको पूरै खर्च यही व्यवसायले धानेको छ ।’
शुरुका दिनमा बेतबाट निर्माण गरेका सामग्रीले बजार पाउन कठिन भए पनि अहिले भने यसको माग बढ्दै गएको उहाँले सुनाउनुभयो । यही उद्यमबाट छोराछारीलाई धनगढीको राम्रो बोर्डिङ स्कुलमा पढाइरहेको उहाँले बताउँनुभयो । उहाँले बेतबाट ह्याङगर, फूलदानी, पिर्का, झुला लगायतका सामग्रीको उत्पादन र बिक्री गर्दै आउनुभएको छ ।
‘धनगढी सुदूरपश्चिम प्रदेशकै व्यापारिक केन्द्र हो, जहाँ कैलाली, कञ्चनपुरलगायत प्रदेशका पहाडी जिल्लाका मानिस आवतजावत गर्ने गर्दछन, व्यावसायिक तथा घरायसी प्रयोजनका लागि उनीहरुले आफ्नो पसलबाट बेतका सामग्री खरिद गरी लाने गरेका छन्’ चौधरीले भन्नुभयो । उहाँले प्रति ह्याङ्गर १ हजार ५ सय, फूलदानी ४ सय, कुर्सी ३ हजार, पिर्का ३ सय रुपैयाँमा बिक्री गर्दै आउनुभएको छ ।
बेतबाँसका विभिन्न सामग्री बेचेर मासिक ७० हजार रुपैयाँ बराबरको कारोबार हुने गरेको उहाँले सुनाउनुभयो । जसमध्ये ३५ देखि ४० प्रतिशत जति फाइदा हुने गरेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक