
काभ्रे । काभ्रेको बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएपछि सेवाग्राहीलाई सहज बन्दै गएको छ । बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयद्वारा एक महिनाअघि स्थापित कार्यालयबाट विशेषगरी मध्यपहाडी क्षेत्रका ५ जिल्लाका सेवाग्राहीलाई सुविधा पुगेको जनाइएको छ ।
यसअघि काठमाडौँ उपत्यकाका कार्यालयमा धाउनुपर्ने बाध्यता थियो । प्रमुख व्यापारिक नगरीका रूपमा परिचित बनेपामा गत असार १६ गते स्थापित कार्यालयले हालसम्म दुई हजार चार सयभन्दा बढीलाई सेवा प्रदान गरेको छ । स्थापना सुरुका केही दिनभन्दा हाल सेवाग्राहीको सङ्ख्या दैनिक बढिरहेको कार्यालयका प्रशासन प्रमुख एवं सूचना अधिकारी पवन बजगाईँले बताउनुभयो । उहाँका अनुसार हाल बनेपास्थित कार्यालयबाट ‘ब्लुबुक’ नवीकरण, रुट परमिट जारी र रुट परमिट नवीकरण, रुट परमिट पटके, पञ्जीकरण तथा सवारीसाधन करसम्बन्धी सेवा उपलब्ध गराइएको छ ।
मध्यपहाडी जिल्लाअन्तर्गत काभ्रेलगायत सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापका सेवाग्राहीलाई लक्षित गरी कार्यालय स्थापना गरिएको हो । बाग्मती प्रदेश सरकारले साउनबाट यातायात सेवालाई सहज बनाउन अनलाइन र डिजिटल प्रविधिको प्रयोग गर्ने तयारी गरेको छ । नयाँ सवारी चालक अनुमतिपत्रका लागि कार्यालयले ‘ट्रायल सेन्टर’ सञ्चालनका लागि निजी क्षेत्रसँग समन्वय गर्न प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
आवश्यक जनशक्ति व्यवस्थापन गरी सवारी प्रदूषण जाँचपास, सवारी चालक अनुमतिपत्र नवीकरणलगायत यातायातसम्बन्धी अन्य कार्य थालिने बजगाईँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘सेवा लिन आएका नागरिकलाई छिटोछरितो सेवा दिनेगरी व्यवस्थापनमा लागेका छौँ ।’ उहाँका अनुसार करिब एक महिनामा कार्यालयले १ करोड ७७ लाख ४८ हजार ७ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै