+

भेनिसमा प्रदर्शन हुँदै ‘पूजा, सर’

काठमाडौँ । विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्सन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ । 

छायाङ्कनका क्रममा ‘राजागञ्ज’ नाम राखिएको चलचित्रको नाम परिवर्तन गर्दै निर्देशक दीपक रौनियारले ‘पूजा,सर’ राख्नुभएको हो । आउँदो भदौ १२ देखि २२ गतेसम्म चल्ने महोत्सवको ८१औँ संस्करणमा चलचित्रको छनोटको खबर पाएसँगै यसलाई सुखद यात्राको आरम्भका रुपमा निर्देशक रौनियारले व्याख्या गर्नुभएको छ ।

‘अघिल्ला चलचित्र झैँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवबाट प्रदर्शनी (वल्र्ड प्रिमियर) प्ररम्भ हुँदैछ, यसपटक नेपाली निर्मातासँग सहकार्य गरेर बनाएको चलचित्रले विश्व चलचित्र मञ्चमा कस्तो यात्रा गर्ला ? यसको प्रतीक्षा मलाई पनि उत्तिकै छ’ निर्देशक रौनियारले भन्नुभयो । 

यसअघि सन् २०१६ मा उहाँकै ‘ह्वाइट सन’ले यही विधामा छनोट हुने पहिलो नेपाली चलचित्रको इतिहास रचेको थियो । गत वर्ष भने फिडेल देवकोटाले निर्देशन गर्नुभएको ‘द रेड सुटकेस’ छनोट भएको थियो । 

विश्व बजारमा प्रदर्शन गरिसकेपछि मात्रै नेपाल प्रदर्शन गर्ने तयारी गरिएको चलचित्र ‘पूजा, सर’लाई ‘थ्रिलर’ विधामा तयार गरिएको छ । जनकपुरमा छायाङ्कन गरिएको चलचित्रमा महिला प्रहरीको कथा समेटिएको छ । 

यसमा अभिनेत्री आशा मगराती, अभिनेता दयाहाङ राई, पूर्वमिस नेपाल निकिता चण्डक, आरती मण्डल, रिचा शर्मा, विजय बराल, गौमाया गुरुङ, निरज श्रेष्ठ, पशुपति राई लगायत कलाकारले अभिनय गर्नुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट