
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत पहिलो बैठक कारबाही आजदेखि शुरु भएको छ ।
नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) लगायतका दलले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले आज दिउँसो २ बजे बैठक बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको थियो । बैठकको कारबाही प्रारम्भ गर्दै सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्तपत्रको व्यहोरा वाचन गरेर अर्को सूचना प्रकाशित नभएसम्म आजको बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।
प्रदेशसभा सचिवालयका उपसचिव तेजप्रकाश जोशीले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वनसम्बन्धी प्राप्त पत्रमा अधिवेशन बोलाउनुपर्ने कारण नखुलाइएकाले आज पहिलो बैठक शुरु भए पनि थप कारबाहीअघि नबढेको बताउनुभयो ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णय बमोजिम प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वान गर्नुको कारण खुलेर आएपछि त्यही बमोजिम बैठकका कारबाहीअघि बढ्ने जोशीले बताउनुभयो । केन्द्रमा समीकरण फेरिएसँगै गत असार २३ गते नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिएपछि नेकपा एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
योसँगै गत असार १ गते प्रदेशसभामा प्रस्तुत आव २०८१/८२ को बजेट पारित हुन सकेको छैन । कामचलाउ सरकारले अध्यादेशमार्फत बजेट ल्याउने प्रयास गर्दा कांग्रेस, एमालेसहितका दलले प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख समक्ष निवेदन दिनुभएको थियो । सरकारको सिफारिसमा प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरिएको दोस्रो दिन साउन ४ गते प्रदेशसभाका सदस्यको माग बमोजिम प्रदेश प्रमुखले अर्को अधिवेशन आह्वान गर्नुभएको हो ।
प्रदेशसभामा प्रस्तुत बजेटमाथि छलफल गरी सयममै पारित गर्न ढिलाइ गरिएको, अध्यादेशमार्फत पनि बजेट नल्याइएपछि आव २०८१/८२ शुरु भएको दिनदेखि प्रदेश सरकार मातहतका निकायको राजस्व सङ्कलन र खर्च गर्ने कार्य ठप्प छ ।
कांग्रेस, एमाले लगायत दलले प्रदेशलाई बजेट शून्यताको अवस्थामा पुर्याइएको भन्दै विरोध गर्दै आएका छन् । कूल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, नेकपा एमालेका ११, नेकपा माओवादी केन्द्रका सभामुख बाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै