
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रका विषयमा छानविन गर्न माग गर्नुभएको छ । सांसदहरुले प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उपसभामुख रानाको पत्रबारे छानविन गर्न माग गर्नुभएको हो ।
केही युवालाई अमेरिका पठाउन उपसभामुख रानाले संसद्को लेटरप्याडमा अमेरिकी दूतावासलाई पत्र पठाएको र यसबारे संसद्लाई जानकारी नभएका विषयमा छानबिन गरिनुपर्ने माग सत्तापक्षले उठाएको छ । प्रतिपक्षमा रहेका दलहरुले भने उपसभामुख इन्दिरा रानासँग जोडेर आएको विषय संवैधानिक परिषद्मा सत्तापक्षले खोजेको सहजतासँग जोडेर आएको र सत्तापक्षले मिडिया ट्रायल गरेको आरोप लगाएको छ । साथै पर्याप्त छानविन र वास्तविकता पहिचान नगरिकनै मानव तस्करीजस्तो जघन्य अपराधमा उपसभामुख रानाको नाम मुछिएकोप्रति प्रतिपक्ष दलका सांसदहरुले आपत्ति जनाएका हुन् ।
आजको बैठकमा आकस्मिक समयमा बोल्नुहुँदै सांसद रामहरी खतिवडाले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले आफ्नो पदको दुरुपयोग गरेर केही युवालाई अमेरिका पठाउन खोजेको आरोप लगाउनुभयो । यस्तो गम्भीर आरोपबारे छानबिन समिति गठन हुनुपर्ने तथा उपसभामुखले नैतिकताका आधारमा संसद बाहिर रहेर अनुसन्धानलाई सघाउनुपर्ने उहाँको भनाइ छ । ‘संसद् सचिवालयलाई थाहै नदिइ उपसभामुखको लेटरप्याडमा कसले कुन प्रयोजनका लागि सिफारिस गरेको हो भनेर छानविन गरिनुपर्छ । यसका लागि उपसभामुख संसद्भन्दा बाहिर बसेर छानबिनका लागि सघाउनुपर्छ’ खतिवडाले भन्नुभयो– ‘यस्तो अवस्थामा उपसभामुखले संसदको कमाण्ड सम्हाल्न सुहाउँछ कि सुहाउँदैन ? यो गम्भीर प्रश्न हो ।’
सांसद रघुजी पन्तले राष्ट्रिय परिचयपत्रको आवश्यकता र औचित्यमाथि प्रश्न गर्नुभयो । विभिन्न सामाजिक सुरक्षाभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि त्यसले अप्ठ्यारो भएको उहाँको भनाइ छ । राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा ज्येष्ठ नागरिकलाई बढी समस्या परेको उल्लेख गर्नुहुँदै सांसद पन्तले यसमा सहजीकरण गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद माधव सापकोटाले डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् महशुल भुक्तानीसम्बन्धी विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेको विषय उठाउनुभयो । डेडिकेटेड र ट्रङ्कलाइनसम्बन्धी विवादलाई विद्यमान कानुनी व्यवस्था र विभिन्न समयमा गठित अध्ययन समितिले दिएका सुझावका आधारमा समाधान गरिनुपर्ने बताउनुभयो । यो महशुल असुलीका लागि चलखेल नगरिकन स्वतन्त्र रुपमा सरकारका निकाय अघि बढ्नुपर्ने उहाँको भनाइ छ । नवगठित सरकारले आर्थिक अनुशासन पालनामा जोड दिनुपर्ने सांसद सापकोटाले बताउनुभयो ।
उपसभामुख राना विवादमा मुछिएको विषय राजनीतिक नैतिक चरित्रसँग जोडिएको भए पनि संवैधानिक परिषद्मा अप्ठ्यारो पर्ने भएपछि सत्तापक्षले यो विषय उचालेको आरोप सांसद सापकोटाले लगाउनुभयो ।
अर्का सांसद सुमना श्रेष्ठले उपसभामुख रानाको विषयमा मिडिया ट्रायल भएको बताउनुभयो । संवैधानिक परिषद्मा सत्तापक्ष अल्पमतमा परेपछि उपसमामुख रानालाई मानव तस्करीजस्तो गम्भीर आरोप सत्तापक्षले लगाएको र रानाको चरित्र हत्या गर्ने नियतले सत्तापक्षले यो विषय उठाइरहेको उहाँको भनाइ छ । सबैका लागि विधि र पद्दति लागू हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसद दामोदार पौडेल वैरागीले उपसभामुख रानाले अमेरिकी दूतावासलाई पठाएको पत्र र उपसभामुखको विज्ञप्तिबाट मानव तस्करीको उद्देश्य देखिएको धारणा राख्नुभयो । उपसभामुख सहभागी कार्यक्रममा सरोकार नै नभएका व्यक्तिहरुलाई अमेरिका पठाउन भिसा सहजीकरण गर्न पत्र पठाएको देखिएकाले यस विषयमा थप छानविन गरिनुपर्ने उहाँको भनाइ छ ।
सांसद चन्द्रबहादुर विश्वकर्माले देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, चट्याङजस्ता प्राकृतिक विपद् जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन, राहत तथा उद्धारका लागि संसद्मार्फत सरकारको ध्यानाकर्षण गर्नुभयो । भूकम्पका कारण समस्यामा परेका जाजरकोट, रुकुम पश्चिम लगायत जिल्लाका जनता अहिले बाढी र पहिरोका कारण थप समस्यामा परेको उहाँको भनाइ छ । उहाँले बाढीपहिरोका कारण समस्यामा परेकाहरुको उद्धार तथा सुरक्षित स्थानमा सारेर तत्काल राहत उपलब्ध गराउन संसदमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद गणेश पराजुलीले यो वर्षमात्रै वर्षायाम पछि विभिन्न प्राकृतिक विपदमा परी एक सय २८ भन्दाबढीको ज्यान गइसकेको र सयौँ घाइते भएको विषय संसदमा उठाउनुभयो । उहाँले विपदमा परेका व्यक्तिहरुको उपचार, राहत तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन