
ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइरालाको स्मरण गर्नुहुँदै उहाँ साहित्यकार, ‘साइकोलोजिस्ट’ सबै कुरामा योग्य रहनुभएको बताउनुभएको छ ।
राष्ट्रिय एकता तथा मेलमिलाप नीतिका प्रणेता जननायक बिपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस केन्द्रीय पुस्तकालयको शुभारम्भमा मन्तव्य राख्नुहुँदै सभापति देउवाले राजनीतिमा उहाँ जिन्दगीभर कहिल्यै नथाकेर आफ्नो सिद्धान्त र राष्ट्रका लागि जुनसुकै बलिदान गर्न तयार व्यक्ति भएको बताउनुभएको हो ।
‘कांग्रेसी पढ्दै पढ्दैनन् भन्ने एउटा चलन छ, अब पुस्तकालय भएपछि अवश्य पढ्नुहुनेछ भन्ने लाग्छ । बिपी कोइरालाका सम्बन्धमा मैले भन्ने गरेको छु, उहाँ धेरै ठूलो व्यक्ति हो । हरचिजमा साहित्यकार, साइकोलोजिस्ट सबैकुरामा योग्य हुनुहुन्थ्यो । राजनीति र साहित्यका साथसाथै धेरै कुरामा उहाँको योगदान छ’ सभापति देउवाले भन्नुभयो ।
महामन्त्री गगनकुमार थापाले जेलनेलको अवधिमा रहँदा पनि नेताहरूले अँगाल्नुभएको पठन संस्कृतिलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । ‘नेपाली कांग्रेसभित्र पठन संस्कृति अभिन्न अङ्ग बनाउनुपर्छ, तथ्यमा आधारित बहसका लागि पठन संस्कृति आवश्यक छ, कांग्रेस केन्द्रीय कार्यालय सेन्टर अफ बहस हुनुपर्छ’ महामन्त्री थापाले भन्नुभयो ।
उहाँले पार्टी कार्यालयको पुस्तकालय व्यवस्थित गर्न सभापतिको मार्गदर्शन महत्वपूर्ण भएको बताउनुहुँदै गर्व गर्नलायक पुस्तकालय बनेको धारणा राख्नुभयो । अध्ययनका लागि नयाँपुस्तालाई प्रेरित गर्न चाहने धारणा राख्दै महामन्त्री थापाले नेपाली जनताका जनजीविकाका बारेमा कांग्रेस केन्द्रीय कार्यालयमा शृखङ्लाबद्ध बहस चलाउने जानकारी गराउनुभयो ।
‘हामीसँग भएको स्रोतको उपयोग गर्छौं, बिपीले आफ्नै हातले लेख्नुभएको सामग्री छन्, अरु सङ्कलन गर्ने काम भइरहेको छ । पुस्तकालय हेर्ने छुट्टै विभाग बन्छ, यसलाई व्यवस्थित गर्दै धेरै काम हुनेछन्’ उहाँले भन्नुभयो ।
पुस्तकालयमा ३२ हजारभन्दा बढी किताब रहेको जानकारी गराउँदै महामन्त्री थापाले पुस्तकालय प्रत्येक दिन खुल्दा नयाँ पुस्ताले यसलाई प्रयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली कांग्रेसको केन्द्रीय पुस्तकालयमा जोकोही गएर अध्ययन गर्नसक्ने व्यवस्था गरिएको महामन्त्री थापाले जानकारी गराउनुभयो । पार्टी केन्द्रीय कार्यालयलाई चलायमान गराउने उद्देश्य राखेको कांग्रेसले पुस्तकालयबाट खोज अनुसन्धानकर्तालाई मद्दत पुग्ने अपेक्षा राखेको छ ।
पुस्तकालयमा राजनीतिक विषयवस्तुका पुस्तकका साथै अन्य बिषयका किताब समेत समावेश छन् । नेपाली कांग्रेसको स्थापनाअघिका विभिन्न दस्तावेज, संस्थापक नेताहरुको राजनीतिक जीवन, बिपी कोइरालासँग जोडिएका दस्तावेज, कोइरालाले लेखेका साहित्यिक पुस्तक एवं संविधान, कानुन, राजनीति शास्त्र, दर्शनशास्त्र, अर्थराजनीति लगायत पुस्तक पुस्तकालयमा उपलब्ध छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै