
म्याग्दी। नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ ।
प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको पहिलो र दोस्रो अडिट जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङ निर्माण पूरा हुन लागेको हो । रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा रहेको बाँधबाट वडा नं ३ अँधेरीखोलाको दोस्रो अडिट जोड्ने १३ मिटर सुरुङ खन्न बाँकी रहेको आयोजनाका व्यवस्थापक राजबहादुर विष्टले राससलाई बताउनुभयो ।
“छ हजार दुई सय मिटरमध्ये शनिबारसम्म छ हजार एक सय ८७ मिटर सुरुङ निर्माण भएको छ”, उहाँले भन्नुभयो, “केही दिनमा मुख्य सुरुङ छिचोल्ने तयारी भएको छ ।” तीन हजार आठ सय ३६ मिटर लामो दोस्रो र तेस्रो नम्बर अडिटको सुरुङ गत फागुनमा छिचोलिएको थियो ।
रघुगङ्गा गाउँपालिका–३ पिप्लेस्थित मुख्य सुरुङको आउटलेट (अन्तिम विन्दु)बाट तिल्केनीचौरमा निर्माणाधीन विद्युत्गृहमा पानी खसाल्ने पाइप लाइन राख्ने एक हजार ४९ मिटर लामो ‘प्रेसर साफ्ट’ सुरुङ गत जेठ महिनामा जोडिएको थियो ।
मुख्य सुरुङबाट आउने पानीलाई विद्युत्गृहमा लैजाने पाइप लाइन राख्नका लागि प्रेसर साफ्ट बनाइएको हो । पिप्लेमा ६१ मिटर गहिरो ‘सर्च साफ्ट’ निर्माण भएको छ ।
भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्ससँग २०७४ मङ्सिरमा सम्झौता भएको थियो ।
विसं २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परीक्षण गरी आयातको प्रक्रिया अघि बढाइएको छ । इलेक्ट्रोमेकानिकलतर्फको भौतिक प्रगति २२ प्रतिशत छ ।
रघुगङ्गा गाउँपालिकाको वडा नं ४ दग्नाम र ५ नं वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युत्गृहको संरचना निर्माण तीव्रताका साथ भइरहेको छ ।
घुमाउनेतालबाट ११ किलोमिटर पहुँचमार्ग र एकवटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत्गृह र बाँधलाई सिधा सडकले जोडिएको छ । कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एण्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन