+

विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम : गृहमन्त्री लेखक

काठमाडौंँ । गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताउनुभएको छ ।  

प्रहरी प्रधान कार्यालयको स्थलगत अनुगमनपछि  सम्बोधन गर्दै उहाँले संविधान र कानुनमा लेखेको कुरा आफै कार्यान्वयन हुँदैन भन्नुभयो । ‘संविधानमा धेरै मौलिक हकका कुरा गरेका छौँ, राज्य र नागरिकका सम्बन्धका कुरा गरेका छौँ’ गृहमन्त्री लेखकले भन्नुभयो– ‘ती आफै परिचालित र क्रियाशील हुने होइनन् ।’ उहाँले लोकतन्त्रको आधारभूत मान्यता भनेको विधिको शासन भएको बताउनुभयो । ‘लोकतन्त्र कुनै अमूर्त विषय होइन’ उहाँले भन्नुभयो,“नेताहरुले भाषण गर्ने र नागरिकले भाषण सुन्ने विषय मात्रै पनि होइन, लोकतन्त्रको आधारभूत मान्यता हुन्छन्, विधिको शासनपनि एउटा मान्यता हो ।’  निष्पक्षता, पारदर्शीता र व्यवसायिकतामा कमी हुन नदिन निर्देशनसमेत उहाँले दिनुभयो ।

‘उच्च मनोबलका साथ काम गर्नुहोला, प्रहरीको मनोबल उच्च राख्नको लागि र मनोबल उच्च रहिरनका लागि प्रेरणादायी काम गर्न मन्त्रालयले गर्नेछ’ गृहमन्त्री लेखकले भन्नुभयो– ‘हामी त्यसमा प्रतिबद्ध छौँं ।’ गृह प्रशासन आफ्ना लागि नयाँ अनुभव भए पनि संसदमा कानुन र संविधान निर्माणको क्षेत्रमा काम गर्ने अवसर लामो समयदेखि पाएको उहाँको भनाइ थियो ।

‘नेपाल प्रहरी इतिहास बोकेको गर्व लगर्न लायक संस्था हो’ उहाँले भन्नुभयो – ‘कानुनी व्यवस्था कायम गर्ने,अपराध नियन्त्रण गर्ने सवालका साथै मुलुक र समाजलाई न्यान दिने सवालमा प्रहरीको अहम् भूमिका रहेको छ ।’ सीमित स्रोतसाधन र जनशक्तिकाबीच प्रहरीले काम गरिरहेको जनाउँदै गृहमन्त्री लेखकले भन्नुभयो – ‘प्रहरी सङ्गठन थप सुदृढ र क्रियाशील बनाउन प्रहरी ऐन संशोधन आवश्यक छ ।’

उहाँले प्रहरीसम्बन्धी सबै कानुन समयसामयिक रुपमा पुनवराकोलन र संशोधन गर्न प्रहरी ऐन २०१२ लाई संसदमा पुर्याउने गतिमा अघि बढ्नेमा जोड दिनुभयो । कानुन बमोजिम काम गर्नुका साथै प्रहरीमा कुनै प्रकारको अवाच्छित् दबाब र प्रहरी संस्थाको दुरुपयोग गर्न नहुने उहाँको भनाइ छ ।

‘मानिसले बिरामी परे डाक्टर र विपत् परे प्रहरीलाई सम्झिने गरेको’  उहाँले भन्नुभयो– ‘त्यस कारण प्रहरी समाजको डाक्टर पनि हो, किनभने दुःख पीडा र अप्ठ्यारोमा परेको मानिसले तपाईहरुलाई सम्झिन्छ ।’  त्यसअवसरमा गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरको उपस्थिति रहेको थियो । मन्त्री लेखकको प्रहरी प्रधान कार्यालयमा रहेको अमर शहीद प्रहरीको शालिकमा माल्यार्पण गर्नुका साथै विभिन्न विभागको अनुगमन गर्नुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट