+

सेरेमोनियल त रामचन्द्रजी हुनुहुन्छ, के गर्छ त्यो राजाले ? ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजतन्त्र अब कुनै हालतमा नफर्कने बताउनुभएको छ । 

एमाले अध्यक्ष ओलीले सोमबार नेपाली कांग्रेसको मेलमिलाप कार्यक्रममा राजतन्त्र पुनर्स्थापनाको बहस औचित्यहीन रहेको टिप्पणी गर्नुभयो ।  ‘यो राजतन्त्रको बहस फाल्तु हो । चिहानबाट निकालेर नलिखुट्टाको हड्डी फुकेर कहाँ पुग्छौ ?┌ उहाँले भन्नुभयो – कतिपय सामाजिक सञ्जालमा लेख्छन् – कि यी तीन नेता किन भेटिराख्या छन् ? लोकतन्त्र फ्याक्न नदिने हुन् कि क्या हो ? भन्छन् । यो डिक्लियर छ त । हाम्रो कपाल त्यत्तिकै फुलेको छैन । हामी राजतन्त्र फर्किन दिँदैनौं । तानाशाही आउन दिँदैनौं । कुनै पनि प्रकारको अनडेमोक्रेटिक सिस्टम यहाँ हुँदैन । यहाँ डेमोक्रेसी मात्र हुन्छ । कुनै देशमा राजनीतिक सम्झौताका कारण कायम रहेको हुनसक्छ । तर नेपालमा राजतन्त्रको बहस आवश्यकै छैन । यो सिद्दिइसक्यो । जन्मसिद्द श्रेष्ठताको सिद्दान्त वैज्ञानिक आधारबिना तथ्यले पुष्टि गर्न नसक्ने तर्कहिन पाखण्डी सिद्दान्त हो । अन्धविश्वासको पराकाष्टा हो । जनताको पर्याप्त सचेतताको अभावमा कायम रहेको सामन्तवादको अवशेष हो ।’

राजतन्त्रविरुद्धको आन्दोलनमा १४ वर्ष जेल पर्नुभएका ओलीले सिक्किमको उदाहरण दिँदै  देश राजाले नबचाउने तर्क गर्नुभयो । ‘देश बचाउने जनताले हो, राजाले होइन’ उहाँले भन्नुभयो– ‘एकथरि मान्छे छन्, जो राजतन्त्र भयो भने राष्ट्रियता बलियो हुन्छ भन्ने गर्छन् । भारतमा लगभग ५ सय ६५ रजौटा थिए । राजाले राष्ट्रियता बलियो बनाउँथ्यो भने ती रजौटा कायम हुन्थे होला नि त आजसम्म । सिक्किम राजासहितको स्वतन्त्र देश थियो । त्यहाँ राजा थिए त । राजा हुँदा देश बच्दोरहेछ ? जनताले हो कि राजाले देश बचाउने ?’

अध्यक्ष ओलीले २०५८ साल जेठ १९ गतेको घटनाबाटै देशमा राजतन्त्र अन्त्य भएको तर त्यसबेला सत्ता र प्रतिपक्षको मेल नहुँदा केही अवशेष बाँकी रहेको धारणा व्यक्त गर्नुभयो ।  ‘दरबार हत्याकाण्डकै बेला राजतन्त्र सकिएको हो । त्यतिबेला हामीले उपयुक्त कदम नचालेर कमजोरी गर्यौं । अलिक दिन डमी राजतन्त्र चल्यो’ उहाँले भननुभयो– त्यसले तमासा देखायो । अन्ततः हटाउनुपर्यो । संविधासभाले निर्णय गर्यो, हट्यो । त्यो भइसक्यो ।’

एमाले अध्यक्ष ओलीले मुलुकमा आलंकारिक राष्ट्रपति हुँदाहुँदै सेरेमोनियल राजा चाहनेहरु देख्दा आफूलाई उदेक लाग्ने गरेको उल्लेख गर्नुभयो । ‘अर्को अचम्म छ । कस्तो राजा ल्याउन खोजेको ?  यी दलहरुले गरेनन् भनेर यिनीहरुलाई जेल हालेर चलाउने तानाशाह राजा ल्याउने हो ? त्यो चाहीँ होइन भन्छन् फेरि । संवैधानिक, सेरेमोनियल राजा भन्छन्’ उहाँले भन्नुभयो – सेरेमोनियल त रामचन्द्र जी हुँदै हुनुहुन्छ त । अनि के गर्छ त्यो राजाले चाहीँ । गद्दीमा बसेर ट्वाल्ल हेर्नेबाहेक केही गर्ने त होइन । अनि त्यहाँ लगेर राख्नेवित्तिकै के हुन्छ ?  कुनै प्रगतिशील कुरा भुलवस गएको भए फर्काउँथ्यौं होला । तर यो त अढाइ सय वर्षसम्म नेपाली जनतालाई चुसेर गरिब बनाउने त्यो चिजलार्ई फेरि ल्याउने कहीँ हुन्छ ?  राजनीतिक, दार्शनिक, सैद्धान्तिक, वैचारिक कुनै हिसाबले हुँदैन ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट