
बाँके । मोहर्रम पर्वका अवसरमा नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी चाँदबाबु राहीले करिब ६५ फिट उचाइको ताजिया स्थापना गर्नुभएको छ । यो वर्ष राहीले एक लाख रुपैयाँमा भारतको आलीनगरबाट ताजिया किनेर ल्याउनुभएको हो । नेपालगञ्जसम्म ल्याउन ढुवानी र जडान गर्दा थप करिब ६० हजार रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।
नेपालगञ्जको गणेशपुर चोकमा पनि सात वर्षदेखि बच्चा राहीको नेतृत्वमा अग्लो ताजिया राख्ने गरिएको छ । यो वर्ष पनि ६० देखि ७० फिटसम्म अग्लो ताजिया राखिएको राहीले बताउनुभयो । ‘यो हाम्रो परम्परा बनेको छ, सात–आठजनाले पैसा लगाउँछौँ, टोलका सबैजसोले सहयोग गर्नुहुन्छ’ राहीले भन्नुभयो– ‘अग्लो ताजिया ‘फिट’ भएपछि मनमा शान्ति र खुसीयाली हुने गरेको छ ।’
राहीले जस्तै बाँकेका अन्य मुसलमान समुदायका व्यक्तिले पनि आफ्नो गच्छेअनुसारको ताजिया घरमा स्थापना गरेका छन् । चाँदबाबुले केही वर्षयता बाँके जिल्लामै सबैभन्दा अग्लो ताजिया राख्ने होडबाजी गर्दै आउनुभएको छ । राहीले चन्दा अथवा दानबाट नभई आफ्नो निजी रकम खर्च गरेर अग्लो ताजिया राख्ने गरेको बताउनुभयो ।
बाँकेमा मात्रै एक करोड रुपैयाँ भन्दा बढीका ताजिया राखिएको अनुमान गरिएको छ । मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिक रूपमा आज घर नजिकै रहेका कर्बलामा विसर्जन गर्छन् । नेपालगञ्जमा मुस्लिम, हिन्दू तथा अन्य जातिले पनि आ–आफ्नो घर अगाडि ताजिया राखेर पूजाआजा गर्ने गर्छन् । मोहर्रमको अन्तिम दिन घरघरमा राखिएका ताजिया बोकेर स्थानीय कर्बलामा पुगी ताजिया सेलाएपछि मोहर्रम सकिन्छ ।
आफ्नो आर्थिक हैसियतअनुसार ताजिया स्थापना गरिने परम्परा भए पनि पछिल्ला केही वर्ष ठूलो ताजिया राख्ने अस्वस्थ प्रतिस्पर्धा देखिएको मौलाना अब्दुल जब्बार मञ्जरीले बताउनुभयो । उहाँले सानो–ठूलो जस्तो ताजिया राखे पनि विसर्जन गरिने भएकाले ठूलै राख्नुपर्ने कुनै जरुरी नरहेको बताउनुभयो ।
हिन्दूलगायत अन्य धर्म समुदायले समेत मनाउन थालेपछि मोहर्रम पर्व धार्मिक सद्भावको रूपमा विकसित हुँदै गएको छ । भाकल गरी घरमा स्थापना गरिएको ताजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, समृृद्धि तथा मनोइच्छा पूरा हुने विश्वास रहेको उहाँले बताउनुभयो ।
पैगम्बर हजरत मोहम्मदका नातिहरू हजरत इमाम हुुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम धर्मावलम्बीले १० दिनसम्म विविध कार्यक्रम गरी मोहर्रम मनाउँदै आएका छन् । बाँकेमा बसोबास गर्ने विभिन्न धर्म समुदायले मिलेर धार्मिक सद्भाव र सामाजिक एकताका रूपमा मोहर्रम पर्वलाई मनाइरहेको मोहर्रम तथा कर्बला संरक्षण समिति नेपालगञ्जका महासचिव मोहम्मद हारुन हलवाईले जानकारी दिनुभयो । यो पर्व सबैले मिलेर मनाउने तथा सबैले ताजिया (इमाम हसन र हुसैनको समाधिको प्रतीक) राख्ने हुँदा यसलाई सद्भाव र एकताको पर्व मानिन्छ ।
मंगलबार राति घरघरमा राखिएकोे ताजिया आज जुलुससहित सेलाउने कार्यक्रम रहेको मोहर्रम तथा कर्बला संरक्षण समितिका महासचिव हलवाईले जानकारी दिनुभयो । हजरत हुसैन र हसनको सहादतको सम्झनामा अरबी क्यालेण्डरअनुसार मोहर्रम महिनाको पहिलो १० दिन विविध कार्यक्रम गरेर मनाइने यो पर्वमा उहाँहरूकै सम्झनामा कागज र काठबाट बनाइएका ताजिया राख्ने परम्परा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन