
चितवन। साउने सङ्क्रान्तिमा हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने देवघाटधाम आज सुनसान देखिएको छ । संक्रान्तिका दिन बिहानैदेखि भक्तजन आएर यहाँ स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन छ । नारायणी नदीमा आएको बाढी र केही दिनअघि सिमलतालमा भएको बस दुर्घटनाका कारण आज साउने संक्रान्तिका दिन देवघाटमा भक्तजनहरुको उपस्थिती न्यून भएको यहाँ आएका भक्तजन एवं स्थानीयहरु बताउँछन् ।
भरतपुर महानगरपालिका–७ बाट देवघाटमा सङ्क्रान्ति स्नान गर्न आउनुभएका मोहिनीप्रसाद खनालले हरेक वर्षको साउने सङ्क्रान्तिमा भीडभाड लाग्ने देवघाटधाम यसपटक सुनसान देखिएको बताउनुभयो । उहाँले आज यहाँ भीडभाड नदेखिनुको कारण मानिसमा बाढीपहिरोको डर एवं हालै भएको सिमलताल पहिरोको भय हुनसक्ने आँकलन गर्नुभयो ।
उहाँले पहिरोमा परेकाको नदीमा शव भेटिँदा यहाँ आउन भक्तजन डराएको बताउनुभयो । उहाँले भन्नुभयो, “यत्रा मान्छेहरु नुहाउन आउने ठाउँमा आज सुनसान छ, धाम अँध्यारो भएको छ ।”
लमजुङ घर भई हाल देवघाटमा बस्दै आउनुभएका सूर्यकान्त शर्माले यसपालिको सङ्क्रान्तिमा देवघाट शून्य भएको बताउनुभयो । उहाँले अघिल्ला वर्षको सङ्क्रान्तिमा घुइँचो लाग्ने यहाँ आज फाट्टफुट्ट मात्र भक्तजन आएको जानकारी दिनुभयो ।
धादिङ घर भई चितवन बसोबास गर्दै आउनुभएका गोविन्दप्रसाद तिमिल्सिनाले आफू देवघाटमा प्रायःसधैँजसो आउने गरेको तर लगातारको बाढीपहिरो र सिमलताल घटना भएयता यहाँ आउने भक्तजन शून्य जस्तै भएको बताउनुभयो ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले गत वर्षको भन्दा यसपटक देवघाटमा भक्तजनको उपस्थिति न्यून रहेको जानकारी दिनुभयो । यसवर्ष साउनमा कुनै बोलबम मेला नराखेको भए पनि आगामी सोमबारबाट भक्तजन स्वत स्फूर्त रुपमा आउनसक्ने उहाँको अनुमान छ । उहाँले यहाँ आएका भक्तजनलाई देवघाट क्षेत्र विकास समितिले सहजीकरण गर्दै आएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै