
म्याग्दी । मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा ४ लाख २७ हजार पर्यटक आएका छन् । मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार ५ सय ४ जना बढी पर्यटक आएका हुन् ।
घासा प्रहरी चौकीले स्थलमार्ग भएर मुस्ताङ भित्रने सवारीसाधन र पर्यटक तथ्याङ्क तथा विवरण राख्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले २०८० साउनदेखि २०८१ असार महिनासम्म ७४ हजार ३ सय ७४ वटा सवारी साधनमार्फत ४ लाख २७ हजार २ सय ७१ जना पर्यटक भित्रिएका जानकारी दिनुभएको छ ।
३ लाख १८ हजार ८ सय १४ जना आन्तरिक, ९९ हजार २ सय ७६ जना सार्क राष्ट्रका र ९ हजार एक सय ७१ जना तेस्रो मुलुकका पर्यटक मुस्ताङ भ्रमणमा आएका उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०७९/८० मा ६२ हजार ३ सय ४० वटा सवारी साधनमार्फत ३ लाख ७९ हजार ७ सय ६७ जना पर्यटक मुस्ताङ आएका थिए । जसमध्ये आन्तरिक पर्यटक ३ लाख ३ हजार ८ सय जना र विदेशी ७५ हजार ९ सय ६७ जना रहेका थिए ।
सडक यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वप्रसिद्ध सञ्चार माध्यमले संसारका उत्कृष्ट दश गन्तव्यमा समेट्नु, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल खुलेका कारण पर्यटक आगमन बढेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।
मुस्ताङ भित्रने विदेशी पर्यटकको ठूलो सङ्ख्या भारतीयको छ । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल लगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थल छन् ।
सार्कमुलुक बाहिरका पर्यटकको सङ्ख्या भने घट्दै गएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताउनुभयो । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक कालोपत्र योजना निर्माण सम्पन्न हुने हो भने पर्यटक आगमन अझै बढ्ने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै