
ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका पुरातात्विक सम्पदा निर्माण गर्दा सङ्घीय सरकारसँग आर्थिक सहयोग नलिने बताउनुभएको छ ।
ललितपुरको सुनाकोठीस्थित भृङ्गारेश्वर महादेव मन्दिर प्राङ्गणमा भृङ्गारेश्वर धाम निर्माण गर्न आगामी कात्तिक ६ गतेदेखि १३ गतेसम्म हुने श्रीमद्भागवत् ज्ञान महायज्ञ (आध्यात्मिक महोत्सव) को सङ्कल्पसभाको उद्घाटन गर्दै प्रमुख महर्जनले मठमन्दिर, देवालय, शिवालयलगायत पुरातात्विक सम्पदा बनाउँदा महानगरको आन्तरिक स्रोतबाट खर्च गरिने जानकारी दिनुभयो ।
“सङ्घीय सरकारसँग खर्च लिएर पुरातात्विक शैलीको मठमन्दिर, देवालय, शिवालय निर्माण गर्दा प्रक्रिया लामो हुन्छ । ठेकेदारले पनि लिच्छविकालीन, मल्लकालीन मठमन्दिर, सम्पदाहरु पुरानै शैलीमा निर्माण गर्दैनन्”, उहाँले भन्नुभयो, “पाटन दरबारको भीमसेन मन्दिर, देगु तलेजु, बालकुमारीको बालकुमारी मन्दिर महानगरले उत्कृष्ट तरिकाले निर्माण गरेको छ । कुनै समस्या भएको छैन ।”
मठमन्दिर, देवालय, शिवालय निर्माणमा नेतृत्व राम्रो भयो भने खर्च अभाव नहुने भन्दै महर्जनले काम गर्ने जोशजाँगर र इच्छाशक्ति हुनुपर्नेमा जोड दिनुभयो । सुनाकोठीमा सञ्चालन हुने महायज्ञले यस क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वको प्रचारप्रसार गर्नुका साथै आर्थिक सङ्कलनमा महत्वपूर्ण भूमिका निर्वाह हुने उहाँको भनाइ छ ।
.महायज्ञ सम्पन्न भएपछि मात्रै निर्माण सुरु हुनेगरी तालिका सार्वजनिक गर्नुपर्ने बताउँदै महानगर प्रमुख महर्जनले पुनःनिर्माणका लागि खर्च अभाव नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो । “यो ठाउँ मुलुकको भ्रमण गर्नैपर्ने ठाउँ हो भनेर प्रचारप्रसार गर्न जरुरी छ । प्रभावकारी निर्माणका लागि सबैको सहयोग र सहकार्य आवश्यक छ”, उहाँले भन्नुभयो ।
महायज्ञका कथा वाचक प्रविण पण्डित दीनबन्दु पोखरेलले आध्यात्मिक साधन गर्न नेपाल सर्वोच्चस्थल हो भन्नुहुँदै विश्वलाई आध्यात्मिकवादमार्फत शान्तिको सन्देश दिन यहाँका धार्मिक, ऐतिहासिक स्थलको विश्वमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।
“आध्यात्मिक साधनाका लागि नेपाल सर्वोच्चस्थल हो । यहाँ विश्वले भ्रमण गर्नैपर्ने स्थान छन् । सांस्कृतिक हिसाबले ललितपुर उत्कृष्ट छ, सुनाकोठीको यो भृङ्गारेश्वर क्षेत्रलाई आध्यात्मिक पर्यटकीय नगरीका रुपमा अन्तर्राष्ट्रियरुपमा विकास गराउनुपर्छ । महायज्ञका लागि विश्वासगरी शुभअवसर प्रदान गर्नुभएकामा गौरवान्वित छु”, पण्डित पोखरेलले भन्नुभयो ।
ललितपुर–२७ का वडाध्यक्ष कृष्णहरि महर्जनले सुनाकोठीको महायज्ञ सञ्चालनबाट पहिचान उजागर हुने तथा ऐतिहासिक महत्व अझै बढी प्रचारप्रसार हुने धारणा राख्दै यसका लागि सबैले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो ।
प्राचीनकालमा निर्मित भृङ्गारेश्वर विसं १९९० को भूकम्पले भत्काएपछि पुरानो शैलीमा मन्दिर निर्माण भएको थिएन । उक्त मन्दिरलाई पुरानै शैलीमा निर्माण गर्न महानगरको सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) प्रक्रिया अघि बढेको छ ।
ऐतिहासिक सम्पदाका रुपमा रहेको भृङ्गारेश्वर महादेव मन्दिरको पुनःनिर्माण गरेर यहाँका पूर्वाधारलाई थप व्यवस्थित बनाउनुपर्ने भृङ्गारेश्वर सुधार तथा बुद्धसेवा समितिका अध्यक्ष रामचन्द्र महर्जनले बताउनुभयो । उहाँका अनुसार यहाँ बालकुमारी त्रिपुरासुन्दरी, जगन्नाथ, गणेश र भृङ्गारेश्वर महादेव मन्दिरलगायत ऐतिहासिक सम्पदा रहेका छन् । विसं २०७२ को भूकम्पले क्षति गरेका कतिपय ऐतिहासिक संरचना भने पुनःनिर्माण भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै