
बागलुङ । केही वर्षअघि जैमिनी नगरपालिकाको वडार गाउँ भरिभराउ थियो । कृषि कर्मबाट गुजारा चलाउनेहरू खुशी देखिन्थे । वडार गाउँ २०७० को दशकमा सडक सञ्जालसँग जोडियो । गाउँलाई फेरो हालेर जैमिनी–१ कुश्मिशेरा र बागलुङ नगरपालिका–११ रायडाँडा जोड्ने सडकले गाउँ नै पहिरोको जोखिममा पारेको छ ।
सुविधाका लागि बनाइएको सडकले वडार वासीको उठिबास लगायो । तीस परिवार रहेको गाउँ अहिले पाँच परिवारमा खुम्चिएको छ । पहिले पहिरो आउलाकी भनेर गाउँले बसाइँ सरे र अहिले घरछेउमै पहिरो खसेपछि गाउँलाई तितर बितर बनाएको छ । दुई वर्षअघि भदौ २१ गते बागलुङ–११ को तल्लो रामतोलामा ठूलो पहिरो खस्यो । पहिरोले वडार र रामतोलाका दर्जनौँ घरपरिवार विस्थापित भए । जमिन बग्दा सडक, जङ्गल र पीपलका रूख बगेसँगै पहिरो भने रोकिएको छैन । ‘हिउँदमा ढुक्कले घरमै बसियो, बर्खा लागेसँगै पहिरोले सताउँछ’ पहिरो छेवैमा घर भएका वडारका खेम पौडेलले भन्नुभयो– ‘भीमकाय पहिरोले त्रसित बनाएको छ ।’
पहिरोले रामतोलाका सात र वडारका १५ परिवार विस्थापित भएका छन् । बागलुङ र जैमिनी नगरपालिकाका दुवै गाउँमा बाँकी रहेका घरपरिवारमा समेत बर्खा लागेसँगै पहिरोको चिन्ता छ । जमिन चिरा परेको स्थान हेर्दा सयौँ रोपनी जमिन, घर तथा सडक बग्ने अवस्थामा रहेको पौडेलले बताउनुभयो । पहिरो नियन्त्रणका लागि स्थानीय र प्रदेश तहबाट कठिन हुने भएपछि नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभाग, जोखिमयुक्त पहिरो व्यवस्थान आयोजनाले अध्ययन गरेको थियो । पहिराको अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार काम भए पनि स्रोत अभावमा वर्षौं लाग्ने रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । तीन तहका सरकार मिलेर पहिरो नियन्त्रणको प्रयास भइरहेको गौतम बताउनुहुन्छ ।
‘घरवासविहीनलाई तत्काल राहत उपलब्ध गराइयो, बस्ने बन्दोबस्ती मिलाइयो, बाँकी नियन्त्रणको काम चलिरहेको छ’ गौतमले भन्नुभयो– ‘पहिरो सानोतिनो बजेट र कामले रोकिने अवस्थामा छैन् ।’ उहाँका अनुसार पहिरोले बगेका सडक पुनर्निर्माण गर्ने, भलबाढी तर्काउने र पहिरो थप गहिरो हुन नदिन तारजाली लगाउने काम चलिरहेको छ ।
पहिरो नियन्त्रणका लागि सङ्घीय सरकारले जलाधार संरक्षण कार्यक्रमबाट २५ लाख र गण्डकी प्रदेश सरकारले विपत् व्यवस्थापनबाट ३० लाख रुपैयाँ विनियोजन गरेको छ । बजेट चालु आर्थिक वर्षमा कार्यान्वयनमा रहेकाले थप क्षति हुनबाट बचाउन सहयोग पुग्ने जैमिनी–१ कुश्मीशेराका वडाध्यक्ष विष्णु आचार्यले बताउनुभयो । पहिरोको त्रासले गाउँ छाडेकाहरू चितवन, नवलपरासी र देशका ठूला सहरमा बसाइँ सरेका छन् । गाउँमा बाँकी रहेका पनि हिउँदे वर्षामा समेत सुरक्षित घर खोजेर बास बस्ने अवस्था रहेको आचार्य सुनाउनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै