
धनकुटा । आफ्नो विकट क्षेत्रमा दुई जिल्ला जोड्ने कालोपत्र सडक सञ्जालले छोएपछि धनकुटाको साविक ताँखुवा, तेलिया र परेवादिन गाविस हाल छथरजोरपाटी गाउँपालिकाका नागरिक हर्षित भएका छन् ।
धनकुटालाई वैकल्पिक मार्गबाट तेह्रथुम जिल्ला जोड्ने उद्देश्यले धनकुटा नगरपालिकाबाट छथर जोरपाटीसम्म निर्माणाधीन २३ किलोमिटर कालोपत्र सडक अन्तिम चरणमा छ । स्थानीय मार्से गाउँका शङ्कर ओझाले भन्नुभयो “यस सडकले गाउँपालिका वडा नं ५ साविक तेलिया गाविसलाई सबैभन्दा धेरै गुन लागेको छ । यो सडक हाम्रो गाउँका लागि कोशेढुङ्गा सावित भएको छ । सडक नहुँदा हाम्रो ठाउँ जिल्लाको कर्णाली भनेर चिनिन्थ्यो ।” पहिला कच्ची सडक हुँदा सवारी साधनलाई आवत जावत गर्न समस्या थियो । सो समयमा यहाँका नागरिकले भौगालिक कष्ट र पानीको अभाव झेल्न नसकेर बसाइँसराइ गर्न वाध्य थिए ।
उहाँले पछिल्लो समय कालोपत्र सडक बनेपछि यहाँबाट बसाइँसराइ जान छाडेको र मानिसले सब्जी तथा पशुपालन फार्म खोलेर उद्यामतिर लाग्न थालेको बताउनुभयो। उहाँले भन्नुभयो “पहिला सितैमा लैजाउ भनेरसमेत कसैले नलाने यस क्षेत्रको फलफूलसमेत सडक सुविधाका कारण अहिले किसानले राम्रो मूल्यमा बेचिरहेका छन् ।”
यस क्षेत्रका मानिस धनकुटाको सदरमुकाम धनकुटा बजारसम्म पुग्न छथरजोरपाटी–हिलेबजार हुँदै ३४ किमी घुमेर जानुपर्ने बाध्यताको अन्त्य भएको उहाँले जानकारी दिनुभयो ।
छथरजोरपाटी–३ सिंभुवा गाउँका रामबहादुर पाँचकोटीले गाउँ र सदरमुकाम जोड्ने कच्ची सडकसमेत नभएको अवस्थामा एक्कासी कालोपत्र सडक आउँदा आफूहरूको भारी बोकेर उकाली–ओराली गर्नुपर्ने कष्टपूर्ण दिन सकिएको बताउनुभयो । साविक ताँखुवा गाविसको यस वडाबाट धनकुटा बजार पुग्न ३५ किलोमिटरभन्दा बढी घुमेर कच्ची सडक पार गरेर जानुपर्दथ्यो अथवा त्यसको विकल्पमा करिब १५ देखि १८ किमी हिँडेर सदरमुकामसम्म कृषि उपज बेच्न जानुपर्ने र चाहिने मालसामान बोकेर ल्याउनुपर्ने हुन्थ्यो ।
तर अहिले ती सबै समस्याबाट मुक्ति पाएको स्थानीयको भनाइ थियो । “पहिलाजस्तो भारी बोकेर उकालो हिँड्ने दुःखका दिन सकिएको छ”, उहाँले भन्नुभयो । गाउँमै कालोपत्र सडक आएपछि कुनै बेला पाँच हजार रोपनीमा बिक्ने जमिनसमेत अहिले बढेर छ लाखभन्दा माथि पुगेको र तराईतिर बसाइँसराइ गएकासमेत फर्केर आउन थालेको उहाँले बताउनुभयो ।
साविक परेवादिन गाविस हाल छथरजोरपाटी गाउँपालिका–५ का वडाध्यक्ष डिकबहादुर लिम्बूले कालोपत्र सकडका कारण गाउँमा कृषि उत्पादनमा वृद्धि भइरहेको जानकारी दिनुभयो । पहिला गाउँपालिकासम्म जान कच्ची सडकमात्र भए पनि अचानक कालोपत्र सडक गाउँमा आउँदा नागरिक अत्यन्तै उत्साहित भएको उहाँले बताउनुभयो ।
सडकको सुगमतासँगै यहाँ उत्पादित तरकारी, अलैँची तथा फलफूल सहजरूपमा बजार जाने वातावरण बनेपछि गाउँमा उत्साहित भएर किसान कृषि पेसामा लागेकाले उत्पादनमा वृद्धि भएको वडाध्यक्ष लिम्बूको भनाइ थियो । सडक बनाउन पहल गर्न भूमिका खेल्नुभएका धनकुटा प्रदेशसभा (१)का प्रदेशसभा सदस्य निरन राईले गाउँपालिका क्षेत्रको भौगालिक कठिनाइ समाधान गर्न र बजारबाट बाहिर जाने ठूलो वैकल्पिक बाटोका रूपमा यस सडक आयोजना सुरु गरिएको जानकारी दिनुभयो ।
अहिले धनकुटा बजारबाट अन्यत्र जाने कुनै ठूला सडक छैनन् । धरानबाट धनकुटा हुँदै भोजुर, सङ्खुवासभा र तेह्रथुम जिल्ला जाने सडकसमेत बजार बाहिरबाट गएको छ । यसका कारण अहिले धनकुटा बजारका केही बजार क्षेत्रमा व्यापारिक चहलपहल ठप्प छ ।
यसलाई तेह्रथुम जिल्लालाई जोड्ने यस सडक पूर्णरूपमा निर्माण भएपछि यी बजारले पुनःजीवन पाउने उहाँको जिकिर छ । यस सडकलाई निकट भविष्यमा धनकुटा बजारको पूर्वी क्षेत्रलाई तेह्रथुम जिल्लाको दक्षिण–पूर्व शुक्रबारे बजार हुँदै जिल्लाको सदरमुकाम म्याङलुङ बजारसम्म जोड्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।
विसं २०७६ बाट २०८० पुस मसान्तसम्ममा काम सक्ने गरी पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत फिल्ड कार्यालय धनकुटाको अनुगमनमा निर्माण कम्पनी शर्मा भीमेश्वर जेभी भक्तपुरले सडकको ठेक्का पाएको थियो । कोशी प्रदेश सरकारको रु ५६ करोड ५२ लाख लागतमा निर्मित उक्त धनकुटाबिहीबारे हटिया–कर्मिटार–ताँखुवा–बन्चरे–तेलिया–परेवादिन–शुक्रबारे–तेह्रथुम सडक निर्माणको ९५ प्रतिशत काम सकिएको जेभीका प्रतिनिधि अपलेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
(रासस)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- असोज बाढीपहिरो : सातमहिनापछि बल्ल काभ्रेमा निजी आवासको क्षति आकलन शुरु
- सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, तीन घाइते
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन