
धुलिखेल । आम्दानीको मुख्य स्रोत सुन्तलाखेती रहेका यहाँका कृषक बोट सुक्दै गएपछि चिन्तित बनेका छन् । मलजल नहुनु, माटो परीक्षण नहुनु, कीरा तथा रोग लाग्नुलगायत कारणले सुन्तला कम फलेपछि किसान चिन्तित बनेका हुन् ।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१२ शङ्खुफेदीका कृषक चैत्यमुनि बज्रचार्यले सुन्तलाका बोट सुक्ने र रोग लागेर कम फल्न थालेकाले आम्दानी घट्दै गएको बताउनुभयो । गत वर्षभन्दा यस वर्ष अलि बढी फले पनि मलजलको व्यवस्था, गोडमेल, माटो परीक्षण नगर्ने र कीरा लाग्ने गरेकाले कम फलेको उहाँको भनाइ थियो ।
सोही ठाउँका अर्का कृषक सन्तवीर तामाङले फल लागे पनि कीरा लागेर समस्या भएको बताउनुभयो । “सुन्तला कम फल्न थालेपछि बगैँचाभित्र ट्र्याक्टर जोतेर मकै, तोरीलगायतका अन्य बाली लगाउन थालेपछि जरा काटिएर सुक्न थालेका हुन्”, उहाँले भन्नुभयो, “खेतीको नयाँ प्रविधि र रोगको उपचार विधि सिक्न पाएमा राम्रो हुने थियो ।”
पनौती नगरपालिका–१० का कृषक मधुसुदन आचार्यले आम्दानीको मुख्य स्रोत सुन्तला खेती भए पनि भूकम्पपछिको समयदेखि कम फल्न थालेको बताउनुभयो । तीन÷चार रोपनीमा खेती गर्दै आएकामा बोट सुक्दै जान थालेपछि कतिपय बोट काटेर फालेको उहाँले सुनाउनुभयो ।
“डाँडामा पहिलादेखि प्रशस्त उत्पादन हुन्थ्यो । यसकै आम्दानीबाट आर्थिक उपार्जन गर्दै आएका थियौँ । पछिल्लो समयमा खेती नै कम हुन थालेको छ”, आचार्यले भन्नुभयो, “अझ पछिल्ला वर्षमा ऐंजेरु लागेर दाना कम र मसिनो फल्ने मुख्य समस्यामा यहाँका कृषक रहेका छन् ।” स्थानीय तह र कृषि विज्ञको सल्लाहअनुसार उपचारको विधि अपनाउने र पुरानो बिरुवा निकालेर नयाँ बिरुवा रोप्ने अभियान थाले पनि रोगको चपेटामा परेर यसबाट आम्दानी लिनसक्ने अवस्था नरहेको उहाँको भनाइ थियो ।
धुलिखेल नगरपालिका–१२ मा रहेको महालक्ष्मी कृषक सहकारी संस्थाका अध्यक्ष माधव श्रेष्ठले कृषकको समस्यालाई समाधान गर्नका लागि कृषि ज्ञानकेन्द्र काभ्रेपलाञ्चोकबाट सुन्तला खेती सुधार कार्यक्रमअन्तर्गत रोगको किटाणु नाश गर्ने विधि, मोहनी पासो, भिटामिन राख्नेलगायत काम गरिएको जानकारी दिनुभयो । “यसो गर्दा केहीमात्रामा सुधार आएको थियो । आम्दानीको मुख्य स्रोत सुन्ताला खेती भएका कृषकलाई किटाणु नाश गर्ने विधि र प्रविधि दुवै सिकाउन जरुरी छ”, उहाँले भन्नुभयो ।
गत वर्षदेखि औषधि छर्ने काम गरेकाले यस वर्ष केही सुधार भएको र फल पनि लागेको श्रेष्ठले बताउनुभयो । केही सुधार आएपछि कृषकमा उत्साह जागेको भन्दै ज्ञान केन्द्रले अहिलेको अवस्थाका बारेमा अध्ययन गरी थप सुधारका लागि योजना बनाएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सुन्तालको खेतीबाट मनग्य आम्दानी गर्दै आएका यहाँका किसानले हरेक घरबाट रू डेढ लाखदेखि रू १५ लाखसम्म वार्षिक आम्दानी लिने गरेका जिल्लास्थित ज्ञान केन्द्रले जनाएको छ । सुन्तलाखेती नै प्रमुख स्रोत बनाएका शङ्खु, एक्लेखेत, पाटीचौर, सल्लेनीका कृषक पुराना बोट फालेर नयाँ बोट लगाउने तथा पुराना बोटलाई उपचार विधिबाट उत्पदानशिल बनाउने अभियानमा लागेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो