
बागलुङ । बागलुङको जैमिनी नगरपालिका–३ दमेकको नौला, कालापातल, दह लगायत क्षेत्रमा हिउँद बर्खा दुवै याममा आलुको राम्रो उत्पादन हुन्छ । केही वर्ष अघिसम्म यहाँ नागरिकले आलुसँग अन्न साटेर वर्षभरिको खर्च चलाउँथे । दाल–चामल, नुनतेल र मसलाको जोहो गर्न आलु नै स्रोत हो ।
उपल्लो दमेकको उत्पादन आलु मात्रै होइन मकै, कोदो, सिस्नो र बाँको पनि हुन् । पुर्खाले जे–जसरी उपभोग गर्न सिकाए उसैगरी यहाँका नागरिकले उत्पादनको उपभोग गरे पनि जमाना फेरिएको छ । पहिलेजस्तो आलु साट्न कालापातल कोही पुग्दैनन् । चामल खानकै लागि कालापातलवासीले आलु साट्न आउनेहरुलाई कुर्नु पर्दैन । आजभोलि दमेकको आलुको चिप्स, सिरिम्ले मकै ब्रान्ड भएको र सिस्नोको धुलो विदेश निर्यात हुन्छ । नगरपालिकाले आफ्ना नागरिकलाई उद्यमी बनाउने अभियानअन्तर्गत रैथाने र परम्परागत बालीलाई आधुनिक उपभोग्य वस्तु बनाउन सिकाएको छ । नगरले उद्यमशीलता तालिम सञ्चालन गरिरहेको छ ।
स्थानीय तहमा रहेका कच्चापदार्थको उपयोग गर्दै नागरिकलाई आम्दानीसँग जोड्न विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आइरहेको उपप्रमुख हरिहर शर्मा बताउनुहुन्छ । दमेकमा आलु चिप्स, दालमोठ, भुजिया, फुरनदाना, नमकिन, चना र फ्राई चिउरा बनाउने तालिम नगरपालिकाले सञ्चालन गरेको थियो । त्यसपछि दमेकबासीले आलु चिप्स विदेश निर्यात गर्न थालेका छन् । ‘ एक सय ५० मा बिक्री हुने आलुको एक हजार रुपैयाँ पर्ने गरी चिप्स बन्छ, किसानलाई धेरै फाइदा भएको छ’ वडाध्यक्ष कृष्णबहादुर भुजेलले भन्नुभयो– ‘हाम्रो वडाका नागरिक केही न केही निर्यात गर्छन् जसको आम्दानीले खर्च चलेको छ ।’ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम जैमिनीमा सञ्चालित छ । त्यसले उद्यमी बन्न प्रेरित गर्ने नगरप्रमुख नरबहादुर पुनले बताउनुभयो ।
उद्यमशीलताको विकासका लागि जैमिनीले लगानी गर्ने उहाको धारणा थियो । कृषिजन्य वस्तुको उत्पादन, बजारीकरण र प्रवद्र्धन गर्नका लागि कृषकसँग सहकार्य गर्नुपर्ने चर्चा गर्दै नगरप्रमुख पुनले नगरले दिएको सीपलाई नागरिकले व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय स्रोत र साधनको परिचालन गरी रोजगारी सिर्जना गर्ने तथा किसानलाई आत्मनिर्भर गराई आम्दानी बढाउनका लागि सबैसँग सहकार्य गर्ने वडाध्यक्ष भुजेल बताउनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने