+

मानव स्वास्थ्य, वातावरण र पारिस्थितिक प्रणालीमा वायु प्रदूषणका असर

यादव अधिकारी
काठमाडौँ । भारी वायुस्मग (Air-smog) भनेको वायुमण्डलमा धुवाँ, धुलो र अन्य कणहरूको अत्यधिक मात्रा हो, जसले गर्दा वायुको गुणस्तरमा गम्भीर गिरावट आउँछ । यो प्रायः औद्योगिक उत्सर्जन, सवारी साधनको धुवाँ, जङ्गलको डढेलो र अन्य प्रदूषण स्रोतहरूबाट उत्पन्न हुन्छ । 

वायुस्मगको मापन गर्नका लागि विभिन्न एकाइहरू प्रयोग गरिन्छ, जसमा एयर क्वालिटी इन्डेक्स (AQI) मुख्य हो । ए.क्यू.आई. एक सङ्केतक हो जसले वायुको गुणस्तरलाई विभिन्न स्तरहरूमा वर्गीकरण गर्छ, जस्तै सञ्चारक, मध्यम, अस्वस्थकर, खतरनाक इत्यादि । ए. क्यू. आई. मान १०० भन्दा माथि भएमा वायु गुणस्तर अस्वस्थकर मानिन्छ । १५० भन्दा माथि भनेको स्वास्थ्यका लागि जोखिम हुन्छ, जबकि २०० भन्दा माथि भनेको खतरनाक मानिन्छ । 

भारी वायुस्मगको प्रभाव मानिस, बिरुवा र जनावरहरूमा गम्भीर हुन सक्छ । वायुस्मग तब उत्पन्न हुन्छ जब वायुमण्डलमा धुलो, धुवाँ र अन्य कणहरू अत्यधिक मात्रामा जम्दछन्, जसले गर्दा वायु गुणस्तरमा कमी आउँछ । मानिसहरूमा यसले श्वासप्रश्वाससम्बन्धी समस्या, आँखामा जलन, हृदय समस्या र अन्य स्वास्थ्य जटिलताहरू निम्त्याउन सक्छ । बिरुवाहरूमा स्मगले प्रकाश संश्लेषण प्रक्रियामा बाधा पु¥याउँछ, जसले उनीहरूको वृद्धि र उत्पादनमा कमी ल्याउँछ । जनावरहरूमा पनि स्मगले श्वासप्रश्वास समस्या, थकान र अन्य स्वास्थ्य समस्या उत्पन्न गर्न सक्छ । यी सबै प्रभावहरूले पारिस्थितिक प्रणाली र मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्छन् जसले गर्दा वायु प्रदूषण नियन्त्रणका लागि प्रभावकारी उपायहरूको आवश्यकता देखिन्छ ।

नेपाल विशेष गरी काठमाडौं उपत्यकामा पछिल्लो १५ दिनमा भारी वायुस्मगले गम्भीर समस्या उत्पन्न गरिरहेको छ । पछिल्ला दिनहरूमा वायु प्रदूषणका दृष्टिकोणले काठमाडौं संसारकै सबैभन्दा प्रदूषित सहरमा परिरहेको छ । यस स्मगले जनस्वास्थ्यमा व्यापक असर पार्नुका साथै जनजीवनमा गम्भीर खतराहरू ल्याएको छ । 

भारी स्मगको कारण काठमाडौंमा दृश्यता (Visibility) घटेको छ, जसले गर्दा ट्राफिक दुर्घटनाको जोखिम बढेको छ । साथै वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी समस्या, आँखामा जलन, हृदय समस्या, र अन्य स्वास्थ्य समस्याहरू निम्त्याएको छ । यस समस्याको एक प्रमुख कारण नेपालका विभिन्न भागहरूमा व्यापक वन डढेलो हो । देशका विभिन्न जङ्गलहरूमा लागेको डढेलोले वायुमण्डलमा ठूलो मात्रामा धुवाँ उत्सर्जित गरिरहेका छन्, जसले काठमाडौं उपत्यका र अन्य क्षेत्रहरूमा स्मग उत्पन्न गरिरहेको छ । यो धुवाँले वन्यजन्तुमा पनि गम्भीर असर पारिरहेको छ । धेरै वन्यजन्तुहरू आफ्नो बासस्थान गुमाउन पुगेका छन् र केही जनावरहरूको मृत्यु पनि भएको छ । यसबाहेक मानिसको स्वास्थ्यमा पनि यो डढेलोको धुवाँले गम्भीर असर पारिरहेको छ ।

वायु प्रदूषणका ठूला घटनाहरूलाई हेर्ने हो यो वातावरणका लागि कति हानिकारक छ भन्ने कुरा तलका विवरणबाट सहजै थाहा पाउन सकिन्छ । जसअन्तर्गत सर्वप्रथम डिसेम्बर १९५२ मा ग्रेट लन्डन स्मग भएको थियो । यस स्मगको कारण लन्डनमा ४,००० देखि १२,००० मानिसहरूको मृत्यु भयो । अक्टोबर १९४८ मा डोनोरा, पेन्सिल्भानिया, संयुक्त राज्य अमेरिकामा भएको स्मग घटनामा उद्योगहरूबाट उत्सर्जित प्रदूषकका कारण करिब २० जनाको मृत्यु भयो र हजारौं मानिसहरू बिरामी भए ।  न्युयोर्क सिटी स्मग नोभेम्बर १९६६ मा भएको थियो जसले १६९ देखि ४०० मानिसहरूको मृत्यु गरायो । १९८० देखि १९९० को दशकमा मेक्सिको सिटीलाई विश्वको सबैभन्दा प्रदूषित शहर मानियो । स्मगको कारण श्वासप्रश्वाससम्बन्धी समस्या, हृदय रोग र अन्य स्वास्थ्य समस्याहरू देखिए । चीनको औद्योगिकीकरणका कारण २००० को दशकमा वायु प्रदूषण गम्भीर समस्या बन्यो । विशेष गरी, बेइजिङमा स्मगका कारण दृश्यता घट्ने, स्वास्थ्य समस्या बढ्ने, र मानिसहरूको जीवनस्तरमा असर पर्ने घटनाहरू भए ।
 
यी ऐतिहासिक घटनाहरूले वायु प्रदूषणको खतरा र स्मगका गम्भीर परिणामहरूलाई चित्रित गर्छन् । तिनीहरूले वायु प्रदूषण नियन्त्रणका लागि प्रभावकारी उपायहरूको आवश्यता देखाउँछन् ।

एयर क्वालिटी इन्डेक्स (AQI) १५० भन्दा माथिको वायु प्रदुषणले मानव स्वास्थ्यमा गम्भीर असर पार्दछ । स्मगले फोक्सोको कार्यक्षमता घटाउँछ, मानिसहरूलाई स्वासप्रश्वासमा समस्या हुन सक्छ र कालान्तरमा फोक्सोको क्यान्सरसम्म हुने जोखिम बढाउँछ । यसले दम, ब्रोङ्काइटिस र अन्य श्वासप्रश्वाससम्बन्धी रोगहरूलाई बढवा दिन्छ । स्मगमा पाइने कणहरू र प्रदूषकहरूले हृदयमा पनि असर पु¥याउँछ । यसले हृदयाघातको जोखिम बढाउँछ र उच्च रक्तचापको सम्भावना पनि बढाउँछ । स्मगले आँखामा जलन गर्नुका साथै आँसु र कचेरा पनि उत्पन्न गर्छ । प्रदूषक तत्वहरूले छालामा एलर्जी र अन्य समस्याहरू उत्पन्न गर्न सक्छ ।

जनावरहरूलाई पनि स्मगले श्वासप्रश्वासमा समस्या उत्पन्न गराउँछ, जसले उनीहरूलाई स्वासप्रश्वासमा कठिनाई हुने, खोक्ने र अन्य समस्याहरू उत्पन्न गराउँछ । अत्यधिक स्मगको कारण कमजोर वा वृद्ध जनावरको मृत्युको जोखिम बढ्छ ।

स्मगले बिरुवाहरूको प्रकाश संश्लेषण प्रक्रियामा बाधा पुर्‍याउँछ, जसले उनीहरूको वृद्धि र उत्पादनशीलतामा कमी ल्याउँछ । स्मगको कारण बिरुवाहरूको पातमा कालो धब्बा र अन्य क्षति देख्न सकिन्छ । यसले बिरुवाहरूको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछ । स्मगको दीर्घकालीन प्रभावले बिरुवाहरूको आयुमा कमी आउँछ ।


काठमाडौं उपत्यकामा स्मगको समस्या सामान्यतः हिउँद र वसन्त ऋतुमा देखिन्छ, जब वायुमा प्रदूषणको मात्रा बढी हुन्छ । पछिल्लो १५ दिनमा काठमाडौंको आकाशमा धुमिल वातावरण देखिएको छ ! काठमाडौंमा स्मगको मुख्य कारणहरूमा सवारी साधनबाट निस्कने धुवाँ, उद्योगहरूबाट उत्सर्जित प्रदूषण, डढेलो, निर्माण कार्यबाट उडेको धुलो र अन्य मानव निर्मित गतिविधिहरू पर्दछन् ।  पछिल्ला दिनहरूमा नेपालका अन्य भागहरूमा पनि स्मगको समस्या छ । विशेष गरी तराई क्षेत्रमा कृषि फसल जलाउने परम्पराले स्मगको मात्रा बढाउँछ । यसका साथै शहरहरूमा सवारी साधन र उद्योगहरूको कारणले स्मगको समस्या देखिन्छ । 

स्मगको समस्या समाधान गर्न विभिन्न उपायहरू अपनाउन सकिन्छ, जस्तै सार्वजनिक यातायातको प्रयोग बढाउने, विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने, उद्योगहरूको प्रदूषण नियन्त्रण गर्ने र हरियाली बढाउने जस्ता उपायाहरू अवलम्बन गर्नु अपरिहार्य छ । यसका साथै मानिसहरूलाई वायु प्रदूषणको प्रभावबारे सचेत गराउनु पनि महत्वपूर्ण छ ।
 
सरकार र सम्बद्ध निकायहरूले यस समस्याको समाधानका लागि प्रभावकारी रणनीतिहरू लागू गर्नुपर्छ । वनमा लागेको डढेलो नियन्त्रणका लागि वन विभाग र स्थानीय सरकारहरूबीच समन्वय गर्नुपर्छ । साथै, काठमाडौं उपत्यका र अन्य शहरी क्षेत्रहरूमा वायु प्रदूषण नियन्त्रणका लागि स्वच्छ ऊर्जा स्रोतहरू, सार्वजनिक यातायातको प्रवद्र्धन र प्रदूषण नियन्त्रण कानुनहरूको पालनाको आवश्यकता छ ।


यदि सम्बद्ध निकायहरू र सरकारले यस्ता समस्याहरूलाई सम्बोधन गर्न प्रभावकारी कदमहरू नचाले स्मगको दीर्घकालीन प्रभावले मानव स्वास्थ्य, वन्यजन्तु, वातावरण र पारिस्थितिक प्रणालीमा गम्भीर खतराहरू निम्त्याउनेछ । त्यसैले समयमै आवश्यक कदम चालेर भविष्यमा यस्ता समस्याहरूलाई रोक्न र हाम्रो वातावरणलाई सुरक्षित राख्नतिर ध्यान दिनु जरुरी भइसकेको छ ।

(लेखक त्रिभूवन विश्वविद्यालयका उपप्राध्यापक हुनुहुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै