
बागलुङ । चैतेदशैँका अवसरमा बागलुङमा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक चैत्राष्टमी मेलाको तीव्रताका साथ तयारी भइरहेको छ ।
मेलाका लागि आयोजना गरिएका प्रतियोगिताको व्यवस्थापनदेखि मेला भर्न आउने अतिथि र दर्शकका लागि मञ्च तथा मैदानको व्यवस्थापनको काम भइरहेको हो । कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा चैतको ३० गतेदेखि मेला शुरु हुनेछ ।
मेलाका लागि सबै तयारी अन्तिम चरणमा पु-याएको आयोजक गुठीले खर्च व्यवस्थापन भने कठिन भएको बताएको छ । मेलामा ५५ लाख रुपैयाँ खर्च हुने समितिको अनुमान छ । मेला हेर्न टिकटको व्यवस्था नभएको र सरोकारवालाको सहयोग नपाउँदा आर्थिक व्यवस्थापन कठिन भएको गुठीका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।
मेलाका लागि गुठीले १५ लाख रुपैयाँ दिने गरेको छ । प्रायोजकबाट १५ लाख अपेक्षा गरेको समितिले सोहीअनुसार सहआयोजक तथा प्रायोजक नभेटेको हो । मेला स्थलमा व्यावसायिक प्रयोजनका लागि आउँदा व्यहोर्नुपर्ने झण्झटका कारण व्यवसायीबाट सोचेजस्तो सहयोग नपाएको खड्काले बताउनुभयो । रमाइलो मेलाबाट १२ लाख, आर्थिक सहयोगबाट ३ लाख, मेलास्थलका स्टलबाट ३ लाख र दर्ता शुल्क २ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य समितिको छ ।
मेलामा पुरुष भलिबल, लोकदोहोरी, छेलो लगायतका प्रतियोगिता आयोजना गरेको समितिले १९ लाख पुरस्कारमा मात्रै खर्च गर्नेछ । सोबाहेक प्रतियोगिताका निर्णायक र प्राविधिक तथा अन्य सामग्रीका लागि लाखौँ खर्च हुने अनुमान छ । कलाकार, प्रचारप्रसार, सुरक्षा टेन्ट, इन्धन र पानी बिजुलीसमेत गरेर ५५ लाख रुपैयाँ खर्च हुने खड्काले बताउनुभयो । यी सबै शीर्षकका खर्च जुटाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारले सहयोग नगरेको गुनासो उहाँले सुनाउनुभयो ।
कला संस्कृति, स्थानीय उत्पादन, व्यापार धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेलाको आयोजना गरिएको भए पनि सरकारको ध्यान नपुगेको खड्काको गुनासो थियो । बुधबार पत्रकार सम्मेलन गरेर खड्काले मेलाको तयारीबारे जानकारी गराउनुभयो । पुरानो पररम्परागत रूपमा लाग्ने मेलाको स्वरूप परिवर्तन भएकाले आन्तरिक पर्यटक तान्न मेला महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
खड्काले मेलाले कालिका भगवती मन्दिरको ऐतिहासिक धार्मिक एवं साँस्कृतिक गरिमालाई अभिवृद्धि गर्ने अपेक्षा लिइएको बताउनुभयो । मेलामा घरेलु उत्पादनलाई विशेष प्राथमिकता दिइने उहाँले बताउनुभयो । चैत्राष्टमी मेला सञ्चालन हुने भएपछि देशका विभिन्न स्थानसहित बागलुङ जिल्लाका विभिन्न ठाउँबाट डालो, नाम्लो, डोका, डाली, नाङ्लो, ठेकासहित घरेलु उत्पादन बिक्रीका लागि व्यापारी आइपुगेका छन् । मेलामा पाँच लाख आन्तरिक पर्यटक आउने अपेक्षा गरिएको छ । मेला वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय