
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ताको लागि गठबन्धन परिवर्तन भइरहने प्रवृतिले मुलुकको राजनीति र लोकतन्त्रलाई धमिलो बनाइरहेको बताउनुभएको छ ।
बुधबारको प्रतिनिधिसभामा कांग्रेस महामन्त्री शर्माले गठबन्धन फेरिरहने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति नरम शैलीमा निर्मम प्रहार गर्नुभएको छ । ‘कांग्रेस आफ्नो प्रतिवेदन देशलाई र समयलाई बुझेर लेख्छ, कम्युनिष्ट पार्टीको अध्यक्षलाई सोधेर लेख्दैन’ उहाँले भन्नुभयो– ‘हिजोको दिनमा राजतन्त्र र हिन्दू धर्मको विचार बोक्ने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन गर्दा प्रधानमन्त्री दाहाललाई आपत्ति नहुने तर कांग्रेसको महासमिति बैठकमा आएका विविध विषयले आपत्ति हुने ? यो कस्तो बिश्लेषण हो ?’
महामन्त्री शर्माले कांग्रेस र एमाले मिले भने प्रधानमन्त्री दाहाल र नेकपा माओवादी केन्द्रको विजोग हुने टिप्पणी गर्नुभयो । ‘पोहोर एमाले विपक्षमा रहेको अहिले कांग्रेस विपक्षमा रहेको पालैपालो विपक्षमा रहेकाहरूको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र ?’ उहाँले भन्नुभयो– पालैपालै विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने पनि धोका खाएकाहरू एक हौँ भन्ने नारा लाग्यो भने राजनेताको गद्दीको हालत के होला ?’
कांग्रेस महामन्त्री शर्माले ‘नोट एण्ड अगेन’ भन्दै जनतामा पुराना ठूला दलविरुद्ध हौवा फैलाउँर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)प्रति समेत कटाक्ष गर्नुभयो । कांग्रेस नेता शर्माले जनताका प्रतिनिधिको सर्वोच्च थलो सदनमा सधैँ सत्ता र विपक्षका राजनीतिक कुरा मात्र होइन जनताका दैनिक सवालका विषयले पनि प्राथमिकता पाउनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले एक प्रधानमन्त्रीले १५ महिनामा तीनपटक विश्वासको मत लिनुपर्ने विषयमाथि सदनमा छलफल गर्नुपरेको बताउनुभयो । ‘आज सदनमा पुँजीगत बजेट खर्च हुन नसकेको, शान्तिप्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषय, सङ्घीयता बलियो बनाउने, शिक्षा स्वास्थ्य सुधारका विषय, इजरायलमा हमासको आक्रमणका बेला अज्ञात रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ, रुस–युक्रेन युद्धमा रुसी सेनामा लडिरहेका र मरिरहेका नेपाली नागरिकका विषयमा छलफल हुनुपर्ने होइन ?’ महामन्त्री शर्माले प्रश्न गर्नुभयो ।
डेढ वर्षमा प्रधानमन्त्रीले तीनपटक विश्वासको मत लिनुपर्ने कस्तो विश्वास हो ? उहाँको प्रश्न छ । महामन्त्री शर्माले यस्तो अवस्था किन कसरी र कस्का कारणले आयो ? भन्ने विषयमा पनि सम्मानित संसदमा विचार विश्लेषण हुनुपर्ने बताउनुभयो ।
महामन्त्री शर्माले कांग्रेसले विभिन्न कालखण्डमा कहिले दुई तिहाइ कहिले बहुमत प्राप्त गरी कहिले सत्तामा र कहिले प्रतिपक्षमा रहेर मुलुक र जनताका लागि ऐतिहासिक काम गरेको उदाहरण प्रस्तुत गर्नुभयो ।
सम्बोधनका क्रममा महामन्त्री शर्माले लुम्बिनीमा हुन गइरहेको शान्ति सम्मेलन नेपाल सरकारले स्थगित गर्दा अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश गएको बताउनुभयो । साथै उहाँले विश्वासको मत नलिईकन प्रदेश प्रमुख बर्खास्त गर्दा अस्थिरताको सन्देश गएको समेत उल्लेख गर्नुभयो ।
महामन्त्री शर्माले राजनीतिक नेतृत्वले आलोचना सुन्नसक्ने र विश्वासको वातावारण बनाउन सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले जनमतको विश्वासमाथि विश्वासघात भएकाले कांग्रेसले विश्वास मत दिन नसक्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग