
काठमाडौँ । सत्ता गठबन्धन फेरिएसँगै आन्तरिक विवादको भूमरीमा फसेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आज बिहान फेसबुक स्ट्याटस लेखेर अहिलेको श्रीमती रञ्जिता श्रेष्ठको असन्तुष्टिबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । यतिबेला नागरिक उन्मुक्तिभित्र केन्द्रमा पुष्पकमल दाहालको गठबन्धन सरकार र सोही अनुरुप बन्ने प्रदेश सरकारहरुमा पनि समर्थन गर्नुपर्ने अडानमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ हुनुहुन्छ । तर पार्टीका संरक्षकसमेत रहेका रञ्जिताका श्रीमान भने नवगठित सरकारलाई समर्थन गर्न नहुने अडानमा हुनुहुन्छ ।
‘मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय, र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन,’ रेशमलालले लेख्नुभएको छ, ‘आज लोग्नेस्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ । तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न । आज जतिले मन दुखाएका छन् ती हामीलाई हृदयदेखि चाहनेवाला हुन् । मलाई भोट हाल, मलाई भोट हाल भन्नेहरु हामीलाई डुबाउनेवाला मात्रै हुन् । मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौं टण्टै साफ ।’
रेशमलालले आफ्नो धारणा विपरीत गए पार्टीबाट कारबाही हुनसक्ने संकेत पनि गर्नुभएको छ । ‘याद रहोस्, केन्द्रीय कमिटीको निर्णय नमान्नेलाई कारबाही गर्नुपर्छ र कारबाही भोग्नुपर्छ, सबैलाई लागेको होला, केन्द्रीय समितिको निर्णय मैले गराएको हुँ । यो सोच्दै हुनुहुन्छ भने तपाईं भ्रममा हुनुहुन्छ । अहिले भन्न सक्दिनँ अहिले केन्द्रीय समितिले स्वतन्त्र भइ निर्णय गरेको हो । अब हरेक निर्णय यसरी नै स्वतन्त्र भइ गर्नुपर्छ ।’
उहाँले भन्नुभएको छ, ‘कुरा बुझौं, कुनैपनि गठबन्धनका पछाडि नलागौं । नागरिक उन्मुक्ति पार्टी कांग्रेस कम्युनिस्ट होइन, भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयताका लागि समुदायमा आधारित समाजवाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो । त्यसैले एक अर्कोमा हिलो छ्यापाछ्याप नगरौं । आफ्नो नीति सिद्धान्त अनुरुप चलौं ।’
उहाँले रञ्जिता र आफूबीच उत्पन्न विवादबारे पनि खोख्नुभएको छ । ‘कुरो रहृयो बुढाबुढीको । म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्,’ रेशमललाले लेख्नुभएको छ, ‘प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नु हुन्न भन्छिन् । अरे लाटी, टीकापुर घटनापछि पनि प्रचण्ड दुई चोटी प्रधानमन्त्री भएकै थिए । हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो, तर हामी रिहा भएनौं नि । अहिलेपनि कसैको कृपाले राजबन्दी रिहाई गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाई भएका हौं र तिमी पनि मन्त्री भएकि हौ ।’ एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो भन्ने उहाँको भनाइ छ ।
निर्वाचन आयोगले आफूलाई मान्यता नदिएको बारेपनि उहाँको आक्रोश छ । ‘जेलमा मैले लेखेको विधानले आज पार्टी चलेको छ । तर मैले सबैको सदुपयोगीका लागि विधान लेखेको हुँ, दुरुपयोगका लागि होइन,’ उहाँले लेख्नुभएको छ, ‘अहिले विधानको कारण देखाएर निर्वाचन आयोगले जुन निर्णय गरेको छ त्यो अत्यन्त दुर्भाग्यपूर्ण छ । सबै कानुन जान्नेलाई थाहा छ, महाधिवेशन विधान भन्दा माथि हुन्छ । सत्ताको सदुपयोग या दुरुपयोग क्षणिक हो, तर जनता जनार्दन हुन् । यसका बारेमा अदालतले केही दिनमा अवश्य न्याय देला ।’
आफ्ना कारण लाखौं जनताको मन दुखेको आफूलाई अनुभूत भएको उहाँको भनाइ छ । ‘त्यसकारण म क्षमा चाहन्छु । तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन,’ उहाँ लेख्नुभएको छ, ‘म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन । मान्नैपर्छ, दुःख दैवले मेरो थाप्लोमा थुपारेरै पठाएको हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव