
मनाङ । हिमाली जिल्ला मनाङको मुख्य उत्पादनका रुपमा स्याउ मानिन्छ । यहाँ आलुसँगै स्याउ गोडमेलको समय भएको छ । केही महिना जिल्ला बाहिर रहने मनाङवासी अहिले स्याउ बगैँचा गोडमेलमा व्यस्त छन् ।
हिउँद याममा यहाँका स्याउ बगैँचा उजाड हुन्छ । भदौ, असोज र कात्तिकमा स्याउ टिपिसकेपछि बोटका पात झर्छन् । अनि नाङ्गै बन्छन् स्याउका बोट । त्यसपछि माघ र फागुनमा स्याउ बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्ने र आंशिक रूपमा स्याउको व्यवस्थापन गर्ने गरिन्छ । अहिले यहाँका किसान तिनै स्याउका बगैँचा व्यवस्थापन गर्ने चटारोमा छन् ।
नासों गाउँपालिका–८ ताचैका स्याउ किसान सोलबहादुर गुरुङले यसवर्ष यहाँसम्म हिमपात नभए पनि स्याउ खेती राम्रो हुने गरेको बताउनुभयो । उहाँले यतिबेला स्याउ बगैँचा गोडमेलमा व्यस्त भएको बताउनुभयो । मुख्य आय नै स्याउ भएको बताउदै उहाँले भन्नुभयो– ‘आयस्रोतलाई जोगाउने र उत्पादन राम्रो कसरी हुन्छ भन्नेतर्फ लागेका छौँ ।’ यहाँका अधिकांश मानिसको घरमा स्याउ हुने र गोडमेल गर्ने समय भएको उहाँले सुनाउनुभयो ।
जाडो छल्न यहाँका स्थानीयवासी बाहिर गएर फर्किएपछि बगैँचा गोडमेल गर्ने गर्दछन् । नासों–६ तिल्चेका टङ्क गुरुङ पनि स्याउ बगैँचा गोडमेल तथा व्यवस्थापनमा व्यस्त हुनुहुन्छ । समयमा नै स्याउ बगैँचाको गोडमेल गरेपछि नै राम्रो उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लाका स्याउ किसान अहिले बगैँचा गोडमेलमा नै व्यस्त रहेका छन् । यहाँको स्याउको माग तथा खपत राम्रो भएकाले यसतर्फ आकर्षित भएको उहाँले बताउनुभयो ।
यतिबेला मनाङको नासों, चामे, ङिस्याङ तथा नार्पाभूमिका स्याउ बगैँचा व्यवस्थापन भइरहेको छ । केही लेकाली क्षेत्रमा अत्यधिक चिसोका कारण स्थानीयवासी बेँसी झर्ने हुनाले केही ढिला गरी मनाङ ङिस्याङ र नार्पाभूमिका स्याउ बगैँचा व्यवस्थापन गरिने किसानको भनाई छ ।
जिल्लाको मुख्य उत्पादन पनि भएकाले यहाँका अधिकांश किसान स्याउखेतीमा लागेका छन् । यसबाट किसानले राम्रै आम्दानी गर्ने गरेको उहाँहरूको भनाई छ । अरू खेतीको तुलनामा धेरै समय लगानी गर्न नपर्ने स्याउ खेतीले यहाँको आर्थिकस्तर वृद्धि गर्न टेवा पुगेको किसान उमबहादुर गुरुङले बताउनुभयो ।
फागुन महिना लागेसँगै किसानले उजाडिएका स्याउ बगैँचामा गोडमेल, सिँचाइ गर्ने, मलजल गर्ने, रोग, कीराको प्रकोप नियन्त्रणका लागि विषादी छर्किने र बोटमा फैलिएका अनावश्यक हाँगाबिँगा काँटछाँट गर्ने कृषि ज्ञान केन्द्र मनाङले जनाएको छ ।
मनाङका किसानलाई कृषि ज्ञान केन्द्रले वषैृनी प्राविधिक व्यवस्था गरी स्याउ बगैँचा व्यवस्थापनबारे तालिम र क्षेत्रमै पुगेर स्याउखेती गर्ने तरिका सिकाउने गरेको छ । बोटमा फर्मल इन्फेक्सनका कारण कटिङको घाउ नबढोस् र प्रकोप नियन्त्रण होस् भनी हाँगा काँटछाँट गर्नुपर्ने कृषि ज्ञान केन्द्रका अधिकृत घनश्याम गैरेले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘स्याउ कटिङ गर्दा हावा र घाम स्याउका सबै हाँगा र पातसम्म सर्कुलर हुन्छ । विभिन्न स्याउमा लाग्ने रोग सङ्क्रमणलाई प्रतिरोध गर्छ ।’ स्याउ बगैँचा व्यवस्थापनको मुख्य काम हाँगा काँटछाँट हो, यसले स्याउको निश्चित आकार र साइजलाई बढ्ने सहयोग गर्ने उहाँले बताउनुभयो ।
बगैँचा व्यवस्थापन गर्दा किसानले बोटमा प्रकोप नियन्त्रण गर्न बोरो पेस्ट र बोरो मिक्स्चर छर्किने गरेका छन् । यसो गर्दा स्याउको बोटमा सङ्क्रमण कम हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । किसानले हलुका घाउमा बोरो पेस्ट र बोटको पूरै भागमा छर्किनुपरे बोरो मिक्स्चर प्रयोग गर्ने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग