
बागलुङ । बाइसेचौबिसे राज्य हुँदा भुरे राजाले राज्य सञ्चालन गरेको निसीखोला गाउँपालिका–७ राजकुटस्थित नरसिंहकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी पूर्वाधार निर्माण शुरु गरिएको छ । गण्डकी प्रदेश सरकार र गाउँपालिकाले पूर्वाधार निर्माणमा लगानी गर्दै आएका छन् ।
पूर्वाधार निर्माण शुरु र प्रचारप्रसार बढेपछि पछिल्लो समय यहाँ आन्तरिक पर्यटक समेत बढ्दै गएका छन् । नरसिंहकोटमा भौतिक पूर्वाधार निर्माणलाई पनि थप व्यवस्थित र पर्यटनमैत्री बनाउने गरी काम थालिएको वडा नम्बर ७ का अध्यक्ष दीपक कुँवर (दिपु) ले बताउनुभयो ।
बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारको नजिक रहेको यहाँ पछिल्लो समय आन्तरिक पर्यटक बढ्न थालेका छन् । बुर्तिबाङबाट बसमा एक घण्टा यात्रा गरेपछि नरसिंहकोट पुग्न सकिन्छ । यद्यपि सवारीका लागि सालझण्डी–ढोरपाटन सडकको विकल्प नभएकाले लामो बाटो तय गर्नुपर्ने अवस्था छ । बुर्तिबाङबाट अधिकांश पर्यटक पैदल नै त्यहाँ पुग्ने गरेका छन् ।
नरसिंहकोटबाट १५ देखि २० मिनेटको पैदल दूरीमा रहेको टापुमा पनि पर्यटकको आकर्षण बढेको छ । यस क्षेत्रको प्रवद्र्धनका लागि गाउँपालिका र प्रदेश सरकारले निरन्तर लगानी गर्दै आएको वडाध्यक्ष कुँवरको भनाई छ । उहाँले अघिल्लो जनप्रतिनिधिको पहलमा पर्यटनपार्क, पाटी, पौवा, मन्दिर व्यवस्थापन, पदमार्ग, घेराबार, झाडी व्यवस्थापन, पुराना संरचनाको पुनःनिर्माण लगायत काम भएको भन्दै अहिले पनि ती कामलाई पूर्णता दिन थालेको कुँवरको भनाई छ ।
चालु आर्थिक वर्षमा गण्डकी प्रदेशले विनियोजन गरेको १० लाख र निसीखोला गाउँपालिकाले विनियोजन गरेको सात लाख रुपैयाँले भौतिक संरचना थप्दै गएको उहाँले बताउनुभयो । ‘गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गरेर काम गर्दै आएको छ भने प्रदेश सरकारले पनि लगानी गरेको छ’ उहाँले भन्नुभयो– १यस वर्ष गाउँपालिकाले विनियोजन गरेको रकमबाट कालिका मन्दिर निर्माण र गण्डकी प्रदेशले छुट्याएको बजेटले पर्खालसहितको घेराबार लगाउन थालेका छौँ । खानेपानीको व्यवस्थापन गर्नुपर्ने छ , अन्य धेरै पूर्वाधार निर्माण भइसकेका छन् ।’
नरसिंहकोटमा दैनिक एक सयभन्दा बढी पर्यटक पुग्ने गरेका छन् । अझ बिदाका दिन पर्यटकको सङ्ख्या बढ्ने गरेको छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले पर्यटन विकासमार्फत गाउँपालिकालाई समृद्ध बनाउनसक्ने भन्दै त्यही अनुसार वर्षेनी लगानी भइरहेको बताउनुभयो ।
नरसिंहकोट ऐतिहासिक ठाउँ र यसको धार्मिक महत्व रहेको हुँदा गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेर काम गरेको उहाँको भनाइ छ । पर्यटकलाई पैदल यात्रा गर्नका लागि थप सहज होस् भन्ने उद्देश्यले रेलिङसहितको पदमार्ग निर्माण सकिएको उहाँले बताउनुभयो ।
‘नरसिंहकोटसहित पालिकाका अन्य ठाउँमा पनि हामीले लगानी गर्दै आएका छौँ, यहाँ पूर्वाधार निर्माण गरी प्रचारप्रसारलाई तीव्र बनाएपछि अहिले पर्यटकको आगमन पनि राम्रो छ’ अध्यक्ष घर्तीमगरले भन्नुभयो– ‘सानो लगानी गाउँपालिकाबाट र ठूलो लगानी प्रदेश सरकारको सहयोगमा भइरहेको छ ।’
नरसिंहकोटमा अहिले पनि मन्दिर छ । जहाँ हरेक वर्षको नवदुर्गाको दिन धुमधामका साथ पूजाआजा गरिन्छ भने पशुपक्षीको बलि पनि चढाइने गरिन्छ । मन्दिरमा वैशाखे पूर्णिमा, मङ्सिरे पूर्णिमालगायत चतुर्दशी पूर्णिमामा सोत पूजाआजा हुने गर्दछ । यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । बागलुङ, प्यूठान, गुल्मी लगायत विभिन्न स्थानबाट मानिस पूजाआजा गर्न पुग्ने गर्दछन् ।
यहाँबाट बुर्तिबाङ बजार स्पष्टरुपमा अवलोकन गर्न सकिन्छ भने बागलुङको विभिन्न स्थान, म्याग्दी, प्यूठान, गुल्मी, रोल्पा, रुकुम, पाल्पा, अर्घाखाँची लगायत जिल्ला देख्न सकिन्छ । साथै धौलागिरि हिमाल लगायत दर्जनौँ हिमशृङ्खला र उच्च मनोरम पहाडी भेगको अवलोकन गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग