+

कांग्रेसद्वारा अध्यक्ष नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली कांग्रेसले  प्रधानमन्त्री बन्न प्रस्ताव गरेको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार बिहान अध्यक्ष नेपालको कोटेश्वरस्थित निवास पुगेर उहाँलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभएको हो ।  कांग्रेस सभापति देउवा र पूर्वप्रधानमन्त्री नेपालबीच मुलुकको अवस्था र राजनीतिको सामसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे करिब डेढ घण्टा छलफल भएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्वस्थ भइ केही दिनदेखि निवासमै आराम गरिरहनुभएको छ । कांग्रेस सभापति देउवा अध्यक्ष नेपालको स्वस्थ उहाँसँगै बुझ्न कोटेश्वर पुग्नुभएको हो । भेटघाटमा कांग्रेस सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेइमान र धोकेबाज रहेको भन्दै अध्यक्ष नेपाललाई  प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभएको उहाँ निकट स्रोतले बनाएको छ । स्रोतका अनुसार कांग्रेस सभापति देउवाले अध्यक्ष नेपाललाई ‘प्रचण्ड धोकेबाज हुन, तपाइँ प्रधानमन्त्री बन्ने बेला गठबन्धन फुटाए, अब माओवादी बाहेकको गठबन्धन बनाउनुपर्छ, प्रधानमन्त्री तपाइँ बन्नुस्, ओलीलाई म मिलाउँछु’ भन्नुभएको स्रोतको भनाई छ । 

एकीकृत समाजवादीका अध्यक्ष नेपाल पछिल्लो समय राजनीतिको केन्द्र बन्नुभएको छ । एकीकृत समाजवादीको प्रतिनिधिसभामा १० जना मात्रै सदस्य रहे पनि गठबन्धन बनाउने र टिकाउने अध्यक्ष नेपालको भूमिका निर्णायक हुन सक्ने देखिएको छ । त्यही कारण अहिलेसम्म नेकपा एमालेका ओली समेत पूर्वप्रधानमन्त्री नेपाललाई भेटन उहाँको निवासमै पुग्नु भएको हो । अध्यक्ष नेपालको निवास छिर्न नचाहने ओली पछिल्लो समय त्यही पुग्नुलाई राजनीतिमा अर्थपूर्ण मानिएको छ । ओली मंगलबार साँझ उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहित नेपाल निवास पुग्नुभएको हो ।    

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेससँगको गठबन्धन भत्काएपछि अध्यक्ष नेपालाई भेट्न २ पटक उहाँको निवासमा पुगिसक्नुभएको छ । प्रधानमन्त्री दाहाल पछिल्लो पटक मंगलबार सांझ एमाले अध्यक्ष ओलीसहित नेपाल निवास पुग्नुभएको हो । प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीसहितको टोली अध्यक्ष नेपालसँगको छलफल सकाएर निस्किए लगतै उहाँलाई भेट्न राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पुग्नु भएको थियो । राप्रपा अध्यक्ष लिङ्देनले पनि अध्यक्ष नेपाललाई कांग्रेससहितको गठबन्धन बनाएर प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभएको स्रोतको भनाई छ ।  

तर एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने कांग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्द्नको प्रस्ताव सुने पनि त्यसबारे उहाँहरुलाई कुनै प्रतिक्रिया जनाउनुभएको छैन । 
 
प्रधानमन्त्री दाहाल एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादी अध्यक्ष नेपाललाई वाम एकताको प्रसङ्गसहित नयाँ गठबन्धनमा आउन आग्रह गर्नुभएको छ । पूर्वप्रधानमन्त्री नेपाल वाम एकताको पक्षमा रहे पनि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीको भूमिका तथा शैलीप्रति त्यति विश्वस्त भने हुनुहुन्न । त्यही कारण अध्यक्ष नेपालले  प्रधानमन्त्री दाहाल  र एमाले अध्यक्ष ओलीको प्रस्तावलाई सजिलै सहर्ष स्वीकार्न सक्नुभएको छैन । अध्यक्ष नेपालले उहाँहरुले राखेको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै त्यसबारे पार्टीमा छलफल गरेर निर्णय दिने जवाफ दिनुभएको छ । 

नयाँ गठबन्धनमा जाने वा नजाने ? भन्नेबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक अहिले भइरहेको छ । एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा बसेको बैठकमा अस्वस्थ अवस्थामा रहे पनि अध्यक्ष नेपाल समेत सहभागी हुनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै