
काभ्रेपलाञ्चोक। २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा बागमती प्रदेशमै सबैभन्दा बढी जनधनको क्षति पुर्यायो । घटनाको करिब सात महिनापछि सरकारले यहाँ सबैभन्दा बढी जनधनको क्षति भएको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आकलन शुरु गरेको छ ।
गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारबाट बुधबार यसको शुरुआत गर्नुभएको छ । उहाँले उक्त पालिकाको वडा नं २ का तीन जना पीडितलाई क्षति आकलन निस्सा प्रदान गर्दै विस्तृत क्षति आकलनको शुरुआत गर्नुभएको हो । त्यस दिन पीडित स्थानीय धनसिंह लामा, राजन बोहोरा क्षेत्री र शुभद्रा सेञ्चुरीले गृहमन्त्रीबाट निस्सा प्राप्त गर्नुभयो । उक्त घटनामा अतिप्रभावित रोशी गाउँपालिकाबाट यस कार्यको शुभारम्भ गरिएको र अब प्रभावित सबै पालिकामा यसरी नै क्षति आकलन गर्नेगरी गृहमन्त्री लेखकले गृहकार्य गर्न निर्देशनसमेत दिनुभयो । पीडितलाई निस्सा प्रदान गर्नुअघि लेखकले बाढीपहिरो प्रभावित नारायणटारको अवलोकन गर्नुभएको थियो ।
गृहमन्त्री लेखकले प्रक्रियागत रूपमा बाढीपहिरोबाट प्रभावितको पुनर्निर्माणको कार्य सुरु गर्न ढिलो भएको स्वीकार गर्दै उहाँले अस्थायी आवास निर्माणका लागि दुई चरणमा रु ५० हजार र स्थायी घर निर्माणका लागि सरकारको तर्फबाट क्रमशः अनुदान उपलब्ध गराउने जानकारी गराउनुभयो । सरकारले बुधबार मात्र अस्थायी आवास निर्माणका लागि काभ्रेमा रु सात करोड ३५ लाख निकासा गरेको छभने काभ्रेपलाञ्चोकमा विस्तृत क्षति आकलनका लागि १८ जना प्राविधिक खटाइएको छ । यसको सहजीकरणका लागि स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलाई विशेष रूपमा ध्यानाकर्षण गराइएको छ ।
रोशी गाउँपालिकामा पाँच सय ६३ घर क्षति भएका छन् । रोशीमा तीनवटा क्लस्टर बनाएर क्षति आकलनको काम सुरु गरिएको छ । यसमा प्राविधिकले क्षति हेरेर विवरण निर्धारण गरेपछि मात्र सोहीअनुसार गाउँपालिकाले काम सुरु गर्ने छ ।
बढीपहिरोबाट विस्तृत क्षति आकलनपछि जिल्लामा पुनर्निर्माणको काम सुरु गर्न सहज भएकाले अब यसले गति लिनेमा आफू विश्वस्त रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल बताउनुहुन्छ । “अब प्रभावित क्षेत्रका निजी घरका साथै पुल, भौतिक संरचना, तटबन्धनलगायत पूर्वाधार निर्माणमा पनि सरकारले सहयोग गर्न सहज हुने विश्वास गरेका छौँ”, ढकालले भन्नुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ दिनेश भट्ट पीडितले अस्थायी र स्थायी आवास निर्माणको काम एकैपटक गर्न चाहेमा त्यो पनि सम्भव भएको तर त्यसका लागि विस्तृत क्षति आकलनको काम भने अनिवार्य हुनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसअघि स्थानीय तहले प्राधिकरणको पोर्टलमा प्रविष्ट गरेको र अबको पूर्ण क्षति आकलनबाट एकीन तथ्याङ्कबाट अझ प्रभावकारी राहत÷अनुदानका लागि सहज हुनेछ ।”
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले आउँदो वर्षाअघि रोशीमा जाने सडक निर्माणमा जोड दिनसके मात्र अस्थायी र स्थायी आवास निर्माण गर्न सकिने बताउँदै फलामेटारमा बाढीले बगाएर केही बाँकी रहेको पुललाई जोगाउन नसके आगामी दिन अझ कठिन हुने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा ८१ जनाको निधन भएको छभने छ जना अझै बेपत्तामा सूचीकृत भएका छन् । यहाँ अर्बौँका भौतिक संरचना, पुल, अस्पताल, विद्यालय, सङ्ग्रहालयलगायत बाढीपहिरोले क्षति पुर्याएको थियो । बाढीपपहिरोले जिल्लाको १३ स्थानीय तहमध्ये पनौती नगरपालिकाको रोशी क्षेत्र तथा रोशी र बेथानचोक गाउँपालिकमा सबैभन्दा बढी जनधनको क्षति पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै