
झापा । झापामा प्रहरी चौकी र वडा कार्यालयकै जग्गा भूमाफियाका नाममा दर्ता भएको पाइएको छ । शिवसताक्षी नगरपालिका–१० को कार्यालयलगायत सार्वजनिक प्रयोजनमा रहेको जग्गा भूमाफियाले हात पारेपछि स्थानीय जनप्रतिनिधि र राजनीतिक दल अहिले सरकारी जग्गाको संरक्षणमा जुटेका छन् ।
पाँच दशकदेखि कनकाई सिँचाइ आयोजनाको भोगाधिकार रहेको ११ बिगाहा सात कट्ठा जग्गामध्ये कित्ता नम्बर १८२ को चार बिगाहा जग्गामा वडा नम्बर १० को कार्यालय भवन, प्रहरी चौकी, कभर्ड हल र फुटबल मैदान रहेको छ । वडाध्यक्ष हर्क सिगुका अनुसार विसं २०४६ जेठ २९ गते भूपाल किरातीको नेतृत्वमा गठित सुकुम्बासी समस्या समाधान आयोगबाट दमक वडा नम्बर ५ का केशरबहादुर खड्काले मिलेमतो गरेर उक्त चार बिगाहा जग्गा आफ्नो नाममा दर्ता गराएका थिए । सरकारी स्वामित्वको त्यो जग्गामा खड्काले कहिल्यै भोगचलन गरेको छैन ।
खड्काले त्यो जग्गा विसं २०४७ असोज १ गते लोकमाया खतिवडा, वेदकुमारी बस्नेत र नइद्रप्रसाद भण्डारीलाई बिक्री गरेको जनाइएको छ । तीनै जना व्यक्ति हालसम्म जग्गाको भोगचलन गर्न नआएको वडाध्यक्ष सिगुले बताउनुभयो । नगरपालिकाले त्यो जग्गाको बिक्री रोक्का गरेको छ ।
‘सरकारी स्वामित्वको जग्गा झुक्याएर हत्याएका भूमाफिया अहिले आएर जग्गा फुकुवा गरिदिनु पर्यो भन्दै मालपोत कार्यालयमा पुगेको थाहा भयो’ वडाध्यक्ष सिगु भन्नुहुन्छ– ‘तर, हामी जनप्रतिनिधि र राजनीतिक दल यो जग्गा भूमाफियाको चङ्गुलमा पर्न दिँदैनौँ ।’
पूर्वनगरप्रमुख चन्द्रकुमार शर्माले २०४६ सालको तरल राजनीतिक परिस्थितिमा कर्मचारीसँग मिलेर भूमाफियाले जग्गाको धनीपूर्जा निकालेको बताउनुभयो । उहाँले उक्त जग्गा सरकारी स्वामित्वमा फर्काउन आफ्नो नेतृत्वकालमा पहल गरिएको बताउनुभयो ।
नेपाली कांग्रेसका महाधिवेशन प्रधिनिधि पर्शुराम ढुङ्गानाले सरकारी जग्गा भूमाफियाबाट फर्काउन स्थानीय सबै राजनीतिक दल एकमत रहेको बताउनुभयो । प्रदेश सरकार र सङ्घीय सरकारलाई पनि यस विषयमा ध्यानाकर्षण गराउनुपर्ने उहाँको भनाइ छ ।
जग्गा फुकुवा गर्न लोकमाया खतिवडा, वेदकुमारी बस्नेत र नइद्रप्रसाद भण्डारीका तर्फबाट केही बिचौलिया सक्रिय रहेको वडा सदस्य दीपक पोखरेलको भनाइ छ ।
उहाँले भन्नुभयो– ‘जसले जग्गाको स्वामित्व दाबी गरिरहनुभएको छ, उहाँहरु यो नगरको बासिन्दा होइनन्, उहाँहरुलाई जग्गाको साँध सिमाना पनि थाहा छैन, भोगाधिकार पनि उहाँहरुको छैन, केही बिचौलिया जग्गा फुकुवा गरेर कमाउने दाउमा लागिरहेका छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै