+

चितवनका २ सुधारगृह बन्द गर्न निर्देशन

चितवन । जिल्लामा रहेका २ सुधारगृहलाई स्थानीय प्रशासनले बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासनले अनुगमनमा कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएर गृह मन्त्रालयसँगको आवद्धता नभएको पाइएपछि ती गृहलाई बन्द गर्न निर्देशन दिइएको हो ।


चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमका अनुसार भरतपुर महानगरपालिका–४ मा रहेको मिरा सुधारगृह र सिसाको सुधारगृहलाई बन्द गर्न निर्देशन दिइएको हो । ती गृहले गृहमन्त्रालयसँगको आवद्धता लिएपछि पुनः सञ्चालन गर्न पाउने उहाँले बताउनुभयो । उहाँका अनुसार कार्यालयले जिल्लाका सुधारगृह, पुनःस्थापना केन्द्र र रिकोभरी सेन्टर गरी ११ वटामा अनुगमन गरेको छ ।

अनुगमनमा अधिकांश यस्ता संस्थाले मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएको उहाँले बताउनुभयो । गृहमन्त्रालयबाट आवद्धता लिएर सञ्चालनमा आएका १५  संस्था जिल्लामा भए पनि पछिल्लो समय यो भन्दा बढी भएको पाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार सानो कोठामा धेरै व्यक्ति राखेको, मनोपरामर्श चिकित्सकको सुविधा नभएको, लागुऔषध प्रयोगकर्तालाई परामर्श गर्नुपर्नेमा नगरेको पाइएको छ ।

लागुऔषध प्रयोगकर्ता एक किसिमका बिरामी नै भएकाले राखिएको व्यक्ति सुध्रिएर आउने वातावरण समेत यस्ता केन्द्रहरुमा नरहेको गौतमको भनाइ छ । 
उहाँले भन्नुभयो– ‘अनुगमन गरिएका सुधार केन्द्रमा राखिएका व्यक्तिहरुलाई मानवीय व्यवहार समेत नभएको पाएका छौँ ।’ केन्द्रहरुको भौतिक पूर्वाधार मापदण्डअनुसार नभएको, बिरामीले खाने खानाको साप्ताहिक तालिका नबनाइएको, सेवा बडापत्र नराखिएकोजस्ता समस्या देखिएकाले सुधारका लागि एक साताको समय दिइएको उहाँले जानकारी दिनुभयो ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार अनुमति नलिइ सञ्चालनमा आएका र मापदण्डअनुसार नभएका यस्ता केन्द्रलाई बन्द गरिनेछ । पहिलो चरणमा गरिएको अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका र अनुमति नलिएकालाई बन्द गरिएको हो । 

उहाँले भन्नुभयो– ‘राज्यसँग यो सुविधा दिन्छु भन्ने तर सेवा दिँदा सर्त पूरा नगरेका सबै बन्द गरेर मापदण्ड पूरा गर्न लगाउँछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट