+

भारतले नेपालमा उत्पादित प्लाइउड निर्यात रोक्यो

झापा । भारतले नेपालमा उत्पादित प्लाइउडलाई नाकामा रोकेको छ । प्लाइउड बोकेका ३४ वटा ट्रकलाई भारतस्थित पानीट्याङ्की स्थल भन्सार कार्यालय रानीगञ्जले रोकेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम प्रसाईंले बताउनुभएको छ । 


ती ट्रक दुई साताअघि काँकडभिट्टा नाकाबाट भारत गएका थिए । भारतीय भन्सार कार्यालयले ब्युरो अफ इन्डियन सर्टिफिकेट (बीआइएस) नभएको भनी नेपाली सामानलाई रोकेको प्रसाईंले जानकारी दिनुभयो ।

बिआइएस भारत सरकारको गुणस्तर प्रमाणपत्र हो । भारतले आयात हुने सामान बिआइएस प्रमाणित हुनुपर्ने नयाँ नियम लगाएपछि नेपालबाट प्लाइउड, सिमेन्टलगायत उत्पादनहरुको निर्यात अवरुद्ध भएको छ । काँकडभिट्टा मात्र नभई नेपालका अरु नाकाबाट भारत निर्यात हुने प्लाइउडमा पनि भारतले अवरोध पु-याइरहेको छ ।

‘नेपालबाट प्लाइउड बोकेर भारत गएका ती ट्रकहरु पानीट्याङ्कीस्थित भारतीय भन्सारमा रोकिएका छन्’ अध्यक्ष प्रसाईंले भन्नुभयो– ‘न जान दिएको छ, न स्वदेश नै फर्काउन सकिने अवस्था छ ।’

भारतीय भन्सारले तत्काल नेपाल नफर्काए सामान जफत गरिदिने चेतावनी दिइरहेको प्रसाईंले बताउनुभयो । नेपाली पक्षले ती सामान निर्यातका लागि भारत सरकारलाई जिएसटी करसमेत तिरिसकेको जनाएका छन् ।

नेपालमा ८०  प्लाई उद्योग स्थापना भएका छन् । एउटा उद्योग स्थापनाका लागि न्यूनतम २५ करोड रुपैयाँ लगानी हुने उद्योगीहरु बताउँछन् । नाकामा भारतीय पक्षबाट भइरहेको अवरोध नहटे प्लाइउड उद्योगमा भएको अर्बौं लगानी जोखिममा पर्ने र हजारौँले रोजगारी गुमाउने जनाइएको छ ।

आर्थिक वर्ष २०८० र ८१ मा नेपालबाट  सात अर्ब ४३ करोड रुपैयाँ मूल्य बराबरको प्लाइउड भारत निर्यात भएको थियो । आव २०७९ र ८० मा चार अर्ब ७० करोड र आव २०७८ र ७९ मा  ३५ करोड रुपैयाँ मूल्य बराबरको प्लाइउड भारत निर्यात भएको थियो । 

मेची उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष ऋषि तिम्सिनाले भारतले नेपालबाट सबैभन्दा धेरै निर्यात हुने सिमेन्ट र प्लाइउडमा भन्सार अवरोध हुँदा मुलुकलाई ठूलो आर्थिक क्षति पुगिरहेको बताउनुभयो ।

प्लाइउड नेपाली कच्चा पदार्थमा आधारित र व्यापार घाटा न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने निर्यात वस्तु भएकाले यसको निर्वाध निर्यातको वातावरण बनाउन सरकारले भारत सरकारसँग उच्चस्तरीय सहमति बनाउनुपर्ने तिम्सिनाको सुझाव छ ।

भारतीय भन्सार अवरोध नहटेपछि प्लाइउड उद्योगले कामदारहरुको काम गर्ने अवधि कटौती गर्न थालेका छन् । तिम्सिनाका अनुसार विगतमा २४ घण्टा चल्ने प्लाइउड कारखाना हाल मुस्किलले आठ घण्टा सञ्चालन भइरहेका छन् ।

प्लाइउडको निर्यात अवरोध हटाउन माग गर्दै मेची उद्योग वाणिज्य सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घलाई समाधानका लागि पहल गरिदिन पत्राचार गरेको छ । महासङ्घले नेपाल सरकार, परराष्ट्रमन्त्री र भारतीय राजदूतावाससँग कुराकानी गरिरहेको सङ्घका अध्यक्ष प्रसाईंले बताउनुभयो । 

‘प्लाइउड निर्यात कुनै हालतमा रोकिनु हुँदैन भनेका छौँ’ प्रसाईंले भन्नुभयो, ‘नेपाली उद्योगले बिआइएसका लागि आवेदन भरेको एक वर्ष भइसक्यो । अहिलेसम्म न प्रमाणपत्र दिएको छ, न भन्सार खुला गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट