
तनहुँ । व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दूध उत्पादन गरेबापत पुरस्कृत हुनुभएको छ ।
उहाँले प्रोत्साहन स्वरुप एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको हो । गण्डकी प्रदेशको ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’अन्तर्गत पुरस्कार प्राप्त गरेपछि उहाँले गौरवान्वित महसुस गरेको प्रतिक्रिया दिनुभयो ।
पाँच वर्ष अघिदेखि कृषि पेशामा लाग्नुभएका बाँस्तोलाले यातायात व्यवसाय छाडेर व्यावसायिक रूपमा गाईपालन तथा बाख्रापालन गर्नुभएको छ । उहाँले कोभिड १९ का बेला लामो समयसम्म बन्दाबन्दी (लकडाउन) भएपछि गाउँ फर्किएर पशुपालन शुरु गर्नुभएको थियो ।
उहाँका फार्ममा हाल उन्नत प्रजातिका २२ वटा जर्सी तथा होलस्टेन जातका गाई छन् । जसमध्ये १५ लैना गाईबाट दैनिक दुई सय लिटर दूध उत्पादन गरी मासिक ४ लाख रुपैयाँको दूध बिक्री गर्ने गरेको बाँस्तोलाले बताउनुभयो ।
गाउँकै बेलबास दुग्ध उत्पादक सहकारीमा दूध बिक्री गरेर खर्च कटाएर मासिक दुई लाख बचत हुने गरेको उहाँले बताउनुभयो । बाँस्तोलाले भन्नुभयो, ‘उत्पादनमा आधारित अनुदानअन्तर्गत पुरस्कार पाएपछि पेशाप्रति गौरव महशुस भएको छ ।’
यातायात व्यवसायभन्दा गाईपालनबाट सन्तुष्टि मिलेको बाँस्तोलाको भनाइ छ । बेलबास दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष केशवबहादुर रानाले उहाँ गाउँमा सबैभन्दा धेरै दूध उत्पादन गर्ने किसान भएको बताउनुभयो ।
गाईको साथै बाँस्तोलाले बाख्रापालनबाट पनि आम्दानी गर्दै आउनुभएको छ । उहाँले ५० वटा बोयर बाख्रा पाल्नुभएको छ । गाई र बाख्रा दुवै थप गरेर हालको आम्दानीलाई दोब्बर पार्ने सोच बनाएको बाँस्तोलाले बताउनुभयो । सरकारलाई अनुदान दिने प्रक्रिया बदल्नु जरुरी रहेको किसान बाँस्तोलाको सुझाव छ ।
व्यवसाय गरेको कागज बनाउने, अनुदान लिने र अनुदान पाएपछि पेशा छाड्ने गरेकाले अनुदानको दुरुपयोग भएको बाँस्तोलाको गुनासो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय