
झापा । एशियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ ।
एशियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत उक्त खण्डमा सडकलाई एसियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ । एभ्रास्कन कालिका जेभीले निर्माणको ठेक्का पाएको छ ।
काँकडभिट्टा–लौकही सडक योजना )पूर्वी खण्ड) दमक कार्यालयका आयोजना प्रमुख ई सुनिलबाबु पन्तले हालसम्ममा सडक स्तरोन्नतिको प्रगति १५ प्रतिशत मात्र रहेको बताउनुभयो । उहाँका अनुसार निर्माण अवधिका आधारमा हालसम्ममा कम्तीमा २० प्रतिशतभन्दा धेरै प्रगति भइसक्नुपर्ने थियो ।
एभ्रास्कन कालिका जेभीले सडक निर्माणका लागि २०८० कात्तिक २ गते सरकारसँग सम्झौता गरेको थियो भने २०८३ माघ १९ गतेसम्ममा निर्माण कार्य सम्पन्न हुनुपर्ने सम्झौतामा उल्लेख छ । आयोजना प्रमुख पन्तले ठेक्का लिएको कम्पनीलाई निर्माण कार्यमा गति बढाउन र लक्ष्य भेटाउन निर्देशन दिइएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ जेठ ९ गते कमल गाउँपालिकाको पाडाजुँगीमा उक्त सडकको विधिवत् शिलान्यास गर्नुभएको थियो ।
सडक निर्माण सम्झौताको पहिलो वर्षमा १२ प्रतिशतमात्र प्रगति भएको र यस वर्ष पनि उल्लेखनीय प्रगति हुन नसकेमा आउँदो एक वर्ष १० महिनाभित्रमा आयोजना सम्पन्न गर्न कठिन हुनेछ । “अहिले काम गर्न मौसम अनुकूल पनि छ”, एभ्रास्कन कालिका जेभीलाई कामको गति बढाउन दबाब दिँदै पन्तले भन्नुभयो, “निर्माण कम्पनीले जुन रफ्तारमा काम गर्नुपर्ने हो, गरेको छैन । हामीले दबाब दिइरहेका छौँ ।”
हाल कल्भर्ट, पुल र माटो भर्ने काम भइरहेको छ । हालसम्म एक सय ४३ वटा कल्भर्टमध्ये ९३ वटाको काम भएको छ । साना पुल १८ मध्ये १७ वटाको निर्माण भइरहेको छ । निर्माणकार्यमा कम्पनीले अत्याधुनिक उपकरणसमेत प्रयोग गरिरहेको छ । हालसम्ममा पुलको निर्माण प्रगति १३ प्रतिशतमात्र छ । । एशियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारसँगको साझेदारीमा रु ३४ अर्ब ९० करोडमा सडकसहित कल्भर्ट र साना पुलको ठेक्का लगाइएको हो ।
कनकाई, बिरिङ र निन्दाखोलाका पुलको ठेक्का अर्कै कम्पनीले पाएको छ । बर्खा लागेपछि काम गर्न कठिन हुने भएकाले त्यसअघि कामको गति बढाउन निर्देशन दिइएको काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) दमक कार्यालयका प्रमुख पन्त बताउनुहुन्छ । चालू आर्थिक वर्षमै कम्तीमा १० किलोमिटर राजमार्ग कालोपत्र गर्ने आयोजनाको लक्ष्य छ ।
यो सडक खण्डको चारआली जङ्गलमा ‘इलिफेन्ट अन्डर पास’को निर्माण कार्यसमेत धमाधम भइरहेको आयोजनाले जनाएको छ । सरकारको वन्यजन्तुमैत्री पूर्वाधार भौतिक संरचना निर्माण मापदण्डअनुसार ‘इलिफेन्ट अन्डर पास’ निर्माण भइरहेको आयोजना प्रमुख पन्तले जानकारी दिनुभयो ।
उहाँका अनुसार ‘इलिफेन्ट अन्डर पास’ साढे छ मिटर उचाइ र १५ मिटर लम्बाइको बनिरहेको छ । जुन निर्माणाधीन सडकभन्दा डेढ मिटर अग्लो हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- उर्जा राज्यमन्त्री तामाङ बर्खास्त
- शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
- २२ औँ दिनपनि शिक्षकहरु सडकमा
- हाजिर जमानीमा रिहा भए तीनकुने घटनाका थप १० आरोपी
- माओवादीले भन्यो- यो सरकारलाई सत्तामा बस्ने नैतिक अधिकार छैन
- भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले पेन्सन नपाउने
- राजपत्र अनङ्कित कर्मचारीद्वारा आन्दोलन घोषणा, सेवा ठप्प पार्ने चेतावनी
- कश्मीरमा मारिएका सुदीप आमा, बहिनी र ज्वाइँलाई लिएर घुम्न गएका थिए
- तराईमा तातो हावाको लहर चल्नसक्ने चेतावनी
- अवरूद्ध दाउन्ने सडक दुईतर्फी सञ्चालनमा