
पर्वत । धार्मिक एवं पर्यटकीय महत्वको भुमेथानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लागिएको छ । त्यसको लागि पर्वतको जलजला गाउँपालिका–७ धाइरिङस्थित ४ करोड रुपैयाँका पूर्वाधार निर्माण गर्न थालिएको छ ।
सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले सङ्घीय सरकारको ४ करोड रुपैयाँमा बहुवर्षीय ठेक्का लगाएर विभिन्न संरचना निर्माण गर्न थालेको जनाएको छ । भुमेथान, शिवालय क्षेत्र पूर्वाधार निर्माण योजनामार्फत पर्यटकीय संरचना निर्माण गर्न लागेको कार्यालयका इन्जिनियर गोपीचन्द्र आचार्यले जानकारी दिनुभयो ।
योजनाअन्तर्गत भुमेथान परिसरमा ग्यावियन तथा मेसिनरी पर्खाल निर्माण, ढुङ्गा बिच्छ्याउने, शौचालय निर्माण र भुमेथानबाट बराह शिवालय मन्दिर जानका लागि पदमार्ग निर्माण गरिने छ । पाँच सय मिटर लामो त्यो पदमार्गको चौडाइ ३ मिटर हुनेछ ।
यसैगरी शिवालय क्षेत्रमा टेवा पर्खाल निर्माण गर्ने योजना रहेको इन्जिनियर आचार्यले जानकारी दिनुभयो । १८ महिनामा निर्माण सम्पन्न गर्ने कार्यालयको लक्ष्य रहेको उहाँले बताउनुभयो । गौशाला, देवालय शिवालय र भुमेथान क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने उद्देश्यले पर्यटकीय पूर्वाधार निर्माण थालिएको जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । गाउँपालिकाको मुख्य धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ ।
धाइरिङ भुमेथानस्थित भुमेठाकुरको दर्शन, पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक जनविश्वासले वर्षेनी करिब ५० हजार रुपैयाँ भन्दा बढी भक्तजन यहाँ आउने उहाँले बताउनुभयो । अध्यक्ष आचार्यले भन्नुभयो– ‘यस क्षेत्रका धार्मिकस्थलमा पूर्वाधार निर्माण गरी गौशाला, देवालय, शिवालय, भुमेथान, कालाञ्जर पर्वत र जलजला क्षेत्रलाई जोडेर धार्मिक सर्किटका रूपमा विकास गर्ने पालिकाको योजना छ ।’
सङ्घ, प्रदेश र स्थानीय तहको लगानीमा अहिले कालाञ्जर, जलजला र गौशाला क्षेत्रमा पनि करिब ८ करोड रुपैयाँ भन्दा बढी लगानीमा पूर्वाधार निर्माण सुरु गरिएको उहाँले बताउनुभयो । प्रसिद्ध धार्मिकस्थल भुमेथानलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने उद्देश्यले ११ करोड रुपैयाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर पहिलो चरणमा सङ्घीय सरकारले ४ करोड रुपैयाँ स्वीकृत गरी योजना अघि बढेको जलजला गाउँपालिका–७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताउनुभयो ।
भुमेथान क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण भएपछि धार्मिक पर्यटक आगमनमा थप वृद्धि हुने अपेक्षा गरिएको वडाध्यक्ष आचार्यले बताउनुभयो । भुमेथानको दर्शन गर्नका लागि पर्वत, बागलुङ, म्याग्दी, कास्की लगायत जिल्लाका साथै यस क्षेत्रबाट बसाइँसराइ गरेर बाहिर गएकाहरूको उल्लेख्य सहभागिता रहने गर्छ ।
यहाँ हरेक मङ्गलबार र शनिबार पूजाआजा गरिँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय