
भोजपुर । भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ–९ लेखर्कका स्थानीयवासी व्यावसायिक मौरीपालनमा जुटेका छन् ।
मौरीपालनसम्बन्धी प्राविधिकसँगै आधुनिक ज्ञान पाएपछि परम्परागत रूपमा मौरीपालन गरिरहेका किसान आधुनिक मौरीपालनमा जुटेका हुन् । आधुनिक मौरीपालनको विषयमा आवश्यक ज्ञान दिएर व्यावसायिक मौरीपालनमा लाग्न वडाले आवश्यक सहयोग गरेपछि सहजता भएको स्थानीयको भनाइ छ । यहाँ मौरीको प्रशस्त सम्भावना रहेकाले किसानलाई व्यावसायिक मौरीपालनमा लाग्न वडाले आवश्यक ज्ञान, सीप दिँदै आएको छ ।
मौरीसम्बन्धी आवश्यक तालिम पाएपछि व्यावसायिक मौरीपालनमा लाग्न सहजता भएको स्थानीय मौरीपालक किसान माधवप्रसाद चौलागाईँले बताउनुभयो । विगतमा परम्परागत मुढेघारमा मौरीपालन गरिरहेको भए पनि अहिले आधुनिक घारमा मौरीपालन थालेको उहाँले जानकारी दिनुभयो । दुई चरणको तालिममा सहभागी भएसँगै आफैँले आधुनिक घार निर्माण गर्न सक्ने सीप हासिल गरेको उहाँको भनाइ छ । ‘मैले व्यावसायिक रूपमा मौरीपालन गरिरहेको छु’ उहाँले भन्नुभयो– ‘विगतमा मुढेघारमा मौरी पाल्दै आएको थिएँ । एक्काइस दिने मौरीपालनसम्बन्धी तालिम लिएपछि अहिले आधुनिक तरिकाले पालन थालेको छु ।’
मौरीपालनसम्बन्धी तालिम पाएपछि व्यावसायिक रूपमा लाग्न टेवा पुगेको स्थानीयवासी अमृत राईले बताउनुभयोे । आधुनिक रूपमा मौरीपालन गरेर आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । तालिमका क्रममा मौरीपालनसम्बन्धी आवश्यक ज्ञान पाएको उहाँले बताउनुभयो । आफूसँगै अहिले १५ घार मौरी रहेको उहाँले जानकारी दिनुभयो । घरेलु तथा साना उद्योग कार्यालय र वडाको पहलमा २० जना मौरीपालक किसानलाई आवश्यक प्राविधिक ज्ञानसँगै आधुनिक मौरीघार निर्माणको तालिम दिइएको हो ।
यहाँका अधिकांश किसानले परम्परागत रूपमा मौरीपालन गरिरहेकाले उनीहरूलाई आधुनिक मौरीपालनमा जोड्न वडाले आवश्यक काम गरिरहेको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताउनुभयो । खेतबारीमा रासायनिक मल प्रयोगका कारण मौरी मासिने खतरा बढेकाले रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्नमा स्थानीयले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । वडाले क्रमशः रासायनिक मलको प्रयोग न्यूनीकरण गर्नमा भूमिका खेलिरहेको उहाँले जानकारी दिनुभयो । पराम्परागत रूपमा हुँदै आएको मौरीपालनलाई आधुनिक प्रविधिमा जोड्न तालिमले सहयोग पुग्ने उहाँको भनाइ छ ।
‘लेखर्क मौरीपालनका लागि निकै राम्रो क्षेत्र हो’ वडाध्यक्ष माङ्गपाहाङ्गले भन्नुभयो– ‘किसानले परम्परागत रूपमा मौरीपालन गरिरहेका छन् । पराम्परागत रूपमा गरिँदै आएको मौरीपालनलाई व्यावसायिकसँगै प्रविधिमैत्री बनाउन जोड दिएका छौँ । मौरीपालनबाट स्थानीयवासीको आर्थिक अवस्था सुधार गर्ने लक्ष्य छ । हामी मौरीपालनको स्रोत केन्द्रका रूपमा विकास गर्न लागिपरेका छौँ ।’
मौरीपालक किसानलाई लक्षित गरेर आफ्नो वडामा दुई चरणको तालिम सञ्चालन गरिएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालयमार्फत वडाको पहलमा किसानलाई तालिम दिइएको हो । वडाका चार सय ६९ घरपरिवारमध्ये दुई सय ५० बढी किसानले मौरीपालन गरिरहेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो । ’वडामा आर्थिक विकासको सम्भावना खोजिरहेका छौँ, किसानलाई कसरी आयआर्जनमा जोड्न सकिन्छ भनेर वडाले आवश्यक काम गरिहेको छ । धेरै किसानको रोजाइमा रहेको मौरीपालनलाई व्यावसायिकता दिन हामीले जोड दिएका छौँङ वडाध्यक्ष माङ्गपाहाङ्गले भन्नुभयो ।
मौरीपालन किसानलाई लक्षित गरेर २१ दिनसम्म सञ्चालन गरिएको तालिममा मौरीको आधुनिक घार निर्माण, माटेघार निर्माण, कृत्रिम रानी बनाउने, एक घारबाट अर्को घारमा मौरी स्थानन्तरण गर्ने, चिसो र झरीको मौसममा मौरीलाई कसरी बचाउने लगायत प्राविधिक ज्ञान प्रदान गरिएको प्रशिक्षक जीवनाथ बरालले जानकारी दिनुभयो ।
सहभागी २० अगुवा किसानलाई अभ्यास गराएर सीप प्रदान गरिएको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै