
म्याग्दी । बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म ५१ लाख रुपैयाँँ बढी भेटी सङ्कलन भएको छ ।
गत साउनदेखि फागुन १४ गतेसम्म पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले ५१ लाख २२ हजार १ सय ५३ रुपैयाँ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले यो वर्ष भक्तजनको आगमनसँगै भेटी पनि बढेको बताउनुभयो । उहाँका अनुसार गत आव २०८० र ८१ मा ५८ लाख ४० हजार पाँच सय १० भेटी सङ्कलन भएको थियो । यस वर्ष नियमिततर्फ २५ लाख १५ हजार पाँच सय ४७ तथा मेलापर्व र विशेष अवसरमा गरी २६ लाख ६ हजार ६ सय ६ रुपैयाँ भेटी सङ्कलन भएको रेग्मीले जानकारी दिनुभयो ।
बुधबारको महाशिवरात्रि पर्वमा चार लाख ३३ हजार सात सय ७४, मङ्सिरको बालाचर्तुदशीमा ६ लाख ६१ हजार दुई सय ९४ र साउने सोमबारको मेलामा १५ लाख ११ हजार पाँच सय ३८ रुपैया भेटी सङ्कलन भएको कोषका कोषाध्यक्ष कुमारी पुनले जानकारी दिनुभयो ।
शिवरात्रि पर्वको भेटी आज बिहान कोषका पदाधीकारी, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा गनेर सार्वजनिक गरिएको हो । अन्य शीर्षकमा २१ लाख ४२ हजार पाँच सय २९ सहित कोषले साउनदेखि हालसम्म ७२ लाख ६४ हजार ६ सय ८२ रुपैयाँ आम्दानी गरेको कोषका कार्यालय सचिव राम बानियाँले बताउनुभयो ।
मन्दिरको आम्दानी कार्यालय, पूजा व्यवस्थापन, मन्दिरका पुुजारी, ज्येष्ठ नागरिकको आश्रमका भान्सेको तलबका साथै संस्कृत विद्यालय सञ्चालनमा परिचालन गरिएको कोषले जनाएको छ । गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिक रूपमा गणना गरेर सार्वजनिक गर्ने गरिएको सचिव बानियाँले बताउनुभयो ।
नियमित पूजाबाट तथा महायज्ञबाट सङ्कलन भएको भेटी, तीर्थयात्रीद्वारा दिइएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब ११ करोड रुपैयाँको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।
उहाँका अनुसार धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका हुन् ।
कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ ।
हिन्दूधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्ने गर्दछ । साथै यहाँ दैनिक नित्य पूजाआजा हुने गर्दछ ।
गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै