
काभ्रे । अरनिको राजमार्गअन्तर्गतको निर्माणाधीन धुलिखेल–खावा सडकको ठेक्का रद्द भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्द गरेको हो ।
कार्यालयले आज सार्वजनिक सूचनामार्फत विस्तारको क्रममा रहेको ४ किलोमिटर दूरीको सडकको ठेक्का रद्द गरिएको जनाएको छ ।
कार्यालयको मङ्गलबार बसेको बैठकले सडकको ठेक्का रद्द गर्ने निर्णय गरेको थियो । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको गौरी पार्वती निर्माण सेवा प्रालि नामक कम्पनीले विसं २०७९ जेठ २० मा २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी २० करोड १९ लाख ४६ हजार ५ सय १ रुपैयाँमा ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि निर्माण सकेको थिएन । पछिल्लो वर्षदेखि सडकखण्डको निर्माणको काम ठप्पप्राय नै थियो ।
सडक उपभोक्ताले पटकपटक गुनासो गरेपछि तथा यात्रुले सास्ती बेहोरेपछि संसद्को पूर्वाधार समितिले समेत अनुगमन गरेको थियो । सडक डिभिजनको ताकेतापछि पनि ठेकेदार कम्पनीले निर्माणमा आलटाल गरेपछि पछिल्लेपटक गत माघ १९ गते पुनः स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कम्पनीले लिखित स्पष्टीकरण दिए पनि सन्तोषजक, भरपर्दो विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगिएको हो । ‘अब प्रक्रिया पुर्याएर पुनः एक दुई सातामै पुनःठेक्का खोल्नेछौँ, भौतिक एवं वित्तीय प्रतिशतका आधारमा हेरफेरसमेत हुनेछ”, कार्यालयका प्रमुख सुमन योगेशले भन्नुभयो । उहाँका अनुसार हालसम्म २५ प्रतिशत वित्तिय प्रगति भएको छ ।
हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेन–वाल लगाउने काम गरिएको छ भने जिपलाइनदेखि तल खावासम्मको करिव सडकमात्रै भत्काइएको तर एक किलोमिटर भागमा कटिङ नै बाँकी रहेको छ । गत जेठमा धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम शुरु गरिए पनि बर्षामा सबै बगाएर खण्डहरझैँ बनाएको थियो ।
समयमै निर्माण सम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीका यात्रुले दुई वर्षदेखि निकै सास्ती खेप्दै आउनुपरेको छ । सडक निर्माणको काम समयमा नसकिँदा पुनःनिर्माणका लागि भत्काइएको सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते भएका छन् ।
केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्रे गर्न लागिएको थियो । सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने योजना बनाएको हो ।
अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाकाअर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछाप पुग्ने यही सडक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा
- संसदमा देउवा र प्रचण्ड अनुपस्थित हुनेभएपछि ओलीको सम्बोधन स्थगित
- २४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन निरन्तर
- विनाशकारी भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
- आज भूकम्प स्मृति दिवस
- संसद्को अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने
- तराईमा तातो हावा , तीन प्रदेशमा वर्षाको सम्भावना