
झापा । अर्जुनधारा जलेश्वरधाममा कोशी प्रदेशका २५ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिने भएको छ । धामले प्रदेशका १४ वटै जिल्लाका १३७ वटा पालिकामा सामूहिक विवाह गर्न इच्छुक विपन्न परिवारका जोडीको सिफारिस गरिदिन पत्राचार गरेको धाम समितिका कोषाध्यक्ष मनोज जोशीले बताउनुभयो ।
विश्व हिन्दू परिषद् नेपालसँगको सहकार्यमा अर्जुनधारा नगरपालिका–७ स्थित धामको मन्दिर परिसरमा सामूहिक विवाह उत्सवको आयोजना गरिएको हो । उहाँका अनुसार नयाँ वर्ष २०८२ को वैशाख २ गते विवाहको मिति निर्धारण गरिएको छ । वडा कार्यालयले कानुनबमोजिम उमेर पुगेको सिफारिस गरेका आधारमा अभिभावकको उपस्थितिमा जोडीहरुको हिन्दू परम्पराअनुसार वैवाहिक कार्यक्रम गरिने धामले जनाएको छ ।
सामूहिक विवाहका लागि ६० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । २५ जोडीको विवाहमा लाग्ने सबै खर्च अर्जुनधाराधाम विकास समितिका अध्यक्ष नवीन गट्टानीले व्यहोर्ने बताउनु भएको छ । उहाँले आफ्नो वैवाहिक रजत वर्षगाँठका अवसरमा उक्त खर्च व्यहोरिदिने बताउनुभएको हो । ‘मैले राम्रो कार्यको सुरुआत होस् भनेर पहिलो वर्षको सम्पूर्ण खर्च व्यहोर्ने भएको हुँ’ धामका अध्यक्ष गट्टानीले भन्नुभयो– ‘अर्को वर्षदेखि मन्दिर आफैंले निरन्तर रुपमा यस उत्सवलाई अगाडि बढाउनेछ ।’
उहाँले सामूहिक विवाहमा वरवधुलाई आवश्यक शृङ्गारिक कपडा, बेहुलीलाई बेहुलाका तर्फबाट लगाइने पोतेसहितको सुनको तिलहरि, गाग्री खड्कुलासहित भाँडावर्तन र शुद्ध साकाहरी खानाको व्यवस्था गरिने बताउनुभयो । विवाहमा हरेक वरवधुका तर्फबाट दश–दश जनाका दरले जन्ती तथा घरगाउँलेलाई उपस्थिति गराउन सकिने जनाइएको छ । विवाहमा दाइजो निषेध गरिएको छ ।
धाम समितिका कोषाध्यक्ष जोशीले विवाहका लागि इच्छुक जोडीका अभिभावकले पालिकाले २० वर्ष उमेर पूरा भएको खुल्नेगरी दिएको सिफारिस पत्रसहित नेपाली नागरिकता वा जन्मदर्ताको प्रतिलिपि र पासपोर्ट साइजको दुईप्रति तस्बिरसहित धाममा सम्पर्क गर्नुपर्ने र धामले तोकेको फाराम भर्नुपर्ने बताउनुभयो । ‘सामाजिक दायित्व पूरा गरी राम्रो कार्य गरौँ भन्ने उद्देश्यले सामूहिक विवाहको आयोजना गरिएको हो’ उहाँले भन्नुभयो– ‘धाम समितिले अर्को वर्षदेखि १०८ जोडीको सामूहिक विवाह गर्ने लक्ष्य लिएको छ ।’
सामूहिक विवाहको आयोजनासम्बन्धी जानकारी पाएर केही जोडीले धाममा नाम टिपाइसकेको उहाँले बताउनुभयो । प्रत्येक विवाहका लागि चाहिने मण्डप र पण्डित छुट्टाछुट्टै व्यवस्था गरिने भएको छ ।
आयोजकले तोकेको समयमा विवाहका लागि धामसम्म जान र घर फर्किन लाग्ने खर्च वरवधु पक्षले नै व्यहोर्नुपर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै