
पर्वत । जलजला गाउँपालिका–९ बनौँमा व्यावसायिक ओखरखेती शुरुवात गरिएको छ ।
गाउँमा बाँझो रहेको जमिन सदुपयोग गर्दै किसानलाई फलफूलखेतीतर्फ आकर्षित गर्ने उद्देश्यले यस वर्षदेखि व्यावसायिक रूपमा ओखरखेती विस्तार गरिएको हो । युवाको पलायन बढेसँगै बाँझो रहेको जग्गाबाट आम्दानी गर्न ओखरखेती गर्न लागिएको जलजला–९ बनौका वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिनुभयो । आलुखेती गर्ने जनशक्तिसमेत नभएपछि बाँझिदै गएको खेतबारी सदुपयोग गर्नका लागि ओखर विस्तार गर्न लागिएको हो ।
चालु आर्थिक वर्षमा परीक्षणका रूपमा १ हजार ५ सय ओखरका बिरुवा रोपिएको छ । मुस्ताङमा रहेको शितोष्ण वागवानी विकास केन्द्र मार्फाबाट बिरुवा ल्याएर किसानलाई वितरण गरिसकिएको छ । गाउँका अधिकांश किसानले आफ्नो जग्गाको क्षेत्रफलअनुसार माग गरेका बिरुवा रोपिसकेको अध्यक्ष पुनले जानकारी दिनुभयो ।
बनौँमा चिसो हावापानी रहेकाले दाँते ओखरको राम्रो सम्भावना रहेको जलजला गाउँपालिकाको कृषि विकास शाखा प्रमुख राजु गौतमले बताउनुभयो । अहिले परीक्षणका रूपमा लगाइएका बिरुवा हुर्कँदै गएमा पुनः अर्को वर्ष किसानको मागका आधारमा खेती विस्तार गरिने उहाँको भनाइ छ ।
दाँते ओखर नगदे बालीका रूपमा रहेको छ । अहिले नेपाली बजारमा छिमेकी मुलुकबाट आयात हुने गर्छ । बजारको पनि समस्या नहुने र किसानलाई मनग्य आम्दानीसमेत हुने भएकाले यस वर्षदेखि ओखरखेतीमा किसानलाई आकर्षण गरिएको वडाध्यक्ष पुनको भनाइ छ । एकपटक लगाएपछि वर्षौँसम्म आम्दानी लिन सकिने तथा दीर्घकालीन आयका लागि दाँते ओखर उत्पादनका लागि पहिलोपटक खेती शुरु गरिएको पुनले बताउनुभयो ।
यहाँ बर्सेनि करोडौँको आलु उत्पादन हुने गर्छ । पछिल्लो समय आलु लगाउने किसान पनि पलायन हुँदै गएपछि खेतबारी बाँझो रहने क्रम बढेकाले वडा कार्यालयले नयाँ जुक्ति अपनाएको हो । समुद्री सतहबाट दुई हजार मिटरभन्दा माथिको उचाइमा दाँते ओखर राम्रो हुने भएकोले झण्डै दुई हजार तीन सय मिटरको उचाइमा रहेको बनौँमा यो प्रयास थालिएको उहाँको भनाइ छ ।
किसानले खाडल खनिसकेपछि मात्र बिरुवा वितरण गरिएको हो । अहिले सबैले विरुवा रोपिसकेका छन् । वडाको करिब १ लाख रुपैयाँ लगानीमा बिरुवा खरिद गरिएको थियो । सरकारी दररेटअनुसार बिरुवा किन्दा धेरै महँगो नपर्ने भएकाले थोरै बजेटमा पनि काम गर्न सकिने पुनले बताउनुभयो । एकपटक लगाएपछि दीर्घकालीन रूपमा आम्दानीको स्रोतका रूपमा ओखरखेतीलाई लिन सकिने भएकाले यसमा किसानको माग पनि बढेपछि वडाले ओखरखेतीमा लगानी गरेको अध्यक्ष पुनले बताउनुभयो ।
सामान्य परिश्रममा नै किसानको आम्दानी बढाउन सक्ने विश्वास वडा कार्यालयको छ । अन्य ठाउँमा जस्तो यहाँ पनि बसाइँसराइको क्रम रोकिएको छैन । यहाँका बाँझो जग्गालाई सदुपयोग गर्नको लागि पनि यो बाली राम्रो हुने जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।
आचार्यले जलजलाको बाँसखर्कमा सुन्तलाजस्तै बनौमा ओखर विस्तार गरिने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै