
काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद फुकुवा गर्न माग भएको छ ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपाका सांसदहरुले सभापति लामिछानेको सांसद पद फुकुवा गर्न माग गर्नुभएको हो । रास्वपा सांसद डोलप्रसाद अर्यालले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर झुट्टा मुद्दा लगाएर फसाउन खोजिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– थुनामा नरहेको बेला लामिछानेको सांसद पद तुरुन्त फुकुवा गर्न सभामुखमार्फत आग्रह गर्दछु ।’
रास्वपाकै सांसद बिनिता कठायतले सभापति लामिछानेलाई हिरासतमा राख्दैमा सहकारी पीडितको रकम फिर्ता भयो त ? भन्दै प्रतिप्रश्न गर्नुभयो । सहकारी पीडितको समस्या समाधानमा बेवास्ता गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
शून्य समयमा सांसदहरुले आ–आफ्नो क्षेत्रमा देखिएका समस्या उजागर गर्नुभएको थियो । सो क्रममा सांसद ठाकुरप्रसाद गेरैले बुटवल–पाल्पा सडकको बाँकी काम समयमै सम्पन्न हुने गरी काम गर्न सुझाव दिनुभयो ।
सांसद तारा लामा तामाङले उखु किसानले समयमै भुक्तानी पाउनुपर्ने माग गर्नुभयो । कञ्चनपुरमा हात्ती आतङ्कका कारण कृषिमा क्षति पुगेको भन्दै उहाँले किसानलाई उचित क्षतिपूर्तिको माग गर्नुभयो ।
सांसद डा तोसिमा कार्कीले ललितपुरका नागरिकले टिपर आतङ्कका कारण दुःख पाइरहेको गुनासो गर्नुभयो । नख्खु–भैँसीपाटी सडकमा ट्याक्टर आतङ्कले दुर्घटना बढेकाले बस्ती भएको क्षेत्रमा ट्याक्टर चलाउन निषेध गर्नुपर्ने बताउनुभयो ।
सांसद दामोदर पौडेल बैरागीले दु्रतगतिमा जनतालाई सेवा दिनेगरी विधेयक बनेको भन्दै पोखरा अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्र र पोखरामा मुटु उपचार केन्द्रको आवश्यकता रहेको बताउनुभयो ।
सांसद दुर्गा राईले पाथीभरामा केबलकार निर्माणको विषयमा ताप्लेजुङ अशान्त रहेकाले सहमति नलीइकन काम गर्न खोजेको आपत्ति जनाउनुभयो ।
सांसद देवेन्द्र पौडेलले बाङलुङको ढोरपाटनमा जिल्लास्तरीय अस्पताल बनाउने निर्णय भए पनि आवश्यक चिकित्सक र स्वास्थ्य सेवा उपलब्ध गराउन अनुरोध गर्नुभयो ।
सांसद धनराज गुरुङले बुटवल सिद्धार्थ राजमार्गको स्तरोन्नतिलाई द्रुत गतिमा अगाडि बढाउन माग गर्नुभयो ।
सांसदहरु धुव्रबहादुर प्रधान, नारायणप्रकाश साउद, नारायणप्रसाद आचार्य, दीपा शर्मा, नारायणी शर्मा, निर्मला कोइराला, निशा डाँगी, नैनकला थापा, पुष्पबहादुर शाह, पूर्णबहादुर घर्तिमगर, प्रकाश ज्वाला, प्रतिमा गौतम, प्रभु हजारा, पे्रमबहादुर आले, प्रेमबहादुर महर्जन, वासुदेव घिमिरे र विन्दवासिनी कङ्सकारले शून्य समयमा विभिन्न विषयमा आफ्नो धारणा राख्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै