
काठमाडौँ । अमेरिकी सरकारको विशाल मानवीय निकाय (युएसएआइडी -युएसएड)ले आफ्ना विश्वभरका कर्मचारीलाई बिदामा राखेको छ । युएसएड मङ्गलबार आफ्ना विदेशी पोस्टिङबाट कर्मचारीलाई फिर्ता बोलाउने क्रममा अमेरिका र विश्वभरका आफ्ना कर्मचारीलाई प्रशासनिक बिदामा राख्ने घोषणा गरेको हो ।
निकायले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा कर्मचारी बिदा फेब्रुअरी ७ को मध्यरातअघि शुरु हुने जनाएको छ । निकायको वेबसाइट सप्ताहन्तमा बन्द भएपछि मङ्गलबार पुनः देखापरेको हो । प्रशासनिक बिदाले ‘मिसन–क्रिटिकल कार्यहरू, मुख्य नेतृत्व र विशेष रूपमा तोकिएका कार्यक्रमका लागि जिम्मेवार तोकिएका कर्मचारी बाहेक। सबै युएसएड प्रत्यक्ष नियुक्त कर्मचारीलाई’ प्रभावित गर्नेछ ।
‘तपाईंलाई सेवाका लागि धन्यवाद’ विज्ञप्तिमा उल्लेख छ । यो कदम ट्रम्प र उहाँका अर्बपति सहयोगी एलन मस्कको अमेरिकी सरकारलाई सङ्कुचित गर्ने आमूल अभियानको एक हिस्सा हो । यसले वासिङ्टनलाई स्तब्ध पारेको छ र डेमोक्रेट तथा मानव अधिकार समुदायबाट आक्रोशपूर्ण विरोध निम्त्याएको छ ।
अमेरिकी विदेश नीतिको सहायता शाखा युएसएडले विश्वका सबैभन्दा गरीब क्षेत्रहरू सहित लगभग १२० देशमा स्वास्थ्य र आपत्कालीन कार्यक्रमलाई आर्थिक सहयोग गर्दछ । मस्कको व्यापक व्यापारिक चासो रहेको चीन लगायत प्रतिद्वन्द्वीहरूसँगको प्रभावका लागि सङ्घर्षमा यसलाई संयुक्त राज्य अमेरिकाका लागि सफ्ट पावरको महत्त्वपूर्ण स्रोतका रूपमा हेरिन्छ ।
मस्कले युएसएडलाई ‘अमेरिकालाई घृणा गर्ने चरम–वामपन्थी माक्र्सवादीहरूको सर्पको गुँड’ भन्नुभएको छ र यसलाई बन्द गर्ने प्रतिज्ञा गर्नुभएको छ । मस्कले प्रमाणित नगर्नुभएका अन्य आलोचनामध्ये उहाँले युएसएडले ‘दुष्ट सिआइए काम’ गर्छ र यहाँसम्म कि ‘जैविक हतियार अनुसन्धान, लाखौँ मानिसको ज्यान लिएको कोभिड–१९ सहितलाई कोष प्रदान गर्दछ’ भनी दाबी गर्नुभएको छ ।
स्पेसएक्स र टेस्लाका सिइओ मस्कले राष्ट्रपतिसँगको अभूतपूर्व कदमलाई व्यक्तिगत रूपमा स्वीकृति दिएको बताउनुभयो । मस्कको अमेरिकी सरकारसँग ठूलो सम्झौता छ र उहाँ ट्रम्पको अभियानका सबैभन्दा ठूला वित्तीय समर्थक हुनुहुन्छ ।
युएसएडमाथि भएको आक्रमण संयुक्त राज्य अमेरिकाले अमेरिकीहरूलाई बेवास्ता गर्दै विदेशीहरूमा पैसा बर्बाद गर्दछ भन्ने रिपब्लिकन पार्टीको कट्टर रूढीवादी र स्वतन्त्रतावादी शाखाहरूमा लामो समयदेखि चलिरहेको कथाको सन्दर्भमा आएको छ ।
युएसएडले आफूलाई ‘हाम्रो सुरक्षा र समृद्धिलाई अघि बढाउँदै चरम गरिबी अन्त्य गर्न र लचिलो, प्रजातान्त्रिक समाजहरूको प्रवद्र्धन गर्न’ काम गर्ने संस्थाको रूपमा वर्णन गर्दछ । डाटा उपलब्ध भएको सबैभन्दा हालैको वर्षका रूपमा रहेको सन् २०२३ सम्म कंग्रेसनल रिसर्च सर्भिस अनुसार युएसएडबाट सहायता प्राप्त गर्ने शीर्ष तीन देश युक्रेन, इथियोपिया र जोर्डन थिए । सहायताका अन्य शीर्ष प्राप्तकर्ताहरूमा कङ्गो लोकतान्त्रिक गणतन्त्र, अफगानिस्तान, दक्षिण सुडान र सिरिया समावेश छन् । युएसएडको युक्रेनका लागि कोषको मात्रा उल्लेखनीय छ । अमेरिकी सरकारी तथ्याङ्कअनुसार युद्धग्रस्त युरोपेली देश युक्रेनले १६ अर्ब डलरभन्दा बढीको समष्टिगत आर्थिक सहयोग प्राप्त गरेको छ ।
सन् १९६१ मा स्थापित यस निकायको ४० अर्ब डलरभन्दा बढीको बजेट अमेरिकी सरकारको लगभग ७० खर्ब डलरको कूल वार्षिक खर्चमा सानो अंश मात्र हो । आर्थिक सहयोग तथा विकास सङ्गठन (ओइसिडी) का अनुसार संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठूलो आधिकारिक विकास सहायता प्रदायक हो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै