
गण्डकी । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस सब्रै तह तप्कासम्म एक ढिक्का भए अबको निर्वाचनमा पार्टीले स्पष्ट बहुमत पाउने बताउनु भएको छ । कांग्रेसका सभापति देउवाले आज पोखरामा आयोजित कार्यक्रममा यस्तो बताउनुभएको हो ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्यक्रममा उहाँले भन्नुभयो– ‘अहिले हामीले समावेशी एवं समानुपातिक राजनीतिक प्रणाली अवलम्बन गरेका छौँ, यसबाट कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो छ । तैपनि हामीले सबैभन्दा ठूलो पार्टी बनाउन सफल भएका छौँ । अझ पार्टीका सबै साथीहरूबीच हार्दिक एकता भयो भने भोलिका दिनमा कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सक्छौँ ।’
उहाँले संवैधानिक व्यवस्थासहित राज्य सञ्चालनमा मुलुकका सबै जातजाति, भाषा, समुदाय र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरेको धारणा व्यक्त गर्नुभयो ।
सभापति देउवाले बिपी, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद लगायतका नेताहरूले सुम्पनुभएको जिम्मेवारीलाई पूरा गर्न पार्टीमा सुमधुर सम्बन्धसहितको एकता र क्रियाशीलता आवश्यक रहेको बताउनुभयो ।
सङ्घर्षको जगमा प्राप्त लोकतन्त्र, सङ्घीयता र समावेशितालाई सुदृढ गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले देश विकासका लागि अधिकारको विकेन्द्रीकरण हुनुपर्नेमा जोड दिनुभयो ।
प्राप्त अधिकारको सदुपयोग गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै पार्टी सभापति देउवाले सदैव देश र जनताका पक्षमा खटिएर काम गर्न नेता तथा कार्यकर्तासँग आग्रह गर्नुुभयो । उहाँले पोखरामा शुरु भएको प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रमले पार्टीको आगामी कार्यदिशा तय गर्नाका साथै विद्यमान समस्याहरूको समाधानका लागि उचित मार्गनिर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टीकोे प्रशिक्षण कार्यक्रम केन्द्र, प्रदेश, जिल्ला एवं निर्र्वाचन क्षेत्रमार्फत सबै ठाउँमा सञ्चालन हुने जानकारी दिनुभयो ।
पार्टीको प्रशिक्षण पुस्तिका निर्माण गर्ने सन्दर्भमा तयार गरिएको ‘ड्राफ्ट’ छलफलका लागि सम्बन्धित निकायहरूमा पठाइसकिएको जानकारी दिँदै प्रशिक्षण प्रतिष्ठानका प्रमुख खड्काले माघ मसान्तभित्रमा सुझाव सङ्कलन गरी पुस्तिकालाई अन्तिम रुप दिने बताउनुभयो ।
कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको ऐतिहासिक मूल्यमान्यता र विरासतलाई बिर्सन नहुने धारणा व्यक्त गर्दै सबैलाई समेटेर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
कांग्रेसको एकदिने सो प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रममा सातवटै प्रदेशका पार्टी सभापति र प्रदेशका प्रशिक्षण विभाग प्रमुख, पार्टीका केन्द्रीय पदाधिकारी, कास्की जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारी सहभागी रहनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र
- साढे ४ घण्टामा रिहा भए रेशम चौधरी
- सर्वोच्चले भन्यो - रेशम चौधरीलाई पक्राउ गर्नेबारे लेखिएको पत्र ‘अनधिकृत’
- रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका कर्मचारी पक्राउ, रेशम रिहा
- भाजपाका विदेश विभाग प्रमुख चौथाईवा काठमाडौँमा
- नागरिक उन्मुक्ति र जनमत पार्टीको एकीकरण घोषणा स्थगित
- रेशम चौधरी पक्राउ
- डोटीमा माइक्रोबस दुर्घटना: १ जनाको मृत्यु ६ जना घाइते
- सरकार र आन्दोलनरत शिक्षकबीच निर्णायक वार्ताको तयारी
- सत्तापक्षीय दलको बैठक बालुवाटारमा जारी