
गण्डकी । उपचारका क्रममा भारतको एक अस्पतालमा मङ्गलबार निधन हुनुभएका पूर्वऊर्जा राज्यमन्त्री एवं संविधानसभा सदस्य रामजीप्रसाद शर्माको बिहीबार बागलुङस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ ।
सशस्त्र प्रहरी बलको शोक सलामीसहित गरिएको अन्त्येष्टिमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित हजारौँको उपस्थिति रह्यो ।
पूर्वप्रधानमन्त्री नेपालले दिवङ्गत शर्माको घर र अन्त्येष्टिस्थलमा पुगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । त्यस क्रममा उहाँले नेपालको राजनीतिक आन्दोलनले असल र निष्ठावान नेतालाई गुमाएको बताउनुभयो । अढसठ्ठी वर्षको उमेरमा भएको शर्माको अप्रत्यासित निधनको खबरले आफू स्तब्ध बनेको उहाँको भनाइ थियो । मानिसको जीवन नश्वर रहेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले व्यक्ति दिवङ्गत भएर गए पनि उसका सही कर्म र योगदानको सदा स्मरण भइरहने बताउनुभयो ।
जेबी टुहुरेको गीत ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदोरैछ, देशभक्त छोरो मर्दा देशै रूँदो रैछ’ सम्झँदै उहाँले शर्माको निधनको खबर सुन्ने जोकोही मर्माहत भएको बताउनुभयो । पूवप्रधानमन्त्री नेपालले आगामी ससंद् बैठकमा दिवङ्गत शर्माप्रति श्रद्धाञ्जलीसहित सम्मान गरिनुपर्ने बताउनुभयो । देश र जनताप्रति जीवन समर्पित गर्नेहरू सधैँ प्रंशसायोग्य रहने भन्दै उहाँले शर्मा पनि आफ्ना व्यवहार र आचरणका कारण जनतामाझ लोकप्रिय रहेको बताउनुभयो ।
विसं २०६४ को पहिलो संविधानसभा चुनावमा बागलुङ–१ बाट निर्वाचित शर्मा बागलुङको कम्युनिष्ट आन्दोलनको अगुवा नेताका रूपमा चिनिनुहुन्छ । पछिल्लो समय नेकपा एकीकृत समाजवादीमा क्रियाशील रहनुभएका उहाँ संविधानसभाको पहिलो कार्यकालमा ऊर्जा राज्यमन्त्री हुनुभएको थियो । उहाँ कुशल सङ्गठक र विकासप्रेमी नेताका रूपमा परिचित हुनुहुन्थ्यो । शर्माले पञ्चायतकालमा बागलुङमा तत्कालीन नेकपा माले स्थापना र सङ्गठन विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
उहाँले पञ्चायतविरोधी आन्दोलनमा मालेका तत्कालीन नेता गोविन्द अधिकारी, मोहनलाल शर्मा, नरबहादुर थापालगायतसँग मिलेर काम गर्नुभएको थियो । शर्माले नेकपा एमाले बागलुङको सचिवका रूपमा १५ वर्ष, धवलागिरी इञ्जार्ज र केन्द्रीय सदस्यका रूपमा पनि जिम्मेवारी पूरा गर्नुभएको थियो । मिर्गौला प्रत्यारोपणका लागि भारत जानुभएका शर्माको उपचारकै क्रममा निधन भएको थियो ।
शर्माका श्रीमती, दुई छोरा र छोरी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव