
कञ्चनपुर । सुदूरपश्चिममा गौरा पर्वको उल्लास छ । शनिबारदेखि विधिवत् रुपमा सुरु भएको गौरापर्वको दोस्रो दिन आज विरुडा धोएर घरघरमा गौरा भित्र्याइँदै छ ।
पहिलो दिन तामा तथा पित्तलको भाँडोमा विरुडा राखेर विधिपूर्वक विरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाइएको थियो । पहिलो दिनलाई ‘विरुडा पञ्चमी’ भन्ने गरिन्छ । दोस्रो दिन आज व्रतालु महिलाले विरुडा धोएर गौरादेवीलाई गौराघरमा भित्र्याउने संयोग परेको छ । तर सबै वर्ष यस्तो संयोग पर्दैन ।
घरमा गौरादेवीलाई भित्र्याएर गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन व्रतालु महिलाले धारण गर्ने गर्दछन् । यसका साथै साँझको समयमा व्रतालु महिलाले कुण्डस्नान गर्ने परम्परा रहेको व्रतालु सरस्वती भट्ट बताउनुहुन्छ । ‘गौराको मुख्य दिन भोलि दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन गौरालाई गौराघरबाट मन्दिर अर्थात् गौराखलामा लगेर पूजा गर्छौं’ उहाँले भन्नुभयो– ‘गौरादेवीमा चढाएको दुबधागो धारण गछौँ । विरुडाले आफन्तहरुको टाउको पूजन गरेर आशीर्वाद दिन्छन् ।’
आज विरुडा धुने र आजै गौराघरमा गौरा भित्र्याएर गौरादेवीको पूजाआजा गरिन्छ । आजको दिनलाई ‘ठूली गौरा’ भनेर मनाइन्छ । व्रतालु महिलाले बिहानै नुहाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रहेको भट्टले बताउनुभयो ।
‘ठूली गौरा’को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरी व्रतालु महिलाले फलफूल र विरुडाले गौरादेवीको पूजा गर्ने गर्दछन्’ गौरा पर्वका जानकार कविराज भट्टले भन्नुभयो– ‘साउँ, अपामार्ग, तीललगायत वनस्पतिले गौराको प्रतिमूर्ति बनाइन्छ ।.’ पुरुषको जनै जस्तै व्रतालु महिलाले विशेष प्रकारको धागो अर्थात् दुबधागो धारण गर्ने प्रचलन रहेको उहाँले बताउनुभयो ।
‘साउन शुक्ल एकादशीलाई गौरा एकादशी पर्वका रुपमा उपासना गरिन्छ त्यो दिनदेखि नै गौराको चहलपहल शुरु हुन्छ’ व्रतालु पुष्पा पन्तले भन्नुभयो– ‘भाद्र शुक्ल वा कृष्णपक्षको पञ्चमी तिथिबाट गौरा पर्व शुरु हुन्छ ।’ भाद्र शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र भाद्र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रहिआएको छ ।
गौरामा शिवपार्वतीको पूजाआजा गरिन्छ । पौराणिककालमा भगवान् शिव (महेश्वर) प्राप्तिका लागि गौरा गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी मनोकामना पूरा भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानामा यो पर्व मनाउने परम्परा चल्दै आएको होे ।
गौरा पर्व भाद्र शुक्लको पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रम आयोजना गरेर मनाइन्छ । गौरा पर्वको पहिलो दिन महिलाले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेडागुडी भिजाउने प्रचलन रहेको यसका जानकार गणेश भट्ट बताउनुहुन्छ । दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुहूर्तमा सामूहिक रुपमा विरुडा धोइन्छ । सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठ–मन्दिरमा गौरा स्थापना गरिन्छ ।
दुर्गाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो । गौराष्टमीका दिन व्रत बसेर महिला बिहानदेखि गौराखलो (गौरा मनाउने स्थल) मा फाग गाएर पूजाआजा गर्छन ।
गौरा पर्वकै अवसरमा सुदूरपश्चिमका विभिन्न जिल्लामा देउडा खेल, ढुस्को धुमारीलगायत वीर गाथा पनि गाइन्छ । गौरा पर्वकै अवसरमा महेन्द्रनगर बजारका विभिन्न स्थानमा देउडा महोत्सवको आयोजना गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न