
चितवन । स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागू भएयता एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार १ सय ५८ रुपैयाँ प्राप्त गरेको छ । यो अवधिमा बिमितले १० लाख ३५ हजार एक सय १५ पटक सेवा पाएका छन् ।
सेवा दिएबापत अस्पतालले बीमा बोर्डबाट सो रकम प्राप्त गरेको हो । अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलका अनुसार विसं २०७४ भदौ १ गतेदेखि भरतपुर अस्पतालमा बीमा कार्यक्रम लागू भएको हो ।
पहिलो वर्ष ३२ हजार छ सय दुई पटक सेवा दिइएको थियो । त्यसवापत अस्पतालले बीमा बोर्डबाट एक करोड २८ लाख ९२ हजार दुई सय २० प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७५÷७६ मा एक लाख १२ हजार ९ सय ९१ पटक सेवा दिएबापत अस्पतालले १४ करोड ५७ लाख २८ हजार दुई सय २२ रुपैयाँ प्राप्त गरेको थियो ।
इञ्चार्ज पौडेलका अनुसार आव २०७६÷७७ मा एक लाख १४ हजार आठ सय ५२ पटक सेवा दिएर २३ करोड ८८ लाख चार सय ५० प्राप्त गरेको थियो । आव २०७७÷७८ मा कोभिडका कारण सेवा लिनेको सङ्ख्या घटेर ८५ हजार पाँच सय ३६ पटक मात्रै सेवा लिएका छन् । त्यसबापत अस्पतालले ९ करोड ७२ लाख ५२ हजार एक सय ८१ रुपैयाँ प्राप्त गरेको थियो ।
आव २०७८÷८९ बाट बीमामार्फत उपचार गराउनेको सङ्ख्या पुनः बढेको छ । त्यस वर्ष एक लाख ७८ हजार पाँच सय ५३ पटक सेवा लिइएको थियो । त्यसबापत अस्पतालले ३० करोड ७९ लाख ७४ हजार पाँच सय १२ रुपैयाँ प्राप्त गरेको थियो ।
आव २०८९÷८० मा दुई लाख ५० हजार ६ सय १७ पटक सेवा दिएर अस्पतालले ५२ करोड ५३ लाख ३७ हजार पाँच सय १२ रुपैयाँ प्राप्त गरेको छ । गएको आवमा दुई लाख ६० हजार पटक सेवा दिएर अस्पतालले ५६ करोड १६ लाख ८८ हजार सात सय ५९ रुपैयाँ प्राप्त गरेको छ । अस्पतालले अझै १५ करोड रुपैयाँ हाराहारी दाबी गरेको रकम भुक्तानी पाउन बाँकी रहेको छ ।
अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशतभन्दा बढी बीमाका हुने गर्दछन् । सोहीअनुरुप अस्पतालमा उठ्ने सेवा शुल्क पनि हुने गर्दछ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार स्वास्थ्य बीमाको सेवा अस्पतालमा राम्रो भएकाले आकर्षण बढ्दो छ । करिब १८ भन्दाबढी जिल्लाका बीमाका बिरामी यहाँ उपचारका लागि आउने गर्दछन् ।
चितवनसहित गोरखा, तनहुँ, नवलपरासी र मकवानपुरका कतिपय पालिकाका सेवाग्राहीले भरतपुर अस्पताललाई बीमाको प्रथम बिन्दु बनाएका छन् । नेपालमा विसं २०७२ चैत २५ गते कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो । अहिले नेपालका ७७ जिल्लामा यो कार्यक्रम लागू छ ।
देशभरका चार सय ७६ स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा रहेको छ । प्रा डा पौडेलले स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम भएको जनाउँदै भरतपुर अस्पतालको मुख्य आम्दानीको स्रोत बीमा नै भएको बताउनुभयो ।
बीमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजान अस्पताल प्रशासन लागेको उहाँको भनाइ छ । यद्यपि अहिले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका अस्पतालमध्ये भरतपुर अस्पताल उत्कृष्ट रहेको जनाउँदै पौडेलले अस्वीकृत निकै न्यून रहेको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै