+

हाँस्य-व्यङ्ग्यमा‘गाईजात्रा’, प्रज्ञाप्रतिष्ठान र नाचघरमा अलग-अलग कार्यक्रम

काठमाडौँ। हाँस्य-व्यङ्ग्यको पर्व ‘गाईजात्रा’ लाई लक्षित गर्दै यससम्बन्धी सामग्री बजारमा आउने क्रम सुरु भएको छ । काठमाडौँ कमलादीस्थित प्रज्ञाप्रतिष्ठान र जमलस्थित नाचघरमा दुई समूहले दर्शकलाई मनोरञ्जन दिईरहेका छन् । 

पुरानासँगै नयाँ पुस्ताका कलाकारले भरिएको कार्यक्रम भदौ १० गतेसम्म चल्ने जनाइएको छ । गाईजात्रामा विद्यमान राजनीतिक, सामाजिक तथा आर्थिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गरेर कलाकारले आफ्नो प्रस्तुती दिने गरेका छन् । 

विसं २०६१ देखि हरेक वर्ष गाईजात्राको प्रस्तुति दर्शकसामू पस्किरहनुभएका ‘जोगिन्दर’ उपनामले परिचित हाँस्य कलाकार शिवशङ्कर रिजालले आफ्ना लागि पर्व सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले कलाकारिता गरेदेखि  गाईजात्रामा सहभागिता जनाउनुका साथै यससम्बन्धी प्रस्तुति ल्याइरहेको छु । वर्षभर भएका विकृतिलाई व्यङ्ग्य गर्नु र सचेत गराउनु हाम्रो कर्म र धर्म दुवै हो ।” यसपटक उहाँले नाचघरमा आफ्नो प्रस्तुति दिइरहनुभएको छ । उहाँसँगै सीताराम कट्टेल, कुञ्जना घिमिरे, सुरेन्द्र केसी, राजा राजेन्द्र लगायतका कलाकारको समूहले दर्शकलाई मनोरञ्जन दिइरहनुभएको छ । 

कलाकार दीपकराज गिरी चलचित्र निर्माणमा आबद्ध हुनुभएदेखि  गाईजात्राका प्रहसनमा सहभागी हुनुभएको छैन । उहाँसहित केदार घिमिरे, जीतु नेपाल यसपटक कुनै समूहसँग जोडिनुभएको छैन । 

राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिदेखि, फेसन र ग्ल्यामरसम्मका विकृतिलाई व्यङ्ग्य गर्ने पर्वमा यसपटक हाँस्य कलाकार किरण केसीले पनि प्रस्तुति ल्याउनुभएको छैन । उहाँ केही समय अगाडि ‘मह जात्रा’ मा सहभागी हुनुभयो । यसपटक तिहारको समयमा आफूसहित मह सञ्चारको प्रस्तुतिको तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । 

“अहिले दुई समूहले दर्शकलाई मनोरञ्जन दिनुभएको छ । मसहित मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतले कार्यक्रम गरेनौँ । हामीले आफ्नो प्रसहनलाई मह जात्रामार्फत दर्शकसम्म लग्नेछौँ”, उहाँले भन्नुभयो । 

विसं २०६० ताका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रज्ञाप्रतिष्ठानमा एकै समयमा प्रहसन गरेको पनि उहाँलाइ स्मरण छ । “उक्त समयमा एउटा कार्यक्रम सक्ने बितिकै अर्को पुग्ने गर्थे । हामीलाई दर्शकले प्रत्यक्ष हेरेर लिने मनोरञ्जन अनि हामीले उहाँहरुको हाँसो देखेर पाउने सन्तुष्टीलाई शब्दमा व्यक्त गर्न सक्दिन । अहिले नयाँ पुस्ताले यसलाई अगाडि बढाउनुभएको छ”, हाँस्य कलाकार केसीले भन्नुभयो । 

विशेष गरी नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ । गाईजात्रामा वर्षभरिको शोक र दुःख भुलाउन हाँस्य व्यङ्ग्यका प्रस्तुत गर्ने परम्परा छ । यसवर्ष भदौ ४ गते गाईजात्रा पर्व परेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट