
सर्लाही । प्रसारणलाइन विस्तारमा अवरोध हुँदा सर्लाहीको हरिपुर्वालगायत क्षेत्रका स्थानीय अँध्यारोमा बस्न बाध्य छन् । हरिपुर्वा नगरपालिका–२ स्थित सबस्टेशनसम्म ३३ केभिए प्रसारण लाइन जोड्न स्थानीयले अवरोध गरेपछि निर्माण सम्पन्न भइसकेको सबस्टेशन अलपत्र छ । निर्माण भएको लामो समयसम्म पनि सञ्चालन नहुँदा बत्ती बाल्न समस्या भएको हरिपुर्वा नगरपालिका–६ का विजयप्रसाद साहले गुनासो गर्नुभयो ।
प्राधिकरणले सबस्टेशनसम्म ३३ केभिए लाइन जोड्न विभिन्न रूट भएर पोल गाड्ने र तार तान्ने काम अधुरो रहेकाले समस्या भएको स्थानीय वडा नं ९ वसन्तपुर निवासी अवधेश साहको भनाइ छ ।
स्थानीयले प्राधिकरणले पोलका गाड्न गलत रूट प्रयोग गरेका कारण अवरोध भएको बताएका छन् । गाउँलाई क्षति नपुग्ने गरी विद्युत्को तार विस्तार गर्न स्थानीयको माग छ । सोही माग राखेर स्थानीयले पोल गाड्न नदिँदा यहाँ समस्या भएको हो ।
हरिपुर्वा सबस्टेशनका प्रमुख जगदीश यादवले स्थानीयको मागलाई मध्यनजर गरी प्रसारण केन्द्रसम्म विद्युत् लैजान विभिन्न चार रूट प्रयोग गर्दा पनि स्थानीयले अवरोध गरेका बताउनुभयो । “हामीले स्थानीयको सहजताका लागि नै विद्युतीय प्रसारणलाइन विस्तार गर्न खोजेका हौँ तर यहाँ विभिन्न स्वार्थका कारण स्थानीयले नै अवरोध गरिरहेका छन्, जसले गर्दा सबस्टेशन सञ्चालनमा समस्या भएको छ”, उहाँले भन्नुभयो ।
हरिपुर्वा, ईश्वरपुर नगरपालिका तथा पर्सा र ब्रह्मपुरी गाउँपालिकामा सेवा पुर्याउने उद्देश्यसहित दुई वर्षअघि नै सबस्टेशन निर्माण भएको थियो तर हालसम्म सञ्चालन हुनसकेको छैन । प्रयोग नहुँदा सबस्टेशनमा प्रयोग भएका उपकरण तथा निर्माण भएको भौतिक संरचना जीर्ण हुँदै गएको छ । यसरी निर्माण सम्पन्न संरचना अलपत्र पर्दा दोहोरो घाटा भएको छ ।
एकातिर लगानी खेर गइरहेको छभने अर्कातर्फ स्थानीयले गुणस्तरहीन सेवा प्रयोग गरिरहनुपरेको छ । पछिल्लो समय राजनीतिक खिचातानीको सिकार भएका कारण सबस्टेशन सञ्चालन चुनौतीपूर्ण बनेको हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साहको भनाइ छ । सबस्टेशन सञ्चालन गरी गुणस्तरीय विद्युत् सेवा प्रवाहका लागि पहल गरिरहेको उहाँले बताउनुभयो ।
हरिपुर्वा नगरपालिका–१ र ५ का स्थानीयले ३३ केभिए प्रसारण लाइनका लागि एक किलोमिटर विद्युत् पोल गाड्न अवरोध गरेपछि सबस्टेशन अलपत्र बनेको नेपाल विद्युत् प्रधिकरण वितरण केन्द्र मलङ्गवाका प्रमुख उमेशकुमार यादवले बताउनुभयो । उक्त सबस्टेशन निर्माणका लागि रु १९ करोड ६० लाख लागतमा आर्थिक वर्ष २०७३/७४ मा ठेक्का लागेको थियो । ठेकेदार कम्पनीले सबस्टेशनका लागि आवश्यक भौतिक संरचना निर्माण सम्पन्न गरिसकेको छ ।
हरिपुर्वा क्षेत्रमा लामो दूरी पार गराएर मलङ्गवा वितरण केन्द्रबाट विद्युत् आपूर्ति हुँदै आएको छ । यसरी आपूर्ति गर्दा अत्यधिक लोड हुने गरेको प्राधिकरण प्रमुख यादवले जानकारी दिनुभयो । “लामो दूरी कम्जोर लाइन विस्तार संरचनालगायत कारण स्थानीयले उखरमाउलो गर्मीमा पङ्खा प्रयोेग गर्न पाउँदैनन्”, उहाँले भन्नुभयो, “पटकपटक लाइन गइरहने समस्या झेल्दै आउनु परिरहेको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै