+

पर्वतमा कृषि र पशुपालनतर्फ १७ करोड

पर्वत । चालु आर्थिक वर्षमा पर्वतमा कृषि र पशुपालनका क्षेत्रमा  १७ करोड रुपैयाँ भन्दा बढी बजेट खर्च हुने भएको छ । कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चालु आवमा कृषि उत्पादकत्व वृद्धि र प्रवर्द्धन तथा व्यावसायिक पशुपालनका क्षेत्रमा  १७ करोड १९ लाख ८५ हजार रुपैयाँ  बजेट खर्च हुने भएको हो ।

खाद्यान्न, फलफूल, सागसब्जी, तेलहन, दलहन उत्पादन गरी जिल्लालाई आत्मनिर्भर बनाउनुका साथै निर्यात गरी किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले चालु आवमा कृषि र पशुपालनमा बजेट केन्द्रित गरिएको ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले बताउनुभयो । 

पशुपालनतर्फ पनि दूध, घ्यू, माछा मासु, अण्डामा जिल्लालाई आत्मनिर्भर बनाई निर्यात बढाउने उद्देश्यले बजेट छुट्याएर कार्यक्रम बनाइएको पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । 

गण्डकी प्रदेश सरकारअन्तर्गत रहेका कृषि ज्ञान केन्द्रमार्फत रु पाँच करोड ८२ लाख, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत रु चार करोड १५ लाख र सङ्घीय सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइमार्फत रु सात करोड २२ लाख ८५ हजार बजेट प्राप्त भएको छ ।

परियोजनाका केही कार्यक्रम छिमेकी जिल्ला बागलुङ र गुल्मीमासमेत सञ्चालन हुने भएका छन् । ज्ञान केन्द्रले गत वर्षदेखि सञ्चालनमा ल्याएको खायन आलु उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सफल भएपछि चालु आवमा पनि निरन्तरता दिइएको केन्द्रका प्रमुख अधिकारीले जानकारी दिनुभयो । आलुखेती प्रवर्द्धन गर्न १ करोड ४७ लाख विनियोजन गरिएको छ । कार्यालयका अनुसार तरकारी बाली प्रवर्द्धन आयोजनाका लागि  १२ लाख ५० हजार, पोषण सुरक्षा कार्यक्रमका लागि  २० लाख विनियोजन गरिएको छ । 

जलवायुमैत्री प्रविधि प्रवर्द्धन कार्यक्रमका लागि  १० लाख, बीउ उत्पादन प्रवर्द्धनतर्फ  १२ लाख ५० हजार, मसला तथा निर्यातयोग्य बाली प्रवर्द्धनतर्फ  १० लाख र रैथाने बाली प्रवर्द्धन आयोजनाका लागि ९ लाख ५० हजार विनियोजन गरिएको छ । 

खाद्यान्नबाली प्रवर्द्धन आयोजनातर्फ  २६ लाख, ६० हजार, सुन्तला जात फलफूल विकास आयोजनाका लागि  एक करोड १८ लाख विनियोजन गरिएको छ । पर्वतबाट सबैभन्दा बढी निर्यात हुने फलफूलमा सुन्तला रहेकाले यसको खेती विस्तारलाई जोड दिइएको केन्द्रले जनाएको छ । 

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पशुपालन किसासलाई लक्षित गरेर चालु आवमा विविध कार्यक्रम निर्धारण गरिएको कार्यालय प्रमुख पुष्पराज बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार पर्वत दूध र माछा, मासुमा आत्मनिर्भर बनिसकेको छ भने अण्डा पनि केही मात्रामा आयात हुने गरेको छ ।

चालु आर्थिक वर्षमा पशुमा पूर्ण खोप कार्यक्रमतार्फ रु ९८ लाख छुट्ट्याइएको छ । उत्पादनमा आधारित अनुदान कार्यक्रमका लागि २० लाख, पशु विकास प्रवर्द्धनतर्फ रु ५० लाख, पशु तथा मत्स्य व्यवसाय प्रवर्द्धनतर्फ १ करोड १३ लाख ५० हजार, पशु स्वास्थ्य कार्यक्रमतर्फ  ३५ लाख ३० हजार, किसानको क्षमता अभिवृद्धितर्फ ७ लाख, पशु आहारा प्रवर्द्धनका लागि ६ लाख र स्थानीय पशुपक्षी संरक्षण कार्यक्रमका लागि  १० लाख रुपैयाँ विनियोजन गरिएको कार्यालय प्रमुख बाँस्तोलाले जानकारी दिनुभयो । 

प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यान्वयन इकाइमार्फत पर्वतमा मकै, धान, तरकारी र सुन्तलाखेतीको प्रवर्द्धन गर्न विभिन्न योजनमा बजेट खर्च गरिने भएको छ । विगत आठ वर्षदेखि जिल्लामा सञ्चालित योजना तथा परियोजनाले सुरुमा मकैबालीको प्रवर्द्धनमा लगानी गरेको थियो । अहिले मकैको बीउको स्रोत केन्द्रनै पर्वत बनेको छ । जिल्लाको फलेवास, महाशिला र विहादी गाउँपालिकामा मकैको मूल बीउ उत्पादन गरी निर्यात हुन थालेको छ ।

पोखरेली जेठोबुढो धान उत्पादन र यसको स्रोत बीउ उत्पादनमा अहिले सक्रिय बनेको छ । गत आर्थिक वर्षमा पर्वतबाट पोखरेली जेठो बुढो धानको १२ मेट्रिक टन बीउ निर्यात भएको थियो भने पोखरेली जेठो बढो धान ३० मेट्रिकटन निर्यात भएको थियो ।

चालु आवमा विनियोजित बजेट वितरणमुखी भन्दा पनि दीर्घकालीन योजनालाई जोड दिइएको छ । यस वर्ष दुईवटा चिस्यान केन्द्र (कोल्ड रुम) स्थापनाका लागि  ३५ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ भने सिँचाइ पूर्वाधार निर्माण तथा मर्मततर्फ  ३० लाख रुपैयाँ विनियोजना गरिएको छ । त्यसैगरी चक्लाबन्दीमा आधारित फलफूल बगँैचा व्यवस्थापन, बीउ उत्पादन, मसिना धान प्रवर्द्धन, प्याकेजिङ लेभलिङ तथा क्षति न्यूनीकरण कार्यक्रमका लागि बजेटलाई प्राथमिकता दिइएको परियोजनाका निमित्त प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो । 

सिँचाइ पूर्वाधार निर्माण गर्न यसवर्ष  ७५ लाख, प्लास्टिक घर निर्माण गर्न  ३५ लाख, तरकारी जोनका लागि  १० लाख ३० हजार, उद्यमशील कार्यक्रमतर्फ अनुदान  ४० लाख, व्यावसायिक प्याज प्रवर्द्धन गर्न ८ लाख ५० हजार विनियोजन भएको पौडेलले बताउनुभयो । 

तीनवटै कार्यालयले वार्षिक बजेट तथा कार्यक्रम एक समारोहकाबीच सार्वजनिक गर्दै विनियोजित बजेटबारे जानकारी दिएका  थिए । पर्वतमा गत आर्थिक वर्षमा स्थानीय तहसमेत गरी  २० करोड ८१ लख ५५ हजार रुपैयाँ खर्च भएको थियो । गत आवमा नगरपालिका र स्थानीय तहबाट ९  करोड ४६ लाख ६४ हजार रुपैयाँ विनियोजन भएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट