
बागलुङ । झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङमा वर्षेनी नयाँ पुल थपिरहेका छन् । झोलुङ्गे पुलको सङ्ख्या थपिएसँगै पर्यटन आगमन समेत बढ्दै गएको छ । जिल्लामा पछिल्लो २ वर्षमा ४१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् ।
आर्थिक वर्ष २०७९ र ८० मा २५ र २०८० र ८१ मा १६ वटा झोलुङ्गे निर्माण भएका हुन् । पुल बनेपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ नागरिकलाई सहज हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको छ । बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि लामो झोलुङ्गे पुल बनेपछि दैनिक बागलुङ आउने पर्यटक बढेका छन् ।
विसं २०७७ देखि बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्ने गरी निर्माण भएको ५ सय ६७ मिटर लामो पुलले आन्तरिक मात्रै नभई बाह्य पर्यटक तान्न थालेको छ । ‘सिंगल स्पान’ मा निर्माण भएको यो पुल नेपालकै लामो भएको दाबी गरिँदै आइएको छ ।
गतवर्ष गत यसै वर्ष बागलुङ नगरपालिका–४ उपल्लाचौ गौरीधामदेखि पर्वतको जलजल गाउँपालिका–८ नाङ्लिबाङ ओडारे जोड्ने गरी ५२३ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो । यी दुवै पुलका कारण पर्यटक बढेको जानकार बताउँछन् । जिल्लाको ग्रामीण क्षेत्रमा निर्माण भएका पुलले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै बनेका दुई लामा झोलुङ्गे पुलले पहिले बागलुङ कालिका मन्दिरसम्म आएर फर्कने पर्यटकलाई बजारसम्म तान्ने गरेको छ । बजारसम्म मात्रै नभई यहाँका धार्मिक तथा पर्यटकीयस्थलसम्म पु¥याउन मद्दत पु¥याएको छ । पुल सञ्चालनमा आएपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।
पुलले गर्दा पछिल्लो समय बागलुङमा ३० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको उहाँको भनाइ छ । ‘पुलले बागलुङको पहिचानलाई उचोँ बनाएको छ, बागलुङ नगरपालिकाले ‘पहाड र पुलको नगर, सांस्कृतिक धरोहर’ नारासहित पर्यटन प्रवद्र्धन सुरु गरेको छ’ खड्काले भन्नुभयो– ‘पुलले टाढा–टाढा मानिसलाई पनि यसले जोड्ने काम गरेको छ ।’
बागलुङको १० वटै स्थानीय तहमा दर्जन बढीको हारहारीमा झोलुङ्गे पुल छन् । एउटै पालिमा धेरै सङ्ख्यामा बनेका पुलले ग्रामीण क्षेत्रका नागरिकलाई वारपारमा सहज बनाई दिएको तमानखोला गाउँपालिका–२ का नरबहादुर विकले बताउनुभयो । यसैवर्ष तमानखोलाको भयरबोङ्गामा बनेको पुलले स्यानीयलाई वारपारमा सहज बनाउनुका साथै आन्तरिक पर्यटक आउन थालेको उहाँको भनाइ छ । यहाँ पुल बनेपछि गाउँलेको जीवनस्तर नै बदलिएको उहाँले सुनाउनुभयो ।
विकले भन्नुभयो– ‘यो पुल नहुँदा एक गाउँदेखि अर्को गाउँमा पुग्न करिब दुई घण्टा लाग्थ्यो, अहिले पाँच मिनेटमै पुगिन्छ, पुलले हाम्रो दैनिकी त बदली दियो नै बाहिरबाट मान्छेहरु घुम्न आउन थालेका छन्, घुम्न आएका मान्छेले गाउँमा उत्पादन भएका वस्तुहरु किनेर लैजाने गर्छन्, पुलसम्म आउने सडकलाई व्यवस्थित गरेर प्रचार गर्न सकियो भने धेरै पर्यटक यहाँ आउने देखिन्छ ।’
बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै दुई वर्ष अगाडि निर्माण भएको लामो झोलुङ्गे पुलमा पनि आन्तरिक पर्यटक सङ्ख्या बढिरहेको छ । पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो भिडियो खिच्ने र रमाउने सङ्ख्या धेरै हुने ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण) ले जानकारी दिनुभयो । तमानखोलामाथि बिसमर र घोँसाखानी गाउँलाई जोड्ने गरी निर्माण भएको यो पुल अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको हो । पुलमा दैनिक दुई यस बढी आन्तरिक पर्यटकले वारपार गर्ने गरेका छन् ।
बुर्तिबाङ–बोङ्गादोभान सडकखण्डको माथि पट्टी निर्माण भएको पुलले पनि यात्रुलाई आकर्षित गर्ने उहाँले बताउनुभयो । पुल दुई सय ४३ मिटर लामो छ । पुल नबन्दा खोला वारपार गर्न करिब एक घण्टा लाग्ने गरेकामा अहिले तीन मिनेटमै आउजाउ गर्न सकिन्छ । पुल निर्माणपछि ढोरपाटन नगरपालिका–३ को पुर्कोट, घोँसाखानी, सामा, बिसमर लगायतका गाउँका हजारौँ नागरिकलाई सहज भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- फ्रि वाईफाईको नाममा वर्ल्डलिंकको बदमासी, नियामक निकाय मौन !
- रास्वपाका सांसदहरु निलो रिबन लगाएर संसदमा आएकोमा कांग्रेसको नियमापत्ति
- प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै मुस्ताङ
- वर्षाका कारण विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी