
रामेछाप । रामेछाप नगरपालिका–२ सुकाजोरका कृष्णबहादुर मगर शहरको रोजगारी छाडेर अहिले गाउँमै मौरीपालन गरी मासिक ५० हजार आम्दानी गरिरहनुभएको छ ।
सानै उमेरमा शहर पस्नु भएका मगर कोरोना कहरका कारण गाउँ फर्किनु भएको थियो । कोरोनापछि लामो समय गाउँमा बस्नुपर्दा मगरले सुरुमा कुखुरापालन गर्नुभयो । कुखुराबाट खासै आम्दानी नभएपछि उहाँले मौरीपालन गर्ने सोच बनाएर ललितपुरको गोदावरीमा गई मौरीपालनसम्बन्धी तालिम लिनुभयो र मौरीपालन शुरु गर्नुभएको हो ।
शुरुमा मेलिफेरा जातको १० घार मौरीबाट व्यवसाय सुरु गर्नुभएको थियो । उहाँले भन्नुभयो– ‘त्यसपछि मैले छ घार सेरेना जातको मौरी थपेँ, अहिले यो व्यवसाय गरेको तीन वर्ष भयो आम्दानी राम्रै छ ।’ उहाँले मौरीपालनसँगै मौरीका नयाँ घार उत्पादन गरी घारसहितका मौरी बेच्नु हुन्छ । महभन्दा घारसहितको मौरी बिक्री चाँडो हुने र त्यसबाट बढी फाइदा हुने उहाँको अनुभव छ । मह र घार बिक्रीबाट उहाँले वार्षिर्क खर्च कटाएर ६ लाख कमाइ गर्ने गरेको बताउनुभयो ।
आर्थिक वर्ष २०८०÷८१ मा मौरीपालन व्यवसाय प्रवर्द्धनका लागि उहाँले रामेछाप नगरपालिकाबाट रु तीन लाख अनुदान प्राप्त गर्नुभयो । शुरुमा लगानी गर्न समस्या भएको अवस्थामा अनुदान पाएपछि उहाँ खुशी हुनुहुन्छ । उहाँले एक लाख १५ हजार लगानी गरी मौरीपालन शुरु गर्नुभएको थियो । सबैभन्दा बढी खर्च मह काढ्ने मेसिनमा लागेको उहाँको भनाइ छ ।
पछि आफैँले घार निर्माण गर्न थालेपछि अहिले उहाँको बगैँचामा मेलिफेरा र सेरेना जातका ७० घार माहुरी छन् । मेलिफेरा जातका मौरीले वर्षमा चार÷पाँचपटक मह उत्पादन गर्छ । यसले एक पटक मह काढ्दा एक घार बराबर १० देखि १५ केजीसम्म मह दिन्छ । सेरेना (लोकल) जातको माहुरीको घारबाट भने वर्षमा दुईपटक मात्र मह निकाल्न मिल्ने उहाँले बताउनुभयो ।
अहिले महभन्दा पनि मौरीसहितको घारको माग बढी भएकोले उहाँले माउ उत्पादनमा जोड दिनुभएको छ । उहाँले उत्पादन र निर्माण गर्नुभएको मौरीसहितको घार १० हजारका दरले बिक्री गर्नुहुन्छ । सेरेना जातको माहुरीको मह प्रतिकेजी एक हजारदेखि एक हजार दुई सयसम्म बिक्री गर्नु हुन्छ । अठार वर्षसम्म शहरमा रोजगारी गर्दा खासै पैसा कमाउन नसक्नु भएका मगर अहिलेको आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ ।
उहाँ भन्नुहुन्छ– ‘देशका युवा लाइन लागेर विदेश गएको देख्दा आफूलाई पनि जाउँ जाउँ लागेको थियो, तर विदेश गएर फर्केको साथीहरुको अनुभव सुन्दा नजाने अठोट लिएर गाउँमैे काम गर्न थालेका हुँ ।’
मौरीपालन शुरु गरेको दुई वर्ष लगानी थप्दै जानुपर्ने र उत्पादन नहुनेजस्ता समस्या थियो । तेस्रो वर्षदेखि धमाधम उत्पादन हुन थालेपछि लगानी उठेको उहाँको अनुभव छ । कम मेहनत र लगानीमा राम्रो आम्दानी हुने यो व्यवसायका लागि विभिन्न स्थानीय तहहरुले आफ्नो नीति तथा कार्यक्रममा मौरीपालन समावेश गरेका छन् । सोही अनुसार सुनापति गाउँपालिकाले उहाँसँग १ सय मौरीसहितको घार माग गरेको छ । रानीसहितको कर्मी मौरी उत्पादन गर्न केही समय लाग्ने भएकाले तत्काल मौरी उपलब्ध गराउन नसकिने उहाँ बताउनुहन्छ ।
मौरीलाई अरिङ्गाल र मलसाप्रोबाट जोगाउन निकै समस्या हुन्छ । धेरै घार भएपछि घर वरिपरि मात्र राखेर नहुने भएकाले बारीको कान्लाहरुमा राख्ने गरेकाले त्यहाँ अरिङ्गाल र मलसाप्रोले दुःख दिने गरेको छ । घारभित्रको महमा कमिलाले दुःख दिने भएकाले कमिलाबाट जोगाउन ‘स्ट्यान्ड’ बनाएर राख्नुपर्ने र मलसाप्रोबाट जोगाउन ढुङ्गाले थिचेर राख्नुपर्छ । उहाँले अर्को वर्षसम्ममा तीन सय घार मौरी पाल्ने योजना बनाउनुभएको छ । प्रायः मौरीपालक किसानहरुले धेरै र चाँडो मह निकाल्न घार नजिक चिनी र चास्नी बनाएर राखिदिने गरेपनि आफूले त्यस्तो नगरेको र चास्नी बनाएर दिइरहनु नपर्ने उहाँको भनाइ छ ।
मौरीको घार विस्तार गर्दा रानी बनाउन कृत्रिम प्रविधि नअपनाई प्राकृतिक तरिकाले रानी उत्पादन गर्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘घार फुटाएपछि मौरीहरुले आपत्कालीन रानी तयार पार्छन् रानी हराएको अवस्थामा माहुरीहरुले तीन÷चार दिनको लार्भा अण्डा हालेर भए पनि तुरुन्तै रानी उत्पादन गर्ने भएकाले कृत्रिम तरिकाले रानी उत्पादन गरिरहनु पर्दैन ।’
रानी हराएको अवस्थामा दुई÷तीन दिनसम्म कर्मी मौरीले रानी खोज्ने तर फेला परेन भने चौथो दिन देखि तीन÷चार दिनको लार्भा हालेर रानी तयार पार्ने मगरले बताउनुभयो । उहाँले उत्पादन गर्नुभएको मह सदरमुकाम मन्थली छिमेकी जिल्ला दोलखा, सिन्धुली, काठमाडौँ र भक्तपुरका बजारमा बिक्री हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय